स्थानीय तहको भत्तामात्रै दुई करोड


विमल विष्ट, डोटी ।

जिल्लाका नौ वटा स्थानीय तहको एक वर्षको बैठक भत्ता करिब दुई करोड रुपियाँ भएको छ । महालेखा परीक्षकको कार्यालयको ५८औं प्रतिवेदनमा आर्थिक वर्ष २०७५/७६ मा बैठक भत्ता मात्रै एक करोड ९० लाख ६१ हजार ५२ रुपियाँ खर्च गरेका छन् ।

जिल्लाको शिखर नगरपालिकाले सबैभन्दा बढी ३९ लाख खर्च गरेको छ । यस्तै दिपायल शिलगढी नगरपालिकाले २९ लाख ४३ हजार ५००, पूर्वीचौकी गाउँपालिकाले १८ लाख ९७ हजार ३१२, सायल गाउँपालिकाले १७ लाख ३० हजार ५०० र केआइसिंह गाउँपालिकाले २१ लाख ३६ हजार ४०० बैठक भत्तामा खर्च गरेको देखिएको छ ।

त्यस्तै जोरायल गाउँपालिकाले २६ लाख नौ हजार ३००, बडिकेदार गाउँपालिकाले १२ लाख ३६ हजार र आदर्श गाउँपालिकाले २६ लाख आठ हजार ४० खर्च गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । महालेखा परीक्षकको कार्यालयले तयार पारेको बोगटान फुड्सिल गाउँपालिकाको प्रतिवेदनमा भने बैठक भत्ताको विषयमा उल्लेख गरेको देखिदैन । सुदूरपश्चिम प्रदेशसभाले निर्माण गरेको स्थानीय तहका पदाधिकारी तथा सदस्यको सेवा सुविधासम्बन्धी (पहिलो संशोधन) ऐन, २०७६ अनुसार स्थानीय तहका कार्यपालिकाका सदस्यले बैठक भत्तावापत एक हजार लिन पाउने व्यवस्था गरेको छ ।

उक्त ऐनले एक महिनामा दुई पटकभन्दा बढी बैठकको भत्ता लिन नपाउने समेत व्यवस्था गरेको भए पनि यहाँका स्थानीय तहका जनप्रतिनिधिले आफू खुशी भत्ता लिएको भन्दै यहाँका नागरिकहरु आक्रोसित बनेका छन् । उता दैनिक भ्रमण भत्तामा बोगटान फुड्सिल गाउँपालिकाले सबैभन्दा बढी १९ लाख ६२ हजार ८२५ खर्च गरेको देखिएको छ । यस्तै केआइसिंह गाउँपालिकाले रु १७ लाख १२ हजार ५२४, सायल गाउँपालिकाले रु १३ लाख ३८ हजार ५०५, आदर्श गाउँपालिकाले रु १३ लाख २० हजार ७२५, शिखर नगरपालिकाले रु १२ लाख ८५ हजार, बडीकेदार गाउँपालिकाले १२ लाख ३५ हजार ९६०, पूर्वीचौकी गाउँपालिकाले ११ लाख ४७ हजार ४०० र जोरायल गाउँपालिकाले सबैभन्दा कम ६ लाख दुई हजार ९०७ खर्च गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । दैनिक भ्रमण खर्चको विषयमा दिपायल शिलगढी नगरपालिकाको प्रतिवेदनमा भने केही उल्लेख गरिएको छैन ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार दैनिक भ्रमण भत्ता बुझ्ने स्थानीय तहका पदाधिकारीहरु मध्ये पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटी सबैभन्दा अगाडि देखिनु भएको छ । उहाँले आर्थिक वर्ष २०७५÷७६ मा तीन लाख ५३ हजार दैनिक भ्रमण भत्ता बुझनु भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यसैगरी बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमल गड्सिलाले पनि तीन लाख ३८ हजार ९००, जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले तीन लाख २४ हजार ६००, सायल गाउँपालिकाका अध्यक्ष तेजबहादुर डुम्रेलले दुई लाख ९५ हजार ७०० र केआइसिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्र शाहीले दुई लाख ६५ हजार दैनिक भ्रमण भत्ता बुझनु भएको पाइएको छ ।

आदर्श गाउँपालिकाका अध्यक्ष टेकबहादुर रोकायाले दुई लाख ५२ हजार ७००, शिखर नगरपालिकाका प्रमुख सीताराम जोशीले दुई लाख २३ हजार ४२५ र बडिकेदार गाउँपालिकाका कृष्णबहादुर चन्दले एक लाख ८३ हजार ५०० दैनिक भ्रमण भत्ता बुझनु भएको देखिएको छ । उता जिल्लाको सबै भन्दा पुरानो नगरपालिका दिपायल शिलगढी नगरपालिकाको दैनिक भ्रमण भत्ताबारे भने प्रतिवेदनमा उल्लेख गरिएको छैन । स्थानीय तहका उपप्रमुखमध्ये सबैभन्दा बढी दैनिक भ्रमण भत्ता बुझ्ने बोगटान फुड्सिल गाउँपालिकाका उपाध्यक्ष भगवतीदेवी बम रहनु भएको छ । उहाँले एक वर्षमा दुई लाख ५९ हजार ३१५ रुपियाँ बुझनु भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यस्तै गाउँपालिकाका अध्यक्षभन्दा बढी दैनिक भ्रमण भत्ता बुझ्ने उपाध्यक्षमा बडिकेदार गाउँपालिकाकी उपाध्यक्ष इन्द्रा बोहरा भाट रहनु भएको छ । उहाँले एक वर्षमा दुई लाख ४६ हजार ६३५ भत्ता बुझनु भएको उल्लेख गरिएको छ ।

शिखर नगरपालिकाका उपप्रमुख धौलीदेवी रावलले दुई लाख नौ हजार ६२५, सायल गाउँपालिकाका उपाध्यक्ष विष्नादेवी सिंहले रु दुई लाख सात हजार ५२५, जोरायल गाउँपालिकाका उपाध्यक्ष जमुना बोहराले दुई लाख ७५७, केआइसिंहका उपाध्यक्ष मीना विष्टले एक लाख ९० हजार ७७५ र आदर्श गाउँपालिकाका उपाध्यक्ष कमलादेवी ओझाले एक लाख ८४ हजार ७२५ बुझनु भएको देखिएको छ । सबैभन्दा कम रकम बुझ्नेमा पूर्वीचौकी गाउँपालिकाका उपाध्यक्ष निर्मला साउद रहनु भएको छ । उहाँले १९ हजार ५५० रुपियाँमात्रै भत्ता बुझनु भएको प्रतिवेदनले उल्लेख छ ।