नेपाललाई अमेरिकाबाट किरण गजमेरको देन



  • बुद्धमणि ढकाल 

किरण गजमेर अमेरिकाबाट नेपाल पुग्दा उनलाई निकै असजिलो र एक्लोपन महसुस भयो रे ! तर भोइस अफ नेपालको कार्यक्रम दौरानमा उनले निकै साथी बनाए । किरणले आफू नेपाली भएको नाताले नै त्यहाँसम्मको यात्रा गरेको बताएका छन् । ‘म नेपाली हुँ’ भन्ने कुरामा बार–बार जोड दिए । नेपाली राष्ट्रले होइन, जातीयताको कारणले नेपालबाहिर बस्ने नेपाली, डायस्पोराका नेपालीको परिचय थियो किरणको । त्यसैले पनि होला उद्घोषक सुशीलले किरणलाई ‘नेपाली बाबु’ को संज्ञा दिए मञ्चमा ।

नेपालको शरणार्थी शिविरमा रहुन्जेल उनी भुटानी, अझ हेलाको भावमा प्रयोग हुने ‘भोटाङ्गे’, ’शिविरे’ आदि थिए । आज त्यो हेय दर्जाबाट मुक्त भएको किरणले फर्काएर नेपाललाई दिन तम्सेका छन् । स्वर त दिए नै, त्यसमा आफूले पाएको पुरस्कार राशि पनि अर्पिदिए सामाजिक सेवाका निमित्त । यस्तो दिने भावना उनी सिर्फ भुटानी भएको भए आउने थिएन होला । नेपाल हाम्रो पुर्खाको जरो नभएको भए नेपाल र नेपालीलाई माया गर्ने कुनै अरु कारण हुने थिएन । किरणजस्ता अरू हजारौं शरणार्थी शिविरमा जन्मेको पुस्ताले पुनर्वासपछि पौरख गरेका छन् । शायद अरु पनि त्यो पौरख बाँड्न चाहन्छन्, नेपालको रेमिट्यान्समा थप्न चाहन्छन् । किरण गजमेरले प्रेरणा भरे अरुमा । भोइस अफ नेपालको मञ्चमा उनले ‘संसारभरि छरिएर बसेका नेपालीहरूको प्रतिनिधि पात्र हुँ’ भन्दा उनले आफैँ जिम्मेवारीबोध गरेजस्तो लाग्छ । यो भनाइलाई नेपालमा चाहे स्वीकार होस् या नहोस्, नेपाली कला, साहित्य र सङ्गीतलाई आफ्नो ठान्ने डायस्पोराका सबै नेपालीहरूले उनलाई नेपालको गीत गाउन हौस्याइरहे ।

नेपालीत्वको अपनत्व

नेपाली हुँ भन्नुमा के चमत्कारी आनन्द छ किरणको पुस्तालाई ? शरणार्थी शिविरको धूलो, हिलोमा खेलेको यो पुस्तालाई भुटान परीको कथाजस्तो लाग्छ । नेपाललाई चिन्ने मौका पनि कम पाएको छ त्यहाँ बसुन्जेल । के यो टाडा भएको वस्तुप्रति माया बढेको हो ? अथवा विदेश बसेर नेपालतिर फर्केर हेर्न खोजेको हो ?

किरणको उमेरका युवायुवती नेपाल फर्केर जाने गरेका छन् । आफू खेले–हुर्केको शिविरको झार, जङ्गल, पानी–धारा, छाप्रोको घडेरी र बा–आमाले रोपेका बोटबिरुवा चिनेर तिनीहरुसँग माया साटेका छन्, त्यो ठाउँसँग पुनः जोडिन खोज्दै छन् । भुटान वर्जित भएपछि नेपालप्रति श्रद्धा, प्रेम र आकर्षण बढेको हो– पुनर्वासित भुटानी समुदायको । इन्द्रेणीका कृष्ण कँडेलसँग किरणले भने, ‘मैले अमेरिकामा खाएको भन्दा मीठो त्यस बेला शिविरमा खाएको दुःखको गाँस थियो ।’ यो नेपाली माटोप्रतिको अविछिन्न सद्भाव भएको पुष्टि हो ।

