मध्यमार्गीको असफलता



लोकतन्त्र, मानव अधिकार र समावेशी अवधारणाको विकासका लागि मध्यमार्गी सोच आवश्यक हुन्छ । दुई विभिन्न अतिवादी सोचलाई मिलाउनका लागि मध्यमार्गमा लागेका समुदायको भूमिका आवश्यक हुन्छ । विगतमा दरबार र माओवादी विद्रोही समूहलाई मिलाउन नेकपा एमाले, नेपाली कांग्रेस लगायतका दलहरूले प्रारम्भिक कालमा मध्यमार्गी बाटो अवलम्बन गरेका कारण समस्या समाधानतर्फ उन्मुख भएको थियो, हत्या–हिंसा रोकिएको थियो।

विभाजन र द्वन्द्वका बेला मध्यमार्गीको जीत नै दुवै ध्रुवमा विभाजित शक्तिको पनि जीत हुनेगर्दछ । तर, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई विभाजनबाट जोगाउन मध्यमार्गी धारका नेताहरू यतिबेला असफल भएका छन् । अन्ततः पार्टी विभाजनले वैधानिकता पाउने भएको छ । नीति र सिद्धान्तभन्दा पनि व्यक्तिगत टकरावका कारण विभाजन उन्मुख रहेको एमालेको अबको भविष्य के हुने भन्ने अन्योल देखिएको छ । क्षणिक स्वार्थपूर्तिमा नेताहरू लाग्दा पार्टीका इमान्दार कार्यकर्ताहरू भने पलायन हुने खतरा बढ्दै गएको छ । एमालेका दुई नेताको व्यक्तिगत टकरावले पार्टी विभाजन भएपछि आम कार्यकर्ताले कम्युनिस्ट विचारधाराप्रति नै प्रश्न उठाउन थालेका छन् । कम्युनिस्टहरू विचारको होइन व्यक्तिगत लेनदेनका कारण विभाजन हुने हो भने नेपालमा अबका दिनमा कम्युनिस्ट पार्टीहरू पतनको बाटोमा जाने निश्चित देखिन्छ ।

गाउँ तहमा विभिन्न झमेला ब्यहोरेर पार्टीलाई अगाडि बढाएका कार्यकर्ताहरू अहिले सबैभन्दा निराश देखिन्छन् । पार्टी विभाजन भएपछि केही नेताले पद पाउलान् तर जनता र कार्यकर्ता विभाजन भएपछि त्यसले पार्ने असरका बारेमा नेताहरूले अहिले सोचेको देखिँदैन । एमालेको संस्थापन पक्ष र विद्रोह गरेर बाहिरिने दुवै समूहमा अतिवादी सोच भएका व्यक्तिहरूको कुण्ठाले काम गरेको भन्दै इमान्दार कार्यकर्ताहरू अहिले दोबाटोमा उभिएका छन् । कुनबाटो समातेर अगाडि बढ्ने भन्ने बारेमा कार्यकर्ताहरूमा देखिएको अन्योलताले दुवै समूहको भविष्य नै अनिर्णयको बन्दीजस्तो बन्न पुगेको छ । एमालेको नीति र विचारसँग सहमत हुने मतदाताहरूसमेत अहिले निराश बन्दै गएका देखिन्छन् । उनीहरू अर्को विकल्प पनि खोज्न नसक्ने तर एमालेमा देखिएको व्यक्तिवादी प्रवृत्तिको विरोध गर्न पनि नसक्ने अवस्थामा जनतालाई पु¥याउने काम नेतागणबाट हुनुलाई नराम्रो मान्न नसकिने मात्र होइन, निन्दनीय नै भन्नुपर्छ ।

लामो समयदेखि विद्रोही समूहको नेतृत्व गरेका माधव नेपालमा रहेकाहरूले अन्तिममा आएर विभाजनको विपक्षमा उभिए पनि उनीहरूले पहिलादेखि यस प्रकारको सक्रियता देखाउन सकेको भए परिणाम सकारात्मक पनि हुनसक्थ्यो । विद्रोही समूहलाई पार्टी विभाजन गर्न मलजल गर्ने अतिवादीलाई समयमै पहिचान गरेर नंग्याउन नसक्नु मध्यमार्गीहरूको कमजोरी हो । विभाजनको विपक्षमा उभिएका नेता–कार्यकर्ताको ठूलो समूह देखिएपछि नेपाल समूह पनि त्रसित बनेको र रिसोर्टमा लगेर सदस्यहरू पालेर राखेको अवस्था छ । विगतमा पनि सरकार गठनका लागि एमालेबाटै यस प्रकारको कमजोरी भएको र त्यसको ठूलो आलोचना खेप्नुपरेको कसैले बिर्सेको छैन । नेपाल पक्षलाई पनि यसपटक पुनः सोही अबगाल आउने अवस्था छ भने ओली पक्षका केही अतिवादीले नरमपन नदेखाएका कारण र खासगरी ओलीको दम्भका कारण विभाजनको अवस्था सिर्जना भयो भन्ने लाखौंको भीडलाई भोलि नेताहरूले कसरी सम्बोधन गर्लान् ? यस व्यवहारलाई ‘कम्युनिजम’ कसले स्वीकार गरिदेला ?

प्रतिक्रिया दिनुहोस्