भिडियोमा काठमाडौं महानगरको गौरव गाथा


काठमाडौं महानगरको गौरव र गाथाको वर्णन गर्दै गाइएको गीत सार्वजनिक गरिएको छ।
काठमाडौं महानगर भित्रका आकर्षक, मौलिक, पुरातात्विक, धार्मिक महत्त्व बोकेका विभिन्न सत्तलमा खिचिएको गीत नेवारी भाषाको गीतझिगु महानगर अर्थात् हाम्रो महानगर म्युजिक भिडियो सहित हालै सिजिएस नामक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो। काठमाडौं महानगरपालिकाको सामाजिक विकास विभागद्वारा निर्मँण गरिएको गीत हास्य कलाकार एवं गायक यमन श्रेष्ठले रमाइलो ढंगले गाएका छन्। गीतमा राज भाइ जकमीको शब्द तथा हरिशरण सायमीको संगीत रहेको छ।

आम नागरिक समक्ष हाम्रो महानगरपालिका राम्रो महानगर पालिका भन्ने भावना पुर्‍याउनका लागि गीत र त्यसको म्युजिक भिडियो निर्माण गरिएको काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले बताए। करिब साढे आठ लाखको लागतमा निर्माण गरिएको म्युजिक भिडियो धरहरा, रानीपोखरी, बौद्ध, स्वयम्भू लगायतका ऐतिहासिक स्थानमा छायांकन गरिएको छ।

अभिनेता तथा निर्देशक विनोद केसीको निर्देशन रहेको म्युजिक भिडियोमा देशका एकसे एक ख्याति प्राप्त कलाकारहरूले काठमाडौं महानगरको बयान गरेका छन्। म्युजिक भिडियोमा ख्याति प्रापत कलाकारहरु मदनकृष्ण श्रेष्ठ, हरिवशं आचार्य, सुनील थापा, किरण केसी ‘रातामकै’, राजा राम पौडेल, विनोद केसी, यमन श्रेष्ठ लगायतले अभिनय गरेका छन्।
सुदिन मुनिकार र ऋतु दर्शन धारीको कोरियाग्राफी रहेको म्युजिक भिडियोमा गौरीशंकर धुजुको छायांकन निर्देशन, करण चैसिरको छायांकन र मनोज कार्कीको सम्पादन रहेको छ। भिडियोमा नृत्य बज्र कला कुञ्जको छ।