स्रोत नखुलेका साढे ८६ लाख रुपियाँसहित ३ पक्राउ


काठमाडौं, (नेस) ।

स्रोत नखुलेको ८५ लाख ५६ हजार रुपियाँसहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं चण्डोल बस्ने बारा सिमरा उपमहानगरपालिका–२ घर भएका लक्ष्मण पौडेल, काठमाडौं महानगरपालिका–२४ फसिकेबस्थित होलिडे ट्रेडिङ प्राइभेट लिमिटेडका सञ्चालक रिन्कु भन्ने अभिषेक अग्रवाल र सोही कम्पनीमा काम गर्ने काठमाडौं कपन बस्ने काभ्रे पाँचखाल नगरपालिका–१३ घर भएका मधुसूदन त्रिपाठी रहेका छन् ।

महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले पौडेललाई काठमाडौं महानगरपालिका–२२ खिचापोखरीबाट नगद ३१ लाख रुपियाँसहित पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा उक्त नगद पौडेललाई अग्रवालले दिएको खुलेपश्चात् अग्रवालको प्रहरीले उक्त कम्पनीमा तलासी लिँदा थप ५४ लाख ५६ हजार रुपियाँ फेला पारको हो ।

पक्राउ परेकाहरुलाई थप अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग पुल्चोक पठाइएको प्रहरीले जनाएको छ ।