– डा. अरुणा उप्रेती (जनस्वास्थ्य विज्ञ)
परिवार नियोजन वा गर्भ निरोधका साधनको प्रयोगले महिलालाई गर्भ रहनबाट रोकेर उनको स्वास्थ्य राम्रो त पार्छ तर साधन प्रयोग गर्दा होसियारी नअपनाए अनेक कुप्रभाव पनि पर्न सक्छ । यस्ता साधनहरूको प्रयोगले शरीरमा ‘नराम्रो बोसो’ को मात्रा बढेर जान सक्ने र यसले गर्दा उच्च रक्तचाप पनि हुनसक्छ । तर यसको बारेमा प्रायः महिलालाई जानकारी दिएको पाइन्न ।
करिब ३० वर्षअघि म वीर अस्पतालको परिवार नियोजन शाखामा कार्यरत थिएँ । त्यहाँ हामीलाई ७ वर्षसम्म प्रयोग गर्न सकिने नरप्लान्ट को सुई लगाउने तालिम दिइएको थियो । ६ महिनामा मैले झन्डै ४ सय महिलाको पाखुरामा नरप्लान्ट राखिदिएँ । त्यसमध्ये ६० जना महिलालाई चाहिँ नरप्लान्ट राखेको दुई महिनामा नै मैले निकालिदिनुपरेको थियो ।
यी महिलाहरुमा कसैको दुई महिनामा धेरै नै तौल बढेको थियो, कसैलाई लगातार योनिबाट रगत जाने क्रम बढेको थियो । कसैलाई चाहिँ एकदमै धेरै टाउको दुख्ने समस्या भएको थियो । ती महिलाहरूको नरप्लान्ट ६ महिनाभित्र निकालेकोमा मैले मेरा हाकिमहरूको खप्की पनि खानुपरेको थियो । ‘महिलाहरूलाई टाउको दुख्ने, उच्च रक्तचाप हुने समस्या हुँदैन’ भनिएको थियो हामीलाई । तर वास्तवमा परिवार नियोजनका हर्मोनयुक्त साधनले यस्ता समस्या पैदा गर्न सक्छन् ।
त्यस बेला मैले एक महिलामा नरप्लान्ट राखेकोमा २ महिनापछि आएर उनले ‘मलाई डिप्रेसन भयो, नरप्लान्ट निकालिदिनुस्’ भनेकी थिइन् । मैले नरप्लान्टले कहिल्यै पनि डिप्रेसन हुँदैन भनेर फर्काएकी थिएँ । त्यसको १५ दिनपछि गएर जाँच गराइछन् । मानसिक रोग विशेषज्ञले उनलाई कुरा बुझाएछन् । उनेले भनेछन्, ‘डिप्रेसन परिवार नियोजनको साधनको कारणले पनि हुनसक्छ । नरप्लान्ट निकालेर आउनुस् अनि तपाईंले डिप्रेसनको औषधि खानुपर्ने कि नपर्ने हेरौंला ।’
महिलाहरुमा कसैको दुई महिनामा धेरै नै तौल बढेको थियो, कसैलाई लगातार योनिबाट रगत जाने क्रम बढेको थियो । कसैलाई चाहिँ एकदमै धेरै टाउको दुख्ने समस्या भएको थियो ।
