कोरोनासँगै जीवन



विश्वमा कोरोनाका कारण करिब ४५ लाख नागरिकले जीवन गुमाइसकेका छन् । नेपालबाहिर रहेका व्यक्तिको समेत हिसाब गर्दा जीवन गुमाउने नेपालीको संख्या ११ हजार नजिक पुगेको छ । सात लाख ५१ हजार कोरोनाका केस नेपालको अभिलेखमा आइसकेको छ भने सात लाखमाथि निको भएको संख्या छ । विश्वमा प्रभावित २१ करोड व्यक्तिमध्ये २० करोडले कोरोनामाथि विजय प्राप्त गरेका छन् । यसरी हेर्दा विश्वसँगै नेपाल पनि कोरोनासँग अभ्यस्त हुन लागेको देखिन्छ । बुधबार मात्र ४४ जनाको मृत्यु र संक्रमित २ हजार ५ सय रहेको तथ्यांक हेर्दा कोरोनाको त्रास कायम रहेको पुष्टि हुन्छ, तर बिस्तारै तारे होटेलहरूमा स्वास्थ्य सुरक्षाका प्रावधानहरूको सम्मान गर्दै कार्यक्रम हुनथालेको घटनाले पनि कोरोनाका साथ बाँच्ने अभ्यास बढेकै पुष्टि हुन्छ ।

मुलुकमा पछिल्लोपटक लकडाउन खुकुलो बनाइएपछि कोरोना संक्रमितको संख्या बढेर दैनिक पाँच हजार निकट पुगेको र मृतक औसत ३० रहेको अवस्थालाई देखाएर पुनः बन्दाबन्दीतिर फर्किने कि अन्य विकल्प रोज्ने भन्ने बहस पनि अब पातलिएको छ । बन्दाबन्दीले गरिब नेपालीलाई अझ गरिब बनाउने र राज्यले राहत प्याकेज दिन नसक्ने अवस्थामा कोरोनासँगै जीवन अघि बढाउने विकल्प रोज्नु तुलनात्मक रूपमा व्यावहारिक पनि हुने धेरैतिरबाट सुझाव आइरहेको छ । व्यापार–व्यवसायलगायतका आर्थिक गतिविधि र पठनपाठन तथा कार्यालय सञ्चालन आदि गतिविधि रोकेर मुलुकलाई ठप्प पार्दै संक्रमितको परिमाण घटाउने विकल्प प्रत्युत्पादक भएकाले र पछिल्लो समय मुलुकमा उल्लेख्य संख्यामा खोप पनि भित्रिएकाले खोप अनिवार्य गर्ने तर ‘लकडाउन’ नगर्ने नीति लिनु सर्वपक्षीय हितकर मानिएको छ । कोरोना संक्रमणको प्रारम्भिक कालमा केही महिनासम्म नेपाल कोरोनाबाट सुरक्षित रहेको थियो, तत्कालीन सरकारले ‘कोरोनामुक्त मुलुक’ भन्दै पर्यटकलाई आकर्षित गर्ने प्रयास पनि गरेको थियो, तर अहिले मृतकको संख्या देशभित्र मात्र १० हजार ५ सय भएको अवस्था छ । नेपालले आइसोलेसन, प्रचार–प्रसार, कन्ट्याक्ट ट्रेसिङलगायतका विभिन्न विधि नअपनाएको होइन, तर छिमेकी भारतसँगको खुला सिमाना र अन्तर्राष्ट्रिय उडानको व्यवस्थापनमा सरकार चुक्यो । परिणामस्वरूप कोभिड संक्रमण समुदायस्तरमा फैलिँदै आजसम्ममा यसले ठूलो क्षति पु¥याइसकेको छ । हामीकहाँ, राजनीतिक दल र खासगरी सत्ताधारी पार्टी नै सर्वाधिक लापर्बाही भएका कारण आम व्यक्तिमा जे गरे पनि हुन्छ भन्ने लापर्बाही सिर्जना भयो र संक्रमणको असर व्यापक भयो । विश्वका धेरै मुलुकमा यतिखेर कोरोनाविरुद्धको खोप लगाउने तर सुरक्षित रहेर दैनिक कार्यमा सहभागी हुने नीति अपनाइएको छ । छिमेकी भारतमा पनि यसै गरिएको छ ।

अन्तर्राष्ट्रिय सिमानाहरू पनि सावधानीपूर्वक खुल्ने र बन्द हुनेक्रम चलिरहेको छ । विश्वमै लामो सिमाना मानिने अमेरिका र क्यानडाले पनि आवागमन केही समय खुला गरेर पुनः नियन्त्रण गरेका छन् र पुनः खोल्ने तयारीमा छन् । कोरोनाविरुद्धको खोप यतिखेर अन्तर्राष्ट्रिय यात्राका लागि आधारभूत मानिएको छ । यसै गरी कार्यालयमा जागिर गर्ने र कलेजमा पढ्नेहो वा जाँच दिनेहो भने खोप लगाएको कागज देखाउनुपर्ने प्रावधान लागू गर्न थालिएको छ । यसर्थ, बन्दाबन्दीको विकल्प कम्तीमा नेपालजस्तो अल्पविकसित मुलुकका लागि हितकर नहुने प्रमाणित भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्