ओलीको अहंकारले पार्टीलाई गम्भीर असर : खतिवडा


रोशन पराजुली, हेटौंडा ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका चर्का आलोचक मध्येका एक मकवानपुरका सांसद् विरोध खतिवडाले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको अहंकार, दम्भ, घमण्ड अनि ‘आफैं राज्य–आफैं शासक’ भन्ने चिन्तनका कारण पार्टीलाई गम्भीर असर पारेको बताउनुभएको छ ।

उहाँले आफूहरुले पटकपटक नेकपा एमालेको एकतालाई अक्षुण्ण राख्न प्रयास गरे पनि सबै खेर गएको भन्दै ओलीले भाँजो हाल्ने र ढाँट्ने गरिरहेको आरोप लगाउनुभयो । गृहनगर हेटौंडामा भेटिनुभएका उहाँले न्युज अफ नेपालसँग भन्नुभयो–त्यसैले हामी नेकपा (एकीकृत समाजवादी) बनाउने दिशामा अघि बढ्यौं ।

कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेपछि उहाँ पहिलोपटक गृहजिल्ला मकवानपुर आएर राजनीतिक छलफलमा व्यस्त रहनुभयो । ओलीविरुद्ध हस्ताक्षर गर्नेमध्येका सशक्त पात्र उहाँले भन्नुभयो–केपी ओली नेकपाको नेता भन्दा पनि गुटको नेता र नेकपामात्र हुँदा पनि गुटको मात्र नेतृत्व गर्नुभयो । तर, एमालेको नेता पनि बन्न सक्नुभएन । उहाँलाई शक्तिमा सिंगो देशको एमाले कार्यकर्ताहरुले पठाएका हुन् । तर, सिंगो पार्टीको नेता हुँ भन्ने मानसिकता उहाँमा कहिल्यै पनि आएन । उहाँमा म नै सबथोक हुँ भन्ने घमण्डका कारण यो अवस्था आएको हो । अध्यक्ष ओलीको अहंकार र घमण्डले पार्टी फुटेको हो ।

‘उहाँले नेकपा हुँदा पुस ५ गते पार्टीसँग सल्लाह नगरी संसद् भंग गर्नुभयो । फागुन २८ गते १५ दिन पनि नकुरी फेरि माओवादीसँग पार्टी मिलेर जानुपर्छ भन्ने बैठक राख्नुभयो,’ उहाँले थप्नुभयो–माधव पक्षका कसैलाई खबर नगरी गुटका हनुमानहरुसँग बैठक गर्नुभयो । माधव पक्षलाई एमालेमा ढोका बन्द छ भनेर बेइमानी गर्नुभयो । त्यहाँबाट ओली पार्टी एकता चाहँदैनन् भन्ने पुष्टि भयो ।

ओलीप्रति कटाक्ष गर्दै आउनुभएका खतिवडाले भन्नुभयो–दास, हनुमान र जयजयकार गर्नेहरु मात्र केपी ओलीको नेतृत्वमा बस्न सक्ने भए । व्यक्तिको जयजयकार गर्ने कम्युनिष्ट पार्टीको संस्कारविपरीत नेकपा एमाले जिन्दाबाद, केपी ओली जिन्दाबाद, आईएम विथ केपी ओली भन्न लगाए । यो ठाडै कम्युनिष्ट संस्कार र आचरणविपरीत कार्य हो । हाम्रा पुराना साथीहरु कसैको दास बन्न सक्नुहुन्न, जयजयकार गर्न सक्नुहुन्न । मनमोन अधिकारी, मदन भण्डारी, पुष्पलाललगायत नेताले कहिल्यै जिन्दाबाद भन्न लगाएनन् । यस ढंगबाट पार्टीलाई अगाडि बढाउन थालेपछि बाध्य भएर अलगढंगले जानुपर्ने स्थिति सिर्जना भयो ।

‘नयाँ पार्टी बनाउने भनेर लागिपर्दा के देखिन्छ भविष्य ? ’ भन्ने प्रश्नमा उहाँले भन्नुभयो–पहिला हामी बाममोर्चा बनाएर जान्छौं । माओवादी, उपेन्द्र यादब, वैद्य, जनमोर्चा र आवश्यक पर्दा विप्लवहरुसँग पनि वार्ता भइरहेको छ । बृहत् बाम गठबन्धन बनाएर हामी अगाडि बढ्छौं । पार्टी फुटको इतिहास नराम्रो छ भन्ने कुरा सत्य हो । पार्टीमा टुटफुट भइरहन्छ । त्यसबाट गुज्रिँदै अगाडि बढेको इतिहास छ ।

‘केपी ओलीले कम्युनिष्ट आन्दोलनलाई दक्षिणपन्थी धारमा बिसर्जन गर्दै लगेका छन् । ओलीलाई छिसिक्क छोयो भने कमल थापा दुख्यो भनेर कराउँछन्,’ खतिवडाले भन्नुभयो–ओलीलाई काँडा बिझ्यो भने कमल थापा ऐया भनेर कराउँछन् । ओली, राप्रपासँग मिलेर कम्युनिष्ट मतदातालाई गाई धपाउँदै एउटा काँधमा हलो र अर्को काँधमा सूर्य बोकेर हिँडाउने मनसायमा छन् ।

कमल थापासँग ओलीको मायाप्रेम बढ्दै गएको घटनाबाट बुझ्नुपर्ने भन्दै उहाँले भन्नुभयो–जसले राजतन्त्र फिर्ता ल्याउनुपर्छ भन्छन्, जसले घोषणापत्रमै धर्मको विषयमा लेखेका छन्, त्यो पार्टीमा बस्नु भनेको अनिवार्यरुपमा पतन हुनु हो । त्यसैले अहिलेको विद्रोह भनेको कम्युनिष्ट पार्टीलाई जोगाउनु हो । पार्टी किन विभाजित भयो भनेर सबैले अध्ययन/मनन् गर्नुपर्छ । कम्युनिष्ट बन्नु भनेको दास बन्नु होइन । विचार र सिद्धान्तका लागि फुट पनि प्रिय हुन्छ ।

१० बुँदेसहित पार्टी एकताको प्रसंगमा उहाँले भन्नुभयो–ओलीका नजिकका मान्छे भनिएका सुवास नेम्वाङ र विष्णु पौडेलहरुलाई गरेको वाचा त केपी ओलीले भुल्नुभयो । यसरी आफ्ना, अर्का सबैलाई धोका दिने ओलीबाट पार्टी एकता हुन्छ ? उहाँ सुध्रनुहुन्छ कि भनेर हेर्‍यौं । तर, पार्टी चलाउन नसक्ने, एउटा गुट चलाउने उहाँ सुध्रिनुभएन ।मकवानपुर क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभामा निर्वाचित खतिवडा हाल प्रस्तावित नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य हुनुहुन्छ ।