सात पालिकाको बेरुजु २७ करोड ६८ लाख 


बासुदेव शर्मा, जाजरकोट ।
जाजरकोटका सात वटा पालिकाको बेरुजु २७ करोड ६८ लाख ३७ हजार रुपियाँदेखिएको छ । महालेखा परीक्षकको ५८औं वार्षिक प्रतिबेदनले जिल्लाका सातवटै पालिकाको बेरुजु देखाएको हो ।
बेरुजुको तथ्यांकमा सबैभन्दा अगाडि छेडागाड नगरपालिकामा रहेको छ । नगरपालिकाले १ अर्ब २३ करोड ५६ लाख ९ हजार रुपियाँको लेखापरीक्षण गराएकोमा ८ करोड १ लाख ७३ हजार अर्थात् ६ दशमलव ४९ प्रतिशत बेरुजु देखिएको छ । त्यस्तै शिवालय गाउँपालिकाले ५८ करोड १ लाख ४१ हजारको लेखापरीक्षण गराएकोमा ३ करोड ४७ लाख ९ हजार अर्थात ५ दशमलव ९८ प्रतिशत, जुनीचाँदे गाउँपालिकाले ९५ करोड ५२ लाख ५ हजारको लेखापरीक्षण गरेकोमा ४ करोड ६६ लाख ६१ हजार अर्थात ४ दशमलव ८८ प्रतिशत, बारेकोट गाउँपालिकाले ७६ करोड ६९ लाख ७१ हजारको लेखापरीक्षण गराएकोमा ३ करोड २९ लाख ८६ हजार बेरुजु देखिएको छ । भेरी नगरपालिकाले १ अर्ब २२ करोड ५८ लाख १७ हजारको लेखापरीक्षण गरेकोमा ३ करोड ४८ लाख १३ हजार, नलगाड नगरपालिकाले १ अर्ब ८ करोड २४ लाख ७ हजारको लेखापरीक्षण गराएकोमा २ करोड ७१ लाख ६५ हजार २ दशमलब ५१ प्रतिशत रुपियाँबेरुजु देखिएको हो ।
जाजरकोटका सातवटै पालिकामा गरिएको लेखापरीक्षणमा कुशे गाउँपालिकाको बेरुजु कम देखिएको छ । सो पालिकामा ८६ करोड ४४ लाख ३२ हजार बजेटको लेखापरीक्षण गरेकोमा २ करोड ३ लाख ३० हजार २ दशमलव ३५ प्रतिशत बेरुजु देखिएको छ । आर्थिक ऐन नियमावली विपरित भुक्तानी दिएको खर्चको पादर्शिता नराखेको, कागजजात बिल भरपाई नमिलेको नियमाबली विपरित खरिद भुक्तानी दिएको कारण जनाउँदै महालेखा परीक्षकको कार्यालयले बेरुजु निकालेको हो । बेरुजु रकम केही असुल उपर गर्नुपर्ने कोष तथा लेखा नियन्त्रकको कार्यालय जाजरकोटका निमित्त कोष नियन्त्रक राम शाहले बताउनुभयो ।