कर नतिर्नेका ढोकामा महानगरको माइकिङ, कर नतिरे २४ गतेदेखि सेवा बन्द

नाम सार्वजनिक भएका ७५ मध्ये २० को कर तिर्ने लिखित प्रतिवद्धता १० बाट आशिक कर भुक्तानी

10.8k
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

घरजग्गा र सम्पत्ति कर नबुझाउने ७ ठूला करदाताको ढोकामा पुगेर महानगरले आज सेवा रोक्का गर्ने सूचना टाँसेको छ । महानगरको राजस्व विभागले २४ गतेभित्र कर नतिरे त्यसपछि सेवा रोक्का गर्ने सूचना टाँस गरेको हो । यस अघि कर तिर्न आउन असार १६ गते पहिलो पटक २३ व्यक्ति/व्यवसायीको र साउन २४ गते दोस्रो पटक ५२ व्यक्ति÷व्यवसायीको नाम सार्वजनिक गरेको थियो ।

राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीकाअनुसार नाम सार्वजनिक भएका ७५ मध्ये अहिलेसम्ममा १० जनाले आंशिक रुपमा तिरेका २ करोड ४९ लाख रुपैयाँ राजस्व संकलन भएको छ । यसैगरी २० जनाले विवरणसहित कर बुझाउन आउने प्रतिवद्धता गरेका छन् । नाम सार्वजनिक भएका तर सम्पर्कमा नआउनेहरु सन्दर्भमा भदौ २४ देखि प्रचलित कानुनबमोजिमको कारवाही सुरु हुनेछ ।

आज सूचना टाँस भएका व्यवसायहरुमा वडा १ को कान्तिपुर होटल, वडा १३ को होटल प्लाटिनियम, वडा १७ को ह्वाइट फिल स्कूल, २२ का रञ्जना टे«ड सेन्टर, केशा प्रपर्टीज प्रा. लि., आर. वी. कम्प्लेक्स र वडा ३१ को शिशु अर्याल रहेका छन् ।

राजस्व अधिकृत प्रदीप कोइरालाको नेतृत्वमा गएको टोलीमा नगर प्रहरी र महिला नौमती श्रमिक सहकारी समूहका सदस्यहरु सहभागी हुनुहुन्थ्यो । करदाताकोमा पुगेपछि नगर प्रहरीको टोलीले भदौ २४ गतेभित्र राजस्व विभागमा सम्पर्क गर्न आउने सूचना पढेर सुनाएको थियो ।

यसैगरी महिला सहकारीको टोलीले पञ्चेबाजामा गीतमार्फत कर तिर्न आउन अनुरोध गरेको थियो । जागरणका लागि गाइएको गीत यस्तो थियो ।

महिला बाजा नमान्नु भारी
कर तिर्दिए हुनेथ्यौँ आभारी