कांग्रेस महाधिवेशन: क्रियाशील सदस्यको सूची सार्वजनिक नगरे रिले अनशन


रामकृष्ण चापागाईं, काठमाडौं ।

महाधिवेशनको संघारमा रहेको नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले क्रियाशील सदस्यहरुको सूची सार्वजनिक नगरे आज बुधबारबाट रिले अनशन बस्ने धम्की दिएका छन् ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा दुई घण्टा धर्ना दिएका जिल्ला सभापतिहरुले १४औं क्रियाशील सदस्यहरुको सूची तत्काल पार्टीको आधिकारिक वेबसाइटमा सार्वजनिक गर्नुपर्ने माग राख्दै आएका छन् ।

छिटोभन्दा छिटो क्रियाशील सदस्यहरुको सूची सार्वजनिक गर्नुपर्ने माग राख्दै जिल्ला सभापतिहरुले जालझेल गरी क्रियाशील सदस्य थपघट गरेका कारण सूची सार्वजनिक गर्न ढिलाइ गरिरहेको आरोप लगाएका छन् । उनीहरुको आरोप छ– ‘वडाबाट सिफारिस भएर आएको नाम हटाएर केन्द्रले आफूखुसी धेरै क्रियाशील सदस्य थपेका छन् ।’

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्ने कार्य प्रक्रियामा रहेको बताउँदै नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘क्रियाशील सदस्यता सूची छिट्टै सार्वजनिक हुन्छ ।’

यही भदौ १८ गतेबाट तल्लो तहको अधिवेशन शुरु गर्न लागेको कांग्रेसले क्रियाशील सदस्यको सूचीमात्र होइन निर्वाचन निर्देशिका पनि सार्वजनिक गरेको छैन । त्यति मात्रै होइन, अधिवेशनको लागि ७७ वटै जिल्लाका लागि निर्वाचन अधिकृत चयन गरिसकेको जनाएको कांग्रेसले निर्वाचन अधिकृतहरुको सूची पनि सार्वजनिक गरेको छैन ।

केन्द्रीय कार्यसमिति बैठकको निर्देशनअनुसार गठित पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदलले तयार पारेको क्रियाशील सदस्यतासम्बन्धी प्रतिवेदन सोमबार राति मात्र सभापति शेरबहादुर देउवालाई बुझाइएको थियो । क