ती मानसिक रोग विज्ञले एउटा चिठी लेखेर ती महिलाको नरप्लान्ट निकाल्न अनुरोध गरे । मैले नरप्लान्ट निकालिदिएँ । १५ दिनपछि महिला खुशी हुँदै आइन् । उनको डिप्रेसन हटेको थियो ।
दुई वर्षअघिको घटना हो । पूर्वको एक जिल्लामा १५ वर्षीया किशोरीको एक किशोरसँग सम्बन्ध भएपछि महिनावारी रोकियो । उनले ७ हप्तामा नै गर्भपतन गराउने औषधि खाइछन् । तर गर्भपतन गर्ने औषधि खाएको दुई दिनपछि उनको एकदम पेट दुखेर बेहोस भइछन् । अस्पताल लगेर सोनोग्राम गर्दा थाहा भयोे कि उनको गर्भ त गर्भनलीमा बसेको रहेछ । त्यो फुटेर आन्तरिक रक्तश्राव भई ज्यानकै खतरा भयो । अस्पतालमा उनको शल्यक्रिया गरिएपछि ज्यान त बच्यो तर उनको अवस्था कस्तो छ भनेर नजाँची गर्भपतनको औषधि दिने पसलेलाई कुनै सजाय भएन । यस्ता घटना प्रायः गुपचुप नै रहन्छन्, जुन ज्यादै दुःखद कुरा हो ।
गाउँघरमा यस्ता किशोरी एवं युवतीहरुलाई गर्भपतनको अधिकारको बारेमा सचेत गराउन थालिएको छ, यौन स्वास्थ्यको कुरा पनि गरिएको छ तर उनीहरुलाई आफ्नो शरीरप्रतिको जिम्मेवारी र जथाभावी परिवार नियोजनको साधनको प्रयोग गर्नु नहुने बारेचाहिँ सिकाएको पाइँदैन । यसले गर्दा किशोरी तथा युवतीहरुको स्वास्थ्यमा धेरै नराम्रो असर पर्ने गरेको छ । कहिलेकाहीँ ज्यान नै पनि जाने गरेको छ ।
परिवार नियोजनका साधनहरूको प्रयोगको कुरा गर्दा यदि त्यसबारे राम्ररी जानकारी दिइएको छैन भने ती साधनको प्रयोग गर्दा प्रजनन स्वास्थ्यमा नराम्रो प्रभाव पर्न सक्छ ।
मैले सेवा शुरु गर्दाको समयमा हामीलाई डिपो प्रोभेरा सुई एउटा पनि बच्चा नपाएको महिलालाई दिनुहुँदैन भनेर सिकाइको थियो ।
तीन महिनाअघि अछाम पुग्दा त्यहाँका एक स्वास्थ्यकर्मीसँग मेरो भेट भयो । एकैछिन्को कुराकानीको क्रममा उनले भनिन्, ‘मेरो विवाह भएको पाँच वर्ष भयो, तत्काल बच्चा नपाउन मैले विवाह भएको पहिलो दुई वर्ष डिपो प्रोभेरा (परिवार नियोजनको सुई) लगाएँ । तर छोडेको तीन वर्ष भइसक्यो, अझै बच्चा भएको छैन । डिपो लगाएपछि मेरो शरीर मोटो पनि हुँदै गएको थियो । अहिले छोडेपछि पनि तौल घटेको छैन ।’
उनको कुरा सुनेर मैले उनलाई सोधेँ, ‘एउटा पनि बच्चा नभई किन डिपो प्रयोग गर्नुभएको ? यस्तो सल्लाह कसले दियो, तपाईंलाई ?’
