सिमेन्ट उद्योगका कारण करोडौंको सडक तहसनहस, वैैकल्पिक सडक माग गर्दै नागरिक आन्दोलित


नरेन्द्र केसी, दाङ ।

दाङका सिमेन्ट उद्योगमा चुनढुंगा आसार्ने ट्रिपरका कारण सडक तहसनहस भएपछि जनस्तरबाट आन्दोलन शुरु भएको छ । घोराही सिमेन्टलगायतका तीनवटा उद्योगका लागि चुनढुंगा ओसारपसार गर्ने ट्रिपरका कारण मदन भण्डारी लोकमार्गको घोराही–मुर्कुटी सडक खण्ड तहसनहस भएको हो । त्यस्तै, घोराही–लमही सडक पनि क्षत–विक्षेद छ ।

घोराही–मुर्कुटी सडकमा ३५ करोडको लगानीमा गरिएको कालोपत्रे एक महिना नपुग्दै भत्केको छ भने जनजीवन निकै कष्टकर भएको छ । ट्रिपरका लागि छुट्टै औद्योगिक वैकल्पिक मार्ग बनाउन माग गर्दै जनस्तरबाट आन्दोलन शुरु भएको हो । प्रभावित क्षेत्रका नागरिकले घोराही–मुर्कुटी सडक तथा सिमेन्ट उद्योग प्रभावित सरोकार समिति गठन गरेर आन्दोलन शुरु गरेका हुन् । यो खण्डमा पर्ने झण्डै तीसवटा टोल विकास संस्थाको भेलाबाट समिति गठन गरेर आन्दोलन शुरु गरिएको सरोकार समितिका संयोजक नारदमणि पोख्रेलले जानकारी दिनुभयो । ‘घोराही–मुर्कुटी सडकखण्डका विभिन्न स्थानमा ठूल्ठूला खाडल परेर यात्रा गर्न कठिनाइ भएकाले तत्काल सडक सुधार गरी भत्केको ठाउँमा कालोपत्रेका लागि अनुरोध गरेका छौं’, उहाँले भन्नुभयो– ‘माग पूरा नभए आन्दोलन थप चर्काउँदै लैजाने छौं ।’

पहिलो चरणमा सरकारी निकाय तथा नागरिक क्षेत्रका अगुवासँग छलफल गरिएको र दिनमा ट्रिपर गुड्न रोक लगाइएको जानकारी दिनुभयो । ‘ट्रिपरको चाप कम गर्न र सडक सुरक्षामा सहयोग पुग्ने उद्देश्यले भदौ १ गतेदेखि साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म मात्रै ट्रिपर चल्न दिने गरेका छौं, यसमा प्रशासनसहित सबै क्षेत्रको सहयोग माग गरेका छौं’, पोख्रेल भन्नुहुन्छ– ‘तर, वैकल्पिक सडक सुनिश्चित नगरी ट्रिपर सञ्चालन गर्न खोजिए हामी प्रतिरोधमा उत्रन बाध्य हुनेछौं ।’ रातको समयमा पनि ट्रिपरको क्षमता र गति मापन गरेर मात्र चल्न दिनुपर्ने उहाँको माग छ ।

वैकल्पिक औद्योगिक सडक नै आफूहरुको एक सूत्रीय माग भएको बताउँदै सरोकार समितिका सहसंयोजक टेकबहादुर घर्तीले दाङका पहाडी क्षेत्र तथा दाङ हुँदै रोल्पालगायतका पहाडी जिल्लामा खानी उत्खननको क्रम बढेको र सोही कारणले सडक सुरक्षा खतरामा पर्दै गएको बताउनुभयो । ‘हरेक खानीजन्य वस्तुको ओसारपसारका लागि रोपवेको व्यवस्थाका लागि दीर्घकालीन पहल गर्न तथा यो सडक सुरक्षाका लागि कम्तीमा काउलेछेडादेखि बालिमहुँदै घोराही सिमेन्ट उद्योगसम्मको वैकल्पिक मार्गमा ट्रिपर चल्ने व्यवस्थाका लागि सरकारी निकायमा अनुरोध गरेका छौं’, उहाँको भनाइ छ– ‘यसको सुनिश्चिता नभई हामी दिउँसोको समयमा ट्रिपर चल्न दिँदैनौं ।’