बेपत्ताको ६० वर्षपछि कुशको शव बनाएर अन्त्येष्टि

40.8k
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।

रामेछाप जिल्लाको साविक गुन्सी भदौरे गाविस वडा नम्वर ३ भदौरेमा १९६८ साल भदौ ११ गते जन्मनु भएका उमाकान्त चौलागाईको २०७८ भदौ ११ गते हिन्दु संस्कार अनुसार अन्त्येष्टी गरिएको छ । काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नम्वर ८ धाईटारमा २०४९ साल देखि बसोबास गर्दै आएका उमाकान्तको परिवारले जन्मदिनको अवसरमा कुशको शव मार्फत उमाकान्तको अन्त्येष्टि गरेका हुन् ।

५० वर्षको उमेरमा उमाकान्त २०१८ साल साउन १६ गते घर छाडेर वेपत्ता भएका थिए । बेपत्ता भएको ६० वर्ष पछि उनको अन्त्येष्टी गरिएको स्थानीय समेत रहनु भएका पत्रकार होम चौलागाईले बताउनु भयो । पारिवारिक जीवन विताउने क्रममा उमाकान्तले नन्दादेवीसङ्ग विवाह गरेका थिए । उमाकान्त र नन्दादेवीका कृष्णहरी र नन्दीकेशर चौंलागाँई दुई छोरा र तुलसीमाया र विमला चौंलागाँई दुई छोरी गरी चार सन्तानको जन्म भएको थियो । उमाकान्त बेपत्ता भएको केहि समय पछि उनको परिवार २०४९ सालमा रामेछापको गुन्सी भदौरेबाट काभ्रेको मण्डनदेउपुर वडा नम्वर ८ धाईटारमा बसाई सरेका थिए । १५ वर्ष अघि उमाकान्तको श्रीमती नन्दादेवीको तत्कालिन महादेवस्थान गाविस वडा नम्वर २ धाइटारमा निधन भएको थियो । आमाले मृत्युवरण गरेको लामो समयसम्म बुबाा उमाकान्त ज्यूँदो अथवा मृत्युको खबर आउन सकेन । जन्मिएको १ सय १० वर्ष पुग्दा पनि बुबाको खवर नआएसँगै ७२/७३ वर्ष नाघेका वृद्धा अवस्थाका २ छोराहरु मानसिक तनावमा थिए । भारतको उत्तराखण्ड स्थित शिलापत्थरमा स्थायी बसोबास गर्ने एउटा परिवार नेपाल आए लगत्तै उमाकान्तको मृत्यु कर्म गर्ने टुंगोमा पुगेका उनिहरुले २०७८ साल भदौ ११ गते सामाजिक परम्परा अनुसार कुशको शव बनाएर अन्त्येष्टी गरी किरिया शुरु गरेका हुन् ।

‘अपरान्ह थियो । कुशको लाश तयार भएको रहेछ । एकपछि अर्को गर्दै टोल छिमेकका मलामी जम्मा भए । जसरी समाजमा मानिसको निधन हुँदा जे कर्म गरिन्छ त्यो सबै गरियो । घरबाट लाश उठाउने काम भयो । मलामीको लर्को लाग्यो । स्थानीय घाटमा लगी वैद्धिक परम्परा अनुसार दाहसंस्कार गर्ने काम सम्पन्न भयो । किरियापुत्री र मलामीहरु घर फर्किए । घरमा परम्परागत ढंगकै कोरा बार्ने काम भयो’– स्थानीय समेत रहनु भएका पत्रकार होम चौलागाईले भन्नुभयो– ‘बाबा हराएको १ सय १० वर्षलाई मृत्युको सत्य कल्पना गर्दै वैद्धिक विधि तथा परम्परा अनुसार १२ दिनमा सक्ने गरी दुई छोराहरु काज किरिया बसेका छन् ।’

परिवारमा कृष्णहरी र नन्दीकेशर सहितका २ छोराहरु, सीतादेवी र नर्वदा सहितका २ बुहारीहरु, तुलसीमायाँ गौतम र विमला ओझा सहितका २ छोरीहरु, नवराज, सुमन, नेत्रप्रसाद, पदम र तोयानाथ सहितका ५ नातीहरु, सुमित्रा, शलिना, सरीता, संगीता, माधव प्रसाद गौतम, रामचन्द्र गौतम, गंगा ढकाल, जमुना ढकाल, सुभद्रा तिमल्सिना, दिपककुमार ओझा, विनोदकुमार ओझा, विनिता दाहाल लगायतका नाती/नातिनाहरु, सुशिल, स्वस्तिका, आर्शु, पितामबर, सृष्टि चौंलागाँईं, सुदर्शन ढकाल, सुजिता ढकाल, सफला ढकाल, भवानी घोरासैनी, भगवती ढकाल, सुकदेव ढकाल, अमृत तिमल्सिना, एलिशा गौतम, जेनिशा गौतम, सृष्टि गौतम, अमृता गौतम, रिलिफ तिमल्सिना, अमृता तिमल्सिना, आयुष तिमल्सिना, अनुश्री दाहाल, दिप्शन ओझा, दिब्यङ्का ओझा सहितका पनाती/पनातिनीहरु र जनाती सानभ घोरासैनी सहित दर्जर्नौको संख्यामा परिवार संख्या पुगेको छ ।

सामाजिक रुपमा नयाँ पुस्ताका मानिसहरुलाई बिल्कुलै अनौठो लाग्ने गरी काजकिरिया शुरु भएको छ । अझ अचम्म लाग्ने सन्दर्भचाहिं के थियो भने मृतकको कुशको लाशलाई शंख बजाउँदै मलामी सहित घाटमा लगेर जलाउँदा भन्दा फर्केपछि वरपरका मानिसहरु अचम्ममा परेका थिए । शंख बजाउँदै लाश ल्याएको आधा घण्टा नहुँदै मलामी फर्केको देखेपछि नयाँगाउँ र देउपुर भेगका खोला वारीपारिका मानिसहरु आघा घण्टैमा कसरी लाश जलेर सकियो भन्दै दौडादौडीका साथ हेर्न पुगेका थिए ।