न्युरोड र नयाँ बजारका करदाताको घर-आँगनमा पञ्चेबाजासहित नाचगान


न्युज अफ नेपाल, काठमाडौँ ।

तिर्नुपर्ने घरजग्गा/सम्पत्ति कर लगायत तिर्न अटेर गर्ने करदातालाई करतिर्न रचनात्मक दबाब दिने उदेश्यले काठमाडौं महानगरपालिकालले पञ्चेबाजासहित उनीहरुको घर आँगन र कार्यालय परिसरमा चेतनामुलक कार्यक्रमलाई आज पनि निरन्तरता दिने भएको छ ।

घरजग्गा/सम्पत्ति कर लगायत तिर्न अटेर गर्ने ५२ करदातालाई ३० दिने सूचना दिएर नाम सार्वजनिक गरेको महानगरपालिकाले सूचना निकाल्दा पनि अटेर गरेपछि यो चेताना मूलक अभियान सञ्चालन गरेको जानकारी दिएको छ । ‘हामीले पटक–पटक सूचना निकालेर करदातालाई कर बुझाउन आग्रह गरेका हौँ,’ काठमाडौँ महानगरपालिकाका राजस्व विभाग प्रमुख डा। शिवराज अधिकारीले भन्नुभयो, ‘हाम्रो आग्रह र सार्वजनिक सूचनालाई समेत अटेर गरेपछि हामी बाध्य भएर करदाताको कार्यालय तथा घर–आँगन परिसरमा पञ्चेबाजासहित कर बुझाउन चेतनामूलक कार्यक्रम गर्न बाध्य भएका हौँ ।’ उहाँले आज नयाँबजार, न्युरोड, दरबारमार्ग लगायतका स्थानका करदाताको कार्यालय परिसरमा पञ्चेबाजासहितको अभियान सञ्चालन गर्ने जानकारी दिनुभयो ।

अधिकारीले कर बुझाउन आग्रहसहित असार १६ र साउन २४ मा सार्वजनिक सूचना प्रकाशित गर्दा समेत अटेर गरेपछि आजबाट कान्तिपुर होटल, शिशु अर्याल, होटल प्लाटिनियम, ह्वाइट फिल्ड स्कुल, रञ्जना ट्रेड सेन्टर, केशा पोपट्रिज प्राली, आरवी कम्प्लेक्सलगायतका स्थानमा आज पञ्जेबाजासहितको अभियान सञ्चालन गर्ने तयारी गरेको छ । ‘दोस्रो पटक सूचना निकालेको पनि करीब एक महिना पुग्न लाग्दा समेत उहाँहरुले सम्पर्क गर्न नचाहेपछि हामी रचनात्मक ढंगले करदातालाई कर तिर्न नैतिक दबाब दिने अभियान सञ्चालन गर्न बाध्य भएका हौँ,’ अधिकारीले भन्नुभयो, ‘मौलिक बाजासहित समयमै कर तिरौँ, असल नागरिकको परिचय दिऔँ’ भन्ने नाराको व्यानरसहित महिलाहरुको सूमहले पञ्चेबाजा बजाएर नाचगान गरेपछि महानगरपालिकाले माइकिङ गरेर कर तिर्न आह्वान गर्छ ।’

नाम सार्वजनिक गरिएका करदाताले करको विवरण, कर र जरिवाना नबुझाए भदौ २४ देखि सेवा बन्द गर्ने, सम्पत्ति रोक्का गर्नेलगायतका कानुनी प्रक्रियाबाट सरकारी बाँकीसरह कर असुल गर्ने पनि अधिकारीले जानकारी दिनुभयो । उहाँले यो अभियानसँगै कर बुझाउनुपर्छ भन्ने चेतना करदातामा बढेको बताउनुभयो । ‘लामो समयदेखि कर नतिर्ने करदाता पनि यो अभियानपछि हाम्रो सम्पर्कमा आउनु भएको छ,’ उहाँले भन्नुभयो, ‘यो खुशीको कुरा हो ।’