इन्जिनियरिङ कलेजको शुल्क विवाद, पढाइबाहेक अन्य शुल्क नलिन निर्देशन


ईश्वरराज ढकाल, काठमाडौं ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड–१९ को संक्रमण कायमै रहेको अवस्थामा इन्जिनियरिङ शिक्षा अध्ययन गर्ने विद्यार्थीसँग पढाइ शुल्कबाहेक अन्य शुल्क नलिन निर्देशन दिएको छ । मन्त्रालयले बुधबार इन्जिनियरिङ कलेज सञ्चालकसँग छलफल गरी अन्य शुल्क नलिन आग्रह गरेको हो । मन्त्रालयले सो विषयमा बिहीबार सात विश्वविद्यालयलाई उक्त निर्णय कार्यान्वयन गर्न पत्राचार गरेको छ ।

मन्त्रालयका सचिव रामप्रसाद थपलियाको अध्यक्षतामा बिहीबार बसेको बैठकमा संसद्को शिक्षा तथा स्वाथ्य समितिले ट्युसन शुल्कबाहेक अन्य शुल्क नलिन निर्देशन दिएको थियो । निर्देशनलगत्तै मन्त्रालयमा सरोकारवालासहितको बैठकमा सचिव थपलियाले पढाइ शुल्कबाहेक अन्य शुल्क नलिन आग्रह गर्नुभएको थियो । तर, कलेज सञ्चालकले सेमेस्टरको आधारमा शुल्क लिएको दाबी गरेपछि मन्त्रालयका सहसचिव एवं उच्च तथा प्राविधि शिक्षा महाशाखा प्रमुख डा. हरि लम्सालले त्यसो हो भने विद्यार्थीले आन्दोलन किन जारी राखेका छन् त भनी प्रश्न गर्नुभएको थियो ।

मन्त्रालयले जारी गरेको निर्देशनमा इन्जिनियरिङ कलेजको विवादित शुल्कको विषयमा कोभिड–१९ संक्रमण कायमै रहेको अवस्थामा अन्य क्रियाकलाप नभएकाले पढाइ शुल्कबाहेक अन्य शुल्क नलिन भनेको छ ।

मन्त्रालयले त्रिभुवन, काठमाडौं, पोखरा, पूर्वाञ्चल, लुम्बिनी बौद्ध, मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयलाई पत्र पठाएर निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको छ । निजी इन्जिनियरिङ कलेजहरुको संस्था एसोसियसन अफ इन्जिनियरिङ कलेज नेपाल (एकोन) का अध्यक्ष लक्ष्मण पोखरेलले खेलकुद, स्वागत, बिदाइ, होस्टल र ट्रान्सपोटेसनलगायत अतिरिक्त क्रियाकलाप शुल्कबापत एकमुष्ठ १० देखि १५ प्रतिशत छुट दिने व्यवस्था गरेको बताउँदै अनावश्यक शुल्क नलिएको बताउनुभयो । सेमेस्टरको एकमुष्ठ शुल्क लिने गरेको भए पनि हरेक सेमेस्टरमा १० देखि १५ प्रतिशत छुट दिने व्यवस्था गरेको जिकिर गर्दै उहाँले भन्नुभयो– ‘कोभिड संक्रमण जारी रहे पनि विश्वविद्यालयको नियमअनुसार प्रयोगात्मक अभ्यास गर्नुपर्ने र फिल्डमा जानैपर्ने भएकाले शुल्क लिएका हौं ।’

एकोनका महासचिव रमेश श्रेष्ठले विद्यार्थीलाई भार नपरोस् भनेर गएको वर्षअनुसार नै शुल्क लिने निर्णय गरेको जिकिर गर्दै विद्यार्थीलाई अन्याय नगरेको दाबी गर्नुभयो ।

कलेज सञ्चालकले सो विषयमा विद्यार्थीलाई जानकारी गराए पनि विद्यार्थीले हाललाई अनलाइन शुल्क मात्र लिन दबाब दिइरहेका छन् । विद्यार्थीले शुल्क नघटाएसम्म आन्दोलन जारी राख्ने जनाउँदै अधिकांश कलेजमा तालाबन्दी गरेका छन् ।

इन्जिनियरिङ अध्ययन संस्थान डीन कार्यालयले कात्तिक ३० गतेभित्र प्रयोगात्मक परीक्षा सकेर आन्तरिक मूल्यांकन नम्बर पठाउन निर्देशन दिइसकेको छ । अनलाइन कक्षा सकेर प्रयोगात्मक कक्षा शुरु हुनै लाग्दा शुल्कको विषयमा विवाद सिर्जना भएको कलेज सञ्चालकको आरोप छ । उनीहरुले मन्त्रालयसमक्ष आफूहरुले अनिवार्यरूपमा प्रयोगात्मक परीक्षा लिनैपर्ने र फिल्ड भिजिट गराउनुपर्ने भएकाले शुल्क घटाउन नसक्ने जिकिर गरेका छन् ।

संसद्को समितिले इन्जिनियरिङ कलेजहरुले अनलाइन कक्षा सञ्चालन गरेको भन्दै पूर्ण शुल्क लिएकोप्रति मन्त्रालयको ध्यानाकर्षण गराएको थियो । विगत एक महिनायता इन्जिनियरिङ कलेजका विद्यार्थीले शुल्क समायोजन गर्नुपर्ने भन्दै आन्दोलन गरिरहेका छन् । विशेष गरी त्रिवि इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गत एड्भान्स, काठफोर्ड इन्टरनेसनल, हिमालय, सगरमाथा, जनकपुर, ललितपुर, नेशनल, काठमाडौं र कान्तिपुर इन्जिनियरिङ कलेजमा शुल्क विवाद छ । अन्य विश्वविद्यालयअन्तर्गतका कलेजमा हाल प्रयोगात्मक अभ्यास शुल्कको विषय उठान नभएका कारण आन्दोलनको खासै असर परेको छैन ।

कोरोना महामारीको समयमा भर्चुअल माध्यमबाट पठनपाठन गराए पनि अन्य समयको जस्तै शुल्क उठाएपछि उनीहरु आन्दोलित भएका हुन् । विद्यार्थीले अधिकांश क्याम्पस प्रशासनमा तालाबन्दी गरेका छन् ।