कक्षा १२ को परीक्षा तत्तकाल गराउन निर्देशन


नेपाल समाचारपत्र, काठमाडौं ।

संसद्को शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमा तत्काल परीक्षा गराउन सरकारलाई निर्देशन दिएको छ । बैठकले जनस्वास्थ्यका सबै मापदण्ड पालना गरी भौतिक उपस्थितिमा तत्काल परीक्षा गराउन निर्देशन दिएको हो ।

यसअघि बसेको बैठकले सबै विद्यार्थीलाई खोप उपलब्ध गराएर स्थगित परीक्षा गर्न आग्रह गरेको थियो । कोरम नपुगेपछि गएको बैठकले कुनै निर्णय लिन सकेको थिएन ।

हिजो मंगलबार बसेको बैठकमा समितिका सभापति जयपुरी घर्तीले त्रिविलगायत अन्य विश्वविद्यालयको भौतिक उपस्थितिमा धमाधम परीक्षा भइरहेको समयमा कक्षा १२ को स्थगित गर्न नहुने धारणा राख्नुभएको थियो ।

बैठकमा उपस्थित समितिका अन्य सदस्यले स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रालयबीच समन्वय गरेर परीक्षा सञ्चालन गर्न सुझाव दिएका थिए । बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सीसीएमसी र शिक्षा मन्त्रालयको समन्वयमा बोर्डले सूचना प्रकाशित गरी परीक्षा सञ्चालन गर्न निर्देशन दिएको थियो ।

समितिका सदस्य डा. सुरेन्द्र यादवले पहिलो डोज दिएपछि परीक्षा दिन मिल्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘ढिलो भइसकेको छ, राष्ट्रिय परीक्षा बोर्डले सबै व्यवस्थापन गरी परीक्षा सञ्चालन गर्नुको विकल्प छैन ।’ बैठकमा सांसद विद्या भट्टराई, अञ्जना विशन्खेलगायतले परीक्षा स्थगित गरेर शैक्षिकसत्र बिथोल्न नहुने धारणा राखेका थिए ।

समितिका सदस्यहरुले तत्काल परीक्षा सञ्चालन गर्ने वातावरण मिलाउन सरकारलाई आग्रह गरेका थिए । यदि साउन ३१ बाट परीक्षा जारी भएको भए आज बुधबार सबै परीक्षा सम्पन्न हुने थियो ।

बोर्डले सबै तयारी गरेर सबै परीक्षा केन्द्र (विद्यालय) मा उत्तरपुस्तिका पुर्‍याउने तयारी गरेको अवस्थामा स्वास्थ्य मन्त्रालयको सिफारिसमा (सीसीएमसी) को बैठकले परीक्षा स्थगित गर्न निर्देशन दिएको थियो । बोर्डका सदस्य–सचिव दुर्गा अर्यालले सरकारले परीक्षा सञ्चालन गर्न निर्देशन दिएलगत्तै बोर्ड बैठक बसेर परीक्षा सञ्चालन गरिने बताउनुभयो । उहाँले भन्नुभयो– ‘सबै तयारी गरिसकेका छौं, १५ दिनअघि सूचना जारी गरेर परीक्षा सञ्चालन गर्नेछौं । ‘बेलैमा निर्देशन भए दशैंअघि नै परीक्षा सम्पन्न गर्ने गरी तयारी गरिरहेका छौं’ –सदस्य सचिव अर्यालको भनाइ थियो ।