यसको जवाफमा उनले भनिन्, ‘हामीलाई यसै गरी सिकाइएको छ । मैले तालिम दिँदा पनि बच्चा नभएका विवाहित दम्पतीले परिवार नियोजनका हर्मोनयुक्त साधन प्रयोग गर्दा हुन्छ भन्ने गरेकी छु ।’
मलाई दुःख लाग्यो । मैले उनलाई भनेँ, ‘यो गलत कुरा हो । एउटा पनि बच्चा नभएकोलाई म कहिल्यै पनि डिपो सुई लगाउने सल्लाह दिन्न । स्वास्थ्य मन्त्रालयका कोही पनि डाक्टरहरूले आफ्नो घर–परिवारका महिलालाई यस्तो सल्लाह दिँदैनन् । किनभने यसले गर्दा पछि प्रजननमा समस्या पर्न सक्छ । हर्मोन सुईहरूको प्रयोग यसरी गर्नुहुन्न ।’
परिवार नियोजन, गर्भपतन, आकस्मिक परिवार नियोजन, कन्डम आदिका बारेमा अनेक विज्ञापन र प्रचारप्रसार आउँछन् तर जिम्मेवार भएर मात्रै यस्ता साधनहरु प्रयोग गर्नुपर्छ र शरीर परिपक्व नभई यौनसम्पर्कमा समेत लिप्त हुनुहुँदैन भन्ने बारेमा जानकारी दिइँदैन, जुन धेरै नै गलत हो ।
किशोर–किशोरीलाई नै लक्षित गरेर खासै कुनै प्रजनन स्वास्थ्य र यौनिकतासम्बन्धी कार्यक्रम बनेका छैनन्, रेडियो र टी.भी.मा विज्ञापन आउँदैनन् । उनीहरुको यौन र यौनिकतासम्बन्धी जिज्ञासाको समाधान कतै सुनिदैन । मैले बारम्बार किशोरीहरुको कुरा लेख्छु । किनभने कतिपय किशोरीको यौनसम्बन्धपछिको नराम्रो परिणाम केवल किशोरीले भोग्नुपर्छ । किशोरले कुनै जिम्मेवारी लिएका हुँदैनन् ।
धेरै किशोरीले यौनसम्पर्क गरेपछि ‘इमर्जेन्सी औषधि’ प्रयोग गरेको पाइन्छ । तर यसरी जथाभावी औषधि प्रयोग गर्दा किशोरीको स्वास्थ्यमा नराम्रो असर गर्न सक्छ भन्ने बारेमा कसैले विचार नै गर्दैनन् । पसलेहरूले पनि यस्तो समस्याको बारेमा भनिदिँदैनन् ।
नेपालको पूर्वी भेगको एउटा घटना मलाई याद छ । ९ कक्षामा पढ्ने १७ वर्षीया किशोरीको १८ वर्षीय किशोरसँग यौनसम्पर्क भएपछि गर्भ रहेछ । दुवैजना झापाको एक निजी औषधि पसलमा गई गर्भपतन गराउन कोशिश गर्दा किशोरीको अति रक्तश्राव भएर अस्पताल जानुपरेछ । किशोरले किशोरीको घरमा खबर गरिदिएछन् । घरका मानिसहरु अस्पताल नपुग्दै किशोर भारततिर भागिसकेछन् । अत्यधिक रक्तश्राव भएकाले औषधि पसलबाट अर्को ठूलो अस्पतालमा लगियो र किशोरीको सुरक्षित गर्भपतन गरियो । किशोरीको ज्यानचाहिँ बच्यो ।
घर–परिवारले बेइज्जतको डरले कसैलाई पनि केही भनेनन् । निको भएर घर गएपछि ती किशोरीको १८ वर्षमा नै विवाह गराइदिएछन् । घर–परिवारले भनेका रहेछन्, ‘हाम्रो लागि अब ऊ मरेसरह छ । अब लोग्नेको घरमा जे गर्छ, हामीलाई वास्ता छैन । यदि ती किशोरीलाई सुरक्षितरुपमा नै गर्भपतन गर्दा पनि कहिलेकाहीँ यस्तो समस्या पर्छ भनेर कसैले मार्गदर्शन गरेको भए, उमेर नपुगी यौनसम्पर्क गर्न हुन्न भनेको भए, उनको जीवन नै अर्को हुने थियो । तर किशोर–किशोरीहरुले कहाँ गएर यस्ता जानकारी प्राप्त गर्ने ? उनीहरुलाई यौनसम्पर्क गर्नु मात्र ‘प्रेम’ होइन भन्ने तथ्य कसले बुझाउने ? यस्ता गम्भीर विषयमा सूचना स्रोत तथा सामग्रीको ज्यादै अभाव छ ।