नेपाली हुँ भन्नुमा मात्र होइन कि नेपाललाई फर्काएर दिनुमा समेत आनन्द लाग्यो किरणलाई । उनका अमेरिकी समर्थक र प्रायोजकले यस दान गर्ने कार्यमा काँध हालेको निश्चय हो । तर उनको अल्लारे उमेरका रहर पनि त होलान् । ती रहरहरूलाई थाती राखेर किरणले नेपालको स्वास्थ्य सेवामा पहुँच सजिलो पार्न जुन पुण्य कर्म गरे, त्यो सराहनीय मात्र होइन मननयोग्य र सिको गर्नलायक छ । किरणलाई उद्घोषकले मञ्चमा ‘नेपाली बाबु’ भनेर गरेको सम्बोधन यस अर्थमा सटिक भयो कि भन्ने लाग्छ ।

यसो भन्दैमा के किरणलाई नेपालमा बस्ने अधिकार मिल्ला त ? एउटा छाप्रोको घडेरीसमेत मेटिएको शरणार्थीलाई नेपाली जनसमुदायको हितका लागि एम्बुलेन्स किन्ने पैसा दान गर्न के सरोकार ? के यो ताज जितेको बहकाइमा आएको पुलकित भावना मात्र हो र ? भुटानको साम्राङ बस्तीबाट उठिबास लाग्दा किरणका हजुरबाले खासै केही ल्याएका थिएनन् । आफ्ना परिवारलाई कति रात त अरुकै करेसा र गाई ग्वालीमा बिताएर नेपाल ल्याइपुर्‍याएका थिए । तर उनले सीप ल्याएका रहेछन्, सरस्वतीको वरदान पाएका रहेछन् । नाति किरणले त्यो प्रत्यक्ष देखाउन पाए ।

अमेरिकामा दर्ता भएको इन्ट्रा फाउन्डेसनले किरणको नेपाल बसाइमा सक्रिय समर्थन गरेको जानकारी सबैलाई छ । सोही फाउन्डेसनले किरणलाई दिनसमेत उक्सायो । यसरी फर्काएर दिने प्रचलन पश्चिमा मुलुकहरूमा निकै व्यापक छ– गैरनाफामुखी संस्थामार्फत । नाफा कमाएका कम्पनीहरुले सरकारलाई बुझाउने करको भार कम गर्न यसो गर्छन् । इन्ट्रा–फाउन्डेसनले किरणलाई भ्वाइस अफ नेपालको मञ्चमा सक्दो सहयोग गरेर उनलाई आफूले जितेको पुरस्कारसमेत नेपालको सामाजिक कार्यमा खन्याउन उत्प्रेरित गर्‍यो । यो चानचुने त्याग होइन किरणको र इन्ट्रा फाउन्डेसनको ।

डलरको आडमा किरणलाई जिताएको भन्ने विपक्ष स्वरमा केही सत्यता होला तर पैसा तिरेर भोट हाल्ने प्रक्रिया गरेपछि त्यो अवश्य हुन्छ भन्ने तर्क पनि उत्तिकै बलियो छ । यो तर्क गरिरहनुभन्दा पनि किरणले ताज जितेर के लिएर गए वा के दिएर गए भन्ने कुरामा ध्यान दिनु ठीक होला ।

नेपालले कसरी बुझेको छ ?

