उपकरण किनियो, पूर्वाधार बनेन


कविराज नेपाल, पाल्पा ।

कोरोना कहर बढ्दै जाँदा बिरामीलाई अत्यावश्यक पर्ने अक्सिजन उत्पादनका लागि चाहिने अक्सिजन उपकरण (प्लान्ट) राख्ने पूर्वाधारको अभावमा पाल्पामा सञ्चालनमा ल्याउने भनिएको उक्त प्लान्ट सञ्चालनमा आउन सकेको छैन । मेसिन किनेको चार महिना भए पनि त्यसलाई राख्ने ठाउँ नै नबनेका कारण अक्सिजन प्लान्ट सञ्चालनमा आउन नसकेको हो ।

पाल्पा अस्पतालले अर्थ मन्त्रालयबाट अक्सिजन प्लान्ट सञ्चालन गर्न बजेट सहमति पाएपछि नै आवश्यक उपकरण खरिद गरेको थियो । तर, अक्सिजन उत्पादन गर्ने मेसिन राख्ने स्थल बनाउन रकम अभाव हुँदा अक्सिजन प्लान्ट सञ्चालन गर्न ढिलाइ भएको पाल्पा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जगदीश कुँवरले बताउनुभयो । ‘अक्सिजन उत्पादन गर्ने आवश्यक उपकरण आएको एक महिना भइसकेको छ’, उहाँ भन्नुहुन्छ– ‘तर, उक्त उपकरण राख्ने पूर्वाधार (घर) बनाउन ढिलाइ भएको छ ।’

संघीय सरकार मातहत अर्थ मन्त्रालयले गत जेठ ४ गते नै अक्सिजन प्लान्ट सञ्चालनका लागि १ करोड ५० लाख बजेट स्वीकृत गरेको थियो । तर, सरकारले बजेट स्वीकृत गरेको चार महिना बित्न लाग्दासमेत प्लान्ट राख्ने भौतिक संरचना अहिलेसम्म पनि पूरा हुन सकेको छैन ।

मेसिन राख्ने स्थल निर्माणको ५० प्रतिशत काम सकिए पनि रकम अभावले उपभोक्ता समितिले काम अगाडि बढाउन नसकेको डा. कुँवरले जनाकारी दिनुभयो । मेसु कुँवरका अनुसार प्लान्ट मेसिन किन्नका लागि बजेट त आयो तर त्योे राख्नका लागि चाहिने पूर्वाधार निर्माणका लागि बजेट आउनुपर्नेमा ढिलाइ हुँदा चार महिनामा पनि प्लान्ट सञ्चालन हुन नसकेको हो ।

कोरोना सङ्क्रमणको दोस्रो लहरका बेला जिल्लामा अक्सिजन अभाव भएपछि सरकारले पाल्पा अस्पताल मातहत अक्सिजन प्लान्ट सञ्चालन गर्ने निर्णय गरेको थियो । लगत्तै पाल्पा अस्पताललाई डेढ करोड बजेटको सहमति समेत दिएको थियो । अक्सिजन प्लान्ट सञ्चालनमा आए दैनिक ५० देखि एक सयसम्म सिलिन्डर अक्सिजन उत्पादन हुने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नेत्रप्रसाद पाण्डेय बताउनुहुन्छ । अक्सिजन प्लान्ट सञ्चालन गर्न पाल्पा अस्पतालकै छेउमा २६ लाख लागतमा मेसिन राख्ने पूर्वाधार बन्दै गरेको छ । तर, उक्त पूर्वाधार निर्माण गर्न हालसम्म पनि कुनै निकायबाट रकम नआएको उहाँको भनाइ छ ।

पूर्वाधार बनाउन तानसेन नगरपालिका मातहत उपभोक्ता समिति गठन गरिएको छ । रकम नआए पनि हाललाई रकम आउने आसमा ५० प्रतिशत बढी काम गरिसकिएको उपभोक्ता समितिका अध्यक्ष नवराज बस्यालले बताउनुभयो । ‘अक्सिजन प्लान्ट राख्न घर बनाउन रकम नआए पनि अत्यावश्यक भएकाले काम रोकेका छैनौं’, उहाँले भन्नुभयो– ‘मजदुरलाई रकम दिन नसकेपछि काममा ढिलाइ भएको हो ।’

पाल्पामा चारवटा ठूला अस्पताल भए पनि लुम्बिनी मेडिकल कलेजमा बाहेक अन्त अक्सिजन उत्पादन गर्ने प्लान्ट छैन । कलेजमा भएको प्लान्टले समेत दैनिक १५/२० सिलिन्डर मात्रै अक्सिजन उत्पादन गर्ने गरेको अस्पतालले जनाएको छ । मेसिन सञ्चालनमा आएमा पाल्पालगायत आसपासका छिमेकी जिल्लाका बिरामीले समेत सेवा पाउने अपेक्षा गरिएको छ ।