‘स्रोतले मात्रै हुँदैन जलविद्युत्मा दक्षता पनि चाहिन्छ’


काठमाडौं, (नेस) ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जल तथा ऊर्जा आयोगलाई जलस्रोतको अध्ययन अनुसन्धानसहित सो क्षेत्रको नियमनकारी निकायका रूपमा पनि विकास गरेर लैजानुपर्ने बताउनुभएको छ ।

आयोगको सचिवालयको गतिविधिबारे आइतबार जानकारी लिने क्रममा उहाँले भन्नुभयो–‘आयोगलाई नियमनका अधिकार दिनुपर्छ भन्नेमा म सहमत छु ।’ कुनै पनि निकायले आफ्नो क्षेत्राधिकारभित्र रहेर कुशलतापूर्वक काम गर्नुपर्नेमा जोड दिँदै उहाँले आयोगलाई जनशक्ति एवं आर्थिक स्रोत उपलब्ध गराइने बताउनुभयो ।

भूमिगत एवं सतहका जलस्रोत, आयोगको क्षेत्र भएको उल्लेख मन्त्री भुसालले गर्दै नीतिगतरूपमा अध्ययन, अनुसन्धान र कार्यान्वयनका निकायहरू निर्धारित मूल्यमान्यताभित्र छन कि छैनन् भन्ने अनुगमन गरेर त्यसको नियमन गर्ने विषयलाई सबै ढङ्गले व्यवस्थित गराउनुपर्नेमा जोड दिनुभयो ।

स्रोत भएकाले लगानी गर्नु ठिक छ तर आफैं उत्पादक बन्नु उचित हो कि होइन भन्ने विषयको गम्भीर समीक्षा गर्नुपर्ने बताउँदै उहाँले भन्नुभयो–‘सबैलाई स्रोत परिचालन गर्ने रहर छ । आर्थिक स्रोत भएकाले लगानी गरे पनि उत्पादन गर्ने एउटै निकाय हुनुपर्छ ।’ आर्थिक स्रोत सबल भएका निकायले जलविद्युत् क्षेत्रमा लगानी गर्न तत्परता देखाएकाप्रति मन्त्री भुसालले भन्नुभयो–‘स्रोत र साधन चलाउने रहरमात्र गरेर हुँदैन दक्षता पनि हासिल गर्नुपर्छ ।’

त्यस्तै ऊर्जासचिव देवेन्द्र कार्कीले नीतिअनुसार ऐन, नियमलगायत संरचना बनाएर आयोगलाई सबल बनाउनुपर्ने बताउनुभयो । जलस्रोत तथा सिँचाइ सचिव सागरकुमार राईले सरकार र निजी क्षेत्रबाट प्राकृतिक स्रोतमा संकट पैदा हुँदै गएकाले आयोगलाई नियमनकारी निकायका रूपमा विकास गर्नुपर्ने बताउनुभयो । त्यस्तै आयोगको सचिवालयका सचिव मणिराम गेलालले ऊर्जा तथा जलस्रोत आयोगलाई कानूनीरूपमा सबल बनाउनुपर्नेमा जोड दिनुभयो । आयोगले प्राविधिक, नीतिगत र राष्ट्रिय एवं अन्तर्राष्ट्रिय कानुनी विषयमा व्यापक विश्लेषण गरी सरकारलाई निर्णय लिन सहयोग गर्दै आएको छ । सो अवसरमा बेरुजु फछ्र्योटमा महत्वपूर्ण योगदान गर्ने कर्मचारीलाई सम्मान गरिएको थियो ।