परिवार नियोजनको साधन जथाभावी प्रयोग गर्नुहुन्न । केटा साथी वा केटी साथी बनाएर यौनसम्पर्क भएन भने त त्यो प्रेम नै होइन भन्ने गलत भावना त्याग्नुपर्छ । यौनसम्बन्ध पेडा खाएजस्तो जुन बेला खाए पनि हुने होइन ।
एउटा पनि बच्चा नभई परिवार नियोजनाका साधन प्रयोग गर्नै पर्ने स्थिति आएमा महिलाले नभई पुरुषले कन्डम प्रयोग गर्नु उचित हो । शुरुमै महिलाले गर्भ निरोधको हर्मोनयुक्त साधन प्रयोग नगर्दा नै राम्रो हो ।
परिवार नियोजनको साधनले महिलालाई गर्भवती हुनबाट रोक्छ । उनको जीवनको रक्षा गर्छ तर जथाभावी प्रयोग गर्दा यसले पार्ने अनेक असरले महिलाको स्वास्थ्यमा हानि पुग्छ । एउटा पनि बच्चा नभई महिलाले परिवार नियोजनको सुई प्रयोग गर्दा कहिलेकाहीँ लामो समयसम्म बच्चा नै नहुने पनि हुनसक्छ । महिलाहरूले गर्भ नरहोस् भनेर पहिलो बच्चा नहुँदै यसरी अनेक साधन प्रयोग गर्दा उनीहरूको बच्चा जन्मन ढिलो हुने वा कहिले त गर्भ नै नरहने हुन्छ । यसले गर्दा उनीहरूलाई घर–समाजले अपमानित गरिदिन्छन् । श्रीमान्ले ‘बाँझी भई’ भनेर अर्को विवाह गर्छन् । अनि ती महिलाका जीवनमा अनेक दुःख आइपर्छन् ।
एउटा पनि बच्चा नपाई हर्मोनयुक्त परिवार नियोजनको साधन प्रयोग गरे हुन्छ भनेर स्वास्थ्य मन्त्रालयले सिकाएको पाइन्छ, तर यस कुराप्रति मेरो असहमति छ । वास्तवमा पुरुषहरूलाई कन्डम प्रयोग गर्नका लागि प्रेरणा दिने विज्ञापन सामग्री धेरै प्रचार हुनुपर्छ । हर्मोनयुक्त परिवार नियोजनका साधनले कुप्रभाव पार्न सक्छ भन्ने बारे चर्चा हुन जरुरी छ ।
स्थायी बन्ध्याकरण गर्न पनि महिलालाई बढी हौस्याइन्छ । पुरुषहरू एकदम कम हुन्छन् । जबकि पुरुषहरूको बन्ध्याकरण गर्न एकदम सजिलो हुन्छ ।
अझै पनि धेरै मानिसमाझ पुरुषले स्थायी बन्ध्याकरण गर्न हुन्न भन्ने बुझाइ रहेको छ । ‘पुरुषले ठूलो भारी बोक्नुपर्छ, काम गर्न विदेश जानुपर्छ, त्यही कारण स्थायी बन्ध्याकरण महिलाहरूले नै गर्नुपर्छ’ भन्ने सोच भएका धेरै महिला स्वास्थ्यकर्मीकहाँ परामर्श लिन आउँछन् । पुरुषले स्थायी परिवार नियोजन गरे ढाड दुख्छ भन्ने गलत सोच राखिएको छ । यो सोच ठीक होइन भनेर प्रचार गरेको पाइन्न ।
चुरोट खाने, रगतको कमी भएका, कुपोषण भएका महिलालाई परिवार नियोजनका हर्मोनयुक्त साधनले बढी असर पार्न सक्छन् । हर्मोनयुक्त साधनहरूको प्रभावले महिलाको हड्डीहरू बढी फुसफुसे हुनसक्ने सम्भावना पनि बढ्न सक्छ । यसतर्फ सबै किशोरी एवं महिलाहरु सचेत हुन जरुरी छ ।
प्रतिक्रिया