नेपाल सरकारले जुन बेला तेस्रो मुलुक पुनर्वास गराउन सहमति जनायो, शरणार्थी समुदायको हित अलावा नेपालमा त्यसले ल्याउने विदेशी मुद्रा सञ्चितको बारेमा सोचेको थियो या थिएन, यकिन छैन । तर विगत १२ वर्षदेखि यी पुनर्वासित भुटानीहरु नेपाल गइरहेका छन्, नेपालको पर्यटन राजस्वमा टेवा पु¥याएका छन् । त्यसमाथि किरण गजमेरले जस्तो नेपालीको दुःखमा मलहम लगाउने काममा यो समुदायका मानिसहरू चुकेका छैनन् । इन्द्रेणीका कृष्ण कँडेललाई होस् वा धुर्मुस–सुन्तली फाउन्डेसनका सीताराम–कुञ्जनालाई, कुनै न कुनै रकम उनीहरुले दान गरेकै छन् ।

भूटान जान नपाएपछि नेपाल यो समुदायको प्रिय गन्तव्य हो । त्यसो त भुटानमा छोडिएका आफन्तजनलाई पनि सहयोग नगरेको छैन, तर भुटान सरकारले उनीहरुले पठाएको रेमिट्यान्सलाई खुलेर उल्लेख गरेको छैन । हुन त देश निकाला गरिएका मानिसबाट देशको विदेशी मुद्रा बढ्यो भन्नु सरम लाग्दो कुरा पनि हो ।

शरणार्थी भई बसेका मानिसबाट यसरी देशलाई भइरहेको फाइदाको लेखाजोखा नेपाल सरकारले कसरी गरिरहेको छ, जान्न बाँकी छ । मूल कुरा त उनीहरुको नेपाललाई दिने इच्छाबाट झल्केको भावी सम्भावनासमेत आँकलन गर्न मनासिव होला । किरण गजमेरजस्ता कलाकार र अमेरिकी शिक्षाले सबलीकरण भएका नयाँ पिँढीका युवायुवतीका लागि त्यो ठूलो सम्भावना बोकेको छ । किरणले भोइस अफ नेपालको ताज जितेको ‘मेरो लागि नेपाली नागरिकता पाएसरह हो’ भनिरहँदा उनले नेपाली हुनबाट हामीलाई वञ्चित नगर्नुहोस् भन्ने चोटिलो सन्देश पो दिएजस्तो लाग्यो । यसको अर्को अर्थ हुन्छ– नेपालमा हामीलाई न्यानो सद्भाव र माया बाँड्न दिनुहोस्, हाम्रो लगानी यस पुर्खाको भूमिमा धनको मात्र होइन बौद्धिक विचार र सीपको पनि हुन्छ ।

विदेशमा आफ्नो कला प्रदर्शन गरेर फर्किने नेपाली कलाकारहरुले के दिएका छन् नेपालमा र अहिले किरणले नेपालमै पाएको इनामबाट के दिए नेपाललाई ? अति सोचमग्न विषय छ ।

आनी छोयिङ डोल्माले उनको गलाबाट उब्जेको प्रतिभाबाट फर्पिङको आर्यतारा स्कुल चलाएको उदाहरण यो देनको एक नमुना हो । सीताराम कट्टेल र कुञ्जना घिमिरेले पनि आफ्नो कलाकारिताले बनेको लोकप्रियताका आधारमा ती ठूला कामहरु आँट गरेका छन् । तर यस्ता कलाकार नेपालमा अनगिन्ती छन् र विदेशमा कार्यक्रम गर्नेको लर्को पनि लामै छ ।

अब नेपालीहरू सबै गरिब छैनन् । नेपालबाहिर बसेर आर्जन गरेको भौतिक र बौद्धिक सम्पत्ति नेपाल लगेर त्यसको समुचित व्यवस्थापन गर्न केले रोकेको छ र ? देशको राजनीतिक र सामाजिक संरचनामा कायापलट गर्छौं भनेर जनयुद्ध गर्नेहरू सरकारमा के गर्दै छन् ? उनीहरुलाई कसले रोकेको छ र ? अब केवल सङ्गठित लगानीको प्रवाह थाल्न सबै शिक्षित नेपाली मानव संसाधनको परिचालन गर्न अबेर नगरौं ।

प्रतिक्रिया दिनुहोस्