अफगानिस्तानको पाठ



कुनै पनि मुलुकमा विदेशी सैनिकको उपस्थिति प्रिय हुँदैन, त्यो प्रत्युत्पादक मात्र हुन्छ । श्रीलंकामा भारतीय सेना जाओस् कि भियतनाम वा अफगानिस्तानमा अमेरिकी सेना, मलेसिया वा यूएईमा अस्ट्रेलियाली सैनिक, जमैका–कुवेतमा क्यानडेली सैनिक, म्यानमार–ताजकिस्तान–श्रीलंकामा चिनियाँ सैनिक, यूएई–सेनेगल–जर्मनी–लेबनान–माली–चाड–नाइजर–सिरिया–इराक–जोर्डन आदि मुलुकमा फ्रान्सेली सैनिक, बहराइन–ब्रुनाइ–क्यानडा–साइप्रस–इराक–केन्या–कतार–ओमन–यूएई आदि मुलुकमा बेलायती सैनिकको उपस्थिति र यस्तै अनेकौं शक्तिशाली मुलुकका सेना अनेकौं मुलुकमा बसुन्, त्यो प्रिय छैन ।

पछिल्लो समय अफगानिस्तानबाट अमेरिकी राष्ट्रपति जो बाइडनले सेना फिर्ता गर्ने क्रम शुरू गरेपछि विश्वका सञ्चार माध्यमहरूले यस घटनालाई मुख्य समाचार बनाइरहेका छन् । अफगानिस्तानको काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा एकसाथ जोर बम विस्फोटन भएर करिब दुई सय नागरिकको असामयिक तथा दुखद निधन भएपछि यस घटनाबाट बिस्तारै ध्यान हटाउन खोज्ने मिडिया पुनः त्यही सन्दर्भमा फर्किएका छन् । अझ, अर्काे आतंककारी हमला हुनसक्ने सूचना रहेको जानकारी सार्वजनिक भएपछि कुनै पनि क्षण हुनसक्ने अप्रिय घटनाका लागि काबुलमा रहेको अमेरिकी सेना सतर्क छ । राष्ट्रपति बाइडेनले आफूलाई पुनः आक्रमणको जानकारी सैन्य कमान्डरबाट प्राप्त भएको खुलासा गरेका छन् । बाइडेनका अनुसार त्यहाँको अवस्था एकदमै खतरापूर्ण छ । बिहीबार भएको आत्मघाती आक्रमणमा १३ अमेरिकी सैनिक हताहत भएका छन् भने १ सय ६९ अफगान नागरिकको ज्यान गएको छ । त्यसको बदलामा अमेरिकाले शनिबार ड्रोन आक्रमण ग¥यो । उक्त आक्रमणमा विस्फोटनका योजनाकार मारिएको अमेरिकी सेनाको दाबी छ । गत बिहीबार भएको आक्रमणअघि पनि अमेरिका र बेलायतले विमानस्थलमा आक्रमण हुने सूचना आएको भन्दै सचेत गराएका थिए । त्यसको भोलिपल्ट आत्मघाती विस्फोट भएको थियो । आक्रमण र प्रत्याक्रमणको यो सिलसिला र सूचनाको सुराकको सत्यता र पहुँचलाई ख्याल गर्दा पछिल्लो आत्मघाती आक्रमणकारी आईएस अर्थात् इस्लामिक स्टेटको स्थिति र क्षमताप्रति अमेरिका त्यति अनभिज्ञ भने देखिएन । उसले आक्रमण हुनुअघि जानकारी पनि पाएको र त्यसको प्रत्युत्तरमा ड्रोन आक्रमण पनि गर्न सफल भएको अवस्थालाई विश्लेषण गर्दा उसले अफगानिस्तानका इस्लामिक कट्टरपन्थी र आतंककारीलाई राम्ररी चिन्दछ भन्ने सावित हुन्छ ।

यसरी सबै अवस्थाप्रति जानकार रहेकै कारण अमेरिकाले २० वर्षपछि अफगानिस्तानबाट आफ्ना सेना फिर्ता गर्नु उचित ठानेको हो । अर्काको देशमा अफगानी सरकारी फौजलाई सहयोग गर्न बसेको अमेरिकाले त्यहाँको राष्ट्रिय सेनाले तालिवानीसँग समर्पित भएर लडेको देखेन । अमेरिकी सेनाले अरूका लागि कति लडिदिने ? विगतमा भियतनामबाट पराजय भोग्दै फर्किएको अमेरिकी सेनाले अफगानिस्तानबाट पनि फर्किने निर्णय ग¥यो, जो अत्यन्त जायज हो । अरूको देशको समस्या समाधानका लागि बुद्धि दिनु र अन्य प्रकारको सहयोग गर्नु ठीकै छ– यदि मानवअधिकार र लोकतन्त्रको हितमा हुन्छ भने, तर सेना नै पठाएर ‘सहयोग’ गर्ने रणनीति विश्वमै असफल भइसकेको छ । हतियारको बलले कसैलाई केही समयका लागि लाचार बनाउन मात्र सकिन्छ, जित्न सकिन्न । यस घटनाबाट विश्वले नै पाठ सिक्नु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्