म केही गर्छुलाई छानिए एक सय १५ स्क्रिप्ट


राष्ट्रिय युवा संघ नेपालले आयोजनामा हुने म केही गर्छु शीर्षकको छोटो फिल्म स्पर्धामा एक सय १५ स्क्रिप्ट सहभागी भएको छ।
तीमध्ये एक सय आठ स्क्रिप्ट छनोट भएको छ। छनोट भएका स्क्रिप्टमा फिल्म बनाउनका लागि एकदिने ओरियन्टेसन कार्यक्रम गरिएको छ।

स्क्रिप्ट राइटर र फिल्म निर्माणका लागि स्क्रिप्ट पठाउनेका लागि युवा संघ नेपालले फिल्म क्षेत्रका विज्ञहरूलाई सहभागी गराएर ओरियन्टेसन गराएको हो। कार्यक्रममा निर्देशक मीनभाम, सिनेम्याटोग्राफर विष्णु कल्पित, नेपाल फिल्म कलेजका प्रिन्सिपल शिशिर उप्रेती, फिल्मअर्जुनदेव जोशीले सहभागीहरूलाई विविध ज्ञान दिए। कार्यक्रमको सहजीकरण चलचित्र पत्रकार संघ नेपालका महासचिव समीर बलामीले गरेका थिए।

निषेधाज्ञाका कारण घरमै बसिरहेका युवाको समयको सदुपयोगका लागि छोटो फिल्म स्पर्धामाआयोजना गरिएको राष्ट्रिय युवा संघ नेपाल उपाध्यक्ष क्षितिज थेवेले बताए। सहभागी स्क्रिप्टलाई निर्णायक समितिले मापदण्ड अनुसार छनोट गरेको हो। छानिएका स्क्रिप्टले उद्यमशीलता र रोजगार, पर्यटन, कृषितथा उद्योग, राजनीति र सुशासन, शिक्षा, स्वास्थ्य, खेलकुद, लैंगिक समानता र विविधता, कला संस्कृति र मनोरञ्जन लगायतका विषयमा बढीमा पाँच मिनेट सम्मको छोटा फिल्म बनाउनुपर्ने प्रावधान रहेको छ।

युवाहरूको प्रतिभा पहिचान, प्रस्फुटन र प्रवद्र्धन गर्ने उद्देश्य सहित यो प्रतियोगिताआयोजना हुन लागेको राष्ट्रिय युवा संघ नेपालले जनाएको छ। छोटो फिल्म निर्माण गरी बुझाइसके पछि निर्णायक समितिले उत्कृष्ट तीन फिल्म छान्नेछ।

छानिएका तीन फिल्म मध्ये प्रथम हुनेलाई २ लाख ५० हजार, द्वितीय हुनेलाई एक लाख ५० हजार र तृतीय हुने फिल्मलाई १ लाख रुपियाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएका छन्। उत्कृष्ट तीन सहित पाँच फिल्म एक समारोह बीच विशेष प्रदर्शनी गरिने आयोजक पक्षले जनाएको छ। प्रतियोगिताको नेपाल फिल्म एकेडेमी सह–आयोजक रहेको छ।