भारतको सहयोगमा नेपालका बाढी पीडितलाई आठ करोडकाे राहत सामाग्री


न्युज अफ नेपाल, काठमाडौं ।

भारत सरकारले बाढीपहिरो प्रभावितहरुलाई आठ करोड रुपैयाँ बराबरको राहत सामाग्री प्रदान गरेको छ । यो राहत सामाग्री नेपालका १५ जिल्लामा बाढी तथा पहिरो प्रभावित पिरिवारलाई वितरण गरिने छ ।

भारत सरकारको तर्फबाट आएको राहत सामग्री भारतीय दुतावासकी मिशन उप–प्रमुख नामग्या खम्पाले नेपाल–भारत महिला मैत्री समाजकी अध्यक्ष तथा सांसद चन्दा चौधरी र प्राज्ञिक विद्यार्थी परिषद्का अध्यक्ष नारायण ढकाललाई हस्तान्तरण गर्नुभएको थियो । राहत सामग्रीमा टेन्ट, प्लास्टिक सिट, स्लीपिङ्ग म्याट र औषधिहरु रहेका छन् ।

बाढी र पहिरोका कारण जनजीवनमा पुगेको क्षतिलाई दृष्टिगत गर्दै स्थानीय सरकारसँगको समन्वयमा नेपाल–भारत महिला मैत्री समाज र प्राज्ञिक विद्यार्थी परिषद्मार्फत सो राहत सामाग्री चार प्रदेशका पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, महोत्तरी, सिराहा, सप्तरी, रुपन्देही, गोरखा, मनाङ, सिन्धुपाल्चोक, रसुवा, दोलखा र धादिङ जिल्लामा वितरण गरिनेछ ।

भारत सरकारले नेपाललाई विपद् व्यवस्थापनका लागि मानवीय सहायता तथा राहत सहयोग नियमित रुपमा उपलब्ध गराउँदै आएको छ।