यात्रुबस दुर्घटनामा २ को मृत्यु, ४० घाइते


सिन्धुपाल्चोक, (नेस) ।

सिन्धुपाल्चोकको सुकुटे–ठोकर्पा सडकखण्डमा यात्रुबस दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य दर्जनौं घाइते भएका छन् ।

लिसंखुबाट बाफल–ठोकर्पा–कालिका हुँदै काठमाडौं जाँदै गरेको बा३ख ८०३० नम्बरको यात्रुवाहक बस कालिकास्थित छाप भन्ने ठाउँमा दुर्घटना हुँदा ललितपुर ठूलोदुलुङका ४० वर्षीय राजन वतन र अन्दाजी २२ वर्षका अर्का एक पुरुषको मृत्यु भएको हो । बुधबार अबेरसम्म मृतक २२ वर्षीय पुरुषको सनाखत हुन सकेको छैन ।

दुर्घटनामा परी ४० जना घाइते भएका छन् । दिउँसो मध्याह्नको समयमा बस खसेपछि स्थानीयबासी, प्रहरी तथा जनप्रतिनिधिहरु उद्धारमा जुटेका थिए । ‘दुई जनालाई बसले थिचेको थियो, उहाँहरुलाई बचाउन सकिएन ।’ –दुर्घटनाका प्रत्यक्षदर्शी सुनकोसी गाउँपालिका–३ का वडाध्यक्ष रामहरि खड्काले भन्नुभयो ।

दुर्घटनामा परी घाइतेहरुको तत्काल उद्धार गरी खाडीचौरस्थित सिन्धु सदावहार अस्पताल र गम्भीर घाइतेहरुलाई धुलिखेल अस्पताल लगिएको छ । घाइतेमध्ये १९ जनालाई उपचारका लागि सिन्धु सदावहार अस्पताल र २० जनालाई धुलिखेल अस्पतालमा लगिएको छ ।

अर्का एक जनाको मध्यपुर ठिमी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो । ओरालो बाटोको घुम्तीमा ब्रेक नलागेर दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।