नेपालको नयाँ दल सरकारमा सहभागी हुने


नेपाल समाचारपत्र, काठमाडौं ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले लोकतान्त्रिक गठबन्धनलाई बलियो बनाउन आफ्नो पार्टी सरकारमा जाने बताउनुभएको छ । नयाँ पार्टी दर्ता गरेपछि बिहीबार पत्रकार सम्मेलन गर्दै उहाँले आफूहरू हिजो पनि गठबन्धनमा सहभागी रहेका कारण सत्तारूढ गठबन्धनलाई बलियो बनाउन सरकारमा जाने बताउनुभएको हो ।

अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका क्रान्तिकारीहरुलाई निष्कासन गर्दै गएपछि बाध्य भएर नयाँ पार्टी बनाएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘पार्टी शिथिल मात्रै होइन, मृत प्रायः भयो, यो सबै अवस्था देखेपछि हामी नयाँ ढंगले जाने संकल्प गरेका हौँ ।’ विश्वको इतिहासमा समेत दक्षिणपन्थीहरुको ज्यादतीबाट विद्रोह गर्ने चलन रहेको बताउँदै उहाँले आफ्नो पार्टीमा देशभरका क्रान्तिकारी नेता कार्यकर्ता रहेको दाबी गर्नुभयो । ओलीबाट पीडित भएकाहरु नयाँ पार्टीमा आउने क्रम जारी रहेको पनि उहाँले बताउनुभयो ।

नेपालले एमाले अध्यक्ष ओलीले नवौं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएपछि पार्टी कब्जा गर्न खोजेको आरोप लगाउँदै पार्टीभित्रका क्रान्तिकारी कार्यकर्तालाई जोगाउन र कम्युनिस्ट आन्दोलन जोगाउन, लोकतन्त्र राष्ट्रिय स्वाधीनता र सुशासनको मान्यता लागू गर्न नयाँ पार्टी गठन गरेको बताउनुभयो ।

ओली अग्रगमनका बाधक र प्रतिगमनका बाहक रहेको निष्कर्षपछि आफूले कांग्रेस, माओवादी, जसपासँग छलफल गरेर नयाँ मोर्चा बनाएर ओलीलाई फाल्न सफल भएको पनि नेपालले बताउनुभयो ।

ओलीको अहंकार र व्यक्तिवादी व्यवहारका कारण एमालेमै रहन सक्ने अवस्था नरहेको बताउँदै उहाँले आफूलाई छाडेर जानेहरुले त्यस बेला नै नयाँ पार्टी दर्ता गराएको खुलासा गर्नुभयो । पार्टी दर्ता गर्न ढिलाइ भएको कारण खुलाउँदै उहाँले भन्नुभयो– ‘हाम्रो साथ छाडेका साथीहरुले त्यस बेला नै नयाँ पार्टी दर्ता गरिसकेका थिए । ठूलो पंक्तिले ओली समूहबाट विद्रोह गर्नुभएको छ । हामीले उति बेलै पार्टी खोल्न सक्थ्यौं । हामीले जनताबाट निर्वाचित भएका कार्यकर्ताको सुरक्षाका बारेमा सोच्नुपर्ने हुन्थ्यो, संघीय संसद्को हकमा सोच्नुपर्दथ्यो, त्यही कारणले नयाँ पार्टी दर्ता गर्न समय लाग्यो ।’