चिकित्सा शिक्षा आयोगको नतिजा सच्याउन माग, ६० कलेज बन्द गरी साँचो बुझाइयो


पुष्कर बुढाथोकी, भक्तपुर ।

चिकित्सा शिक्षा आयोगले पारा मेडिकलको स्नातक तहतर्फको नतिजामा सुनियोजित ढंगले कोटाभन्दा कम विद्यार्थी उत्तीर्ण गराएको र विद्यार्थी नपाएको भन्दै स्वास्थ्य विज्ञान शिक्षालय संघ (एसिया), पूर्वाञ्चल विश्वविद्यालयसहित ३ संघसंगठनले आयोगलाई आफू मातहतका कलेजको साँचो बुझाएका छन् ।

एसियाका अध्यक्ष यामप्रसाद अधिकारी, कलेज संघ त्रिभुवन विश्वविद्यालयका अध्यक्ष जीवन प्रकाश शर्मा र ओपन (पोखरा विश्वविद्यालय) का अध्यक्ष नवराज पाण्डे नेतृत्वको टोलीले आयोगका उपसचिव तथा सूचना अधिकारी सेमन्तराज कोइरालालाई ६० वटा कलेज बन्द गरी उक्त कलेजका साँचो बुझाएका हुन् ।

आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरी अनुपस्थित भएपछि साँचो उपसचिव कोइरालालाई बुझाइएको एसियाका अध्यक्ष अधिकारीले बताउनुभयो । साँचो बुझ्दै आयोगका उपसचिव कोइरालाले आफू साँचो ग्रहण गर्ने माध्यम मात्र भएको बताउँदै उहाँहरूका माग आयोग नेतृत्वसमक्ष पुर्‍याउने बताउनुभयो ।

आयोगका उपाध्यक्षलाई सम्बोधन गर्दै साँचो बुझिदिन लेखिएको ध्यानाकर्षणपत्रमा शैक्षिक सत्र २०७७/२०७८ मा आयोगले लिएको प्यारामेडिक्सको प्रवेश परीक्षामा विभिन्न विश्वविद्यालयले अपनाउने प्रवेश परीक्षाको विधिअनुसार न्यूनतम ३५ प्रतिशत उत्तीर्ण ल्याएका विद्यार्थीलाई योग्यताक्रम मेरिट बेसिसका आधारमा विद्यार्थी भर्ना गर्ने व्यवस्था मिलाउन माग गरिएको छ ।

यसै गरी कोभिड–१९ को महामारी र एउटै ऐनबाट स्थापित तथा एउटै विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सरकारी र निजी कलेजहरूमा सिट निर्धारण गर्दा सरकारी कलेजमा सिट यथावत् राखी निजीको सिट शून्य गरिएकोमा अबिलम्ब सिट निर्धारण गरिदिन अनुरोध गरेको छ ।

आयोगले लिएको प्रवेश परीक्षामा चिकित्सा शिक्षा संकायअन्तर्गतका उत्तीर्ण विद्यार्थी सोही संकायअन्तर्गतका अन्य विषयमा भर्ना हुने गरी कार्यविधिमा सच्याउनसमेत माग गरिएको छ ।

एसियाका अध्यक्ष अधिकारीले स्वास्थ्य शिक्षातर्फका कलेजहरू चिकित्सा शिक्षा ऐन आएपछि बन्द हुने अवस्थामा पुगेको भन्दै निजीस्तरबाट सञ्चालित कलेजमा विद्यार्थी नदिई सुनियोजित ढंगबाट बन्द गर्ने षड्यन्त्र गरिएको बताउनुभयो । उहाँले शुल्क निर्धारण आयोगले गर्ने, अनुगमन गर्ने, सिट निर्धारण गर्ने तथा प्रवेश परीक्षा आयोगले लिने तर आयोगले निर्धारण गरेको सिट संख्या पुग्ने गरी प्रवेश परीक्षामा विद्यार्थी उत्तीर्ण नगराई सबै निजी कलेजमा विद्यार्थी नदिई सुनियोजित ढंगबाट कलेज बन्द गर्ने षड्यन्त्र गरिएको बताउनुभयो ।

संघसंगठनले चिकित्सा शिक्षा ऐन र नियमावलीमा कहीं पनि प्रवेश परीक्षामा उत्तीर्ण प्रतिशत उल्लेख नभएको अवस्थामा प्रवेश परीक्षा समितिका नाममा स्वविवेकीय सोचबाट, प्रवेश परीक्षा दिने विद्यार्थीले भने अनुसार कठिन प्रश्नपत्र बनाई ५० प्रतिशत ल्याउन बाध्यकारी कार्यविधि बनाई लगभग सबै विद्यार्थी अनुत्तीर्ण गराउने काम आयोगबाट भएको ठहर गरेका छन् ।

अधिकारीले आयोगमा कोटाभन्दा कम विद्यार्थी उत्तीर्ण गराएकाले आयोगले नतिजालाई पुनः विचार गर्नुपर्ने बताउनुभयो । उहाँले कोटाअनुसार विद्यार्र्थी नहुँदा आफूहरूलाई कलेज सञ्चालन गर्नसमेत समस्या परेको बताउनुभयो ।

यसअघि त्रिवि, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयले आ–आफ्ना कलेजलाई मेडिकल शिक्षाका लागि प्रवेश परीक्षा दिने गरेका थिए ।

प्रवेश परीक्षाका कम नम्बर ल्याएकै आधारमा मात्र माथिल्लो कक्षा पढ्न नपाउने कुरा व्यावहारिक नहुने उनीहरूको ठहर छ ।

आयोगले लिएको परीक्षामा कोटाभन्दा दुई हजार १८५ जना कम परीक्षार्थी उत्तीर्ण भएका थिए । ती विषयमा चार हजार ६८ कोटा भए पनि एक हजार ८ सय ८३ मात्र परीक्षार्थी उत्तीर्ण भएका थिए । बीपीएचमा एक हजार ४२० कोटामा ५६५, बीएस्सी नर्सिङ एक हजार १०० मा ५०४, बी फार्मेसीमा ९०२ कोटामा ५४७ जना मात्रै उत्तीर्ण भएका थिए ।

यस्तै, फिजियोथेरापी बीपीटीमा १५० जनाको कोटामा ११४, बीएस्सी एमआईटी रेडियोग्राफीमा ७१ जना कोटामा ३५, बीएस्सी एमएलटी ४२५ कोटामा ११८ जना मात्रै उत्तीर्ण भएका छन् ।