नयाँ पार्टी दर्ताका लागि आज सनाखत गरिँदै


नेपाल समाचारपत्र, काठमाडौं ।

निर्वाचन आयोगले प्रस्तावित नेकपा एकीकृत (समाजवादी) र जनता समाजवादी (लोकतान्त्रिक) पार्टी दर्ता प्रक्रियाका लागि आज बुधबार सनाखत गराउने भएको छ ।

प्रस्तावित नेकपा एकीकृत (समाजवादी) एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल नेतृत्वको हो भने लोकतान्त्रिक समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुर नेतृत्वको हो ।

सरकारले दल विभाजन सजिलो हुने अध्यादेश ल्याएपछि सो पार्टी दर्ताका लागि आयोगमा निवेदन परेको थियो । राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार नयाँ दल दर्ताका लागि संघीय संसद् वा केन्द्रीय सदस्यको २० प्रतिशत हुनुपर्छ । एमालेका सांसद तथा केन्द्रीय सदस्यहरूले वरिष्ठ नेता नेपाल अध्यक्ष हुने गरी नयाँ दल दर्ता गर्न निवेदन दिएका थिए । त्यसमा ५७ केन्द्रीय सदस्यको नामावली उल्लेख गरिएको थियो ।

आज बिहान ११ः३० बजेदेखि २ बजेसम्म सनाखतको समय तोकिएको आयोगले जनाएको छ । केन्द्रीय सदस्यहरु भौतिकरूपमै उपस्थित भएर सनाखत गर्नुपर्ने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताउनुभयो ।

पूर्वप्रधानमन्त्री झलनाथ खनाल नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता भारतमा उपचार गराइरहनुभएको छ । यसैबीच नेता खनालले आयोगलाई पत्र लेख्दै दिल्लीबाटै सनाखत गर्ने व्यवस्था मिलाइदिन आग्रह गर्नुभएको छ । उहाँले दूतावासबाट सनाखत गर्ने व्यवस्था मिलाउन आग्रह गर्दैै पत्र पठाएको आयोगले जनाएको छ । पत्रमा खनालले आफूले नेकपा एमाले त्यागिसकेको र एकीकृत समाजवादीमा रहेको उल्लेख गर्नुभएको छ ।

अध्यादेश अनुसार २० प्रतिशत बनाउन २ सय ३ सदस्यीय एमाले केन्द्रीय सदस्यमध्ये ४१ जनाको समर्थन आवश्यक छ ।

त्यसै गरी, जसपा (लोकतान्त्रिक) पार्टीमा २३ सदस्य रहेका छन् । आयोगले यसअघि जसपाको आधिकारिकता अध्यक्ष उपेन्द्र यादव पक्षलाई दिएपछि ठाकुर पक्ष दलविहीन भएको थियो । सो पार्टीका ३७ सांसद (प्रतिनिधिसभा र राष्ट्रिय सभा) मध्ये ठाकुरको पक्षमा १४ जना सांसदहरू रहेका छन् । नयाँ अध्यादेशअनुसार यति संख्या पार्टी विभाजनका लागि पर्याप्त रहेको छ ।

नयाँ दल दर्ताका लागि दिएको निवेदन ऐनले तोकेबमोजिम कागजात र विवरण संलग्न छ कि छैन भनेर हेरेर दर्ताका लागि प्रक्रिया अघि बढाउनुपर्ने प्रावधानअनुरूप सनाखतको प्रबन्ध मिलाइएको हो ।

राजनीतिक दलसम्बन्धी ऐन–२०७३ मा दल दर्ताका लागि दलको प्रमुख पदाधिकारीले केन्द्रीय समितिको निर्णयसहित दलको विधान, घोषणापत्र, झण्डा, चिह्नको नमुनालगायत कागजात कागजात संलग्न गराउनुपर्ने छ ।

जाँचबुझबाट प्रस्तावित दल संविधान र ऐनबमोजिम दर्ता हुन सक्ने देखिएमा आयोगले उपदफा (१) बमोजिम निवेदन परेको ४५ दिनभित्र त्यस्तो दल दर्ता गरी दल दर्ता प्रमाणपत्र र दर्ता हुन नसक्ने भए त्यसको कारण खुलाई निवेदकलाई जानकारी दिनुपर्ने प्रावधान रहेको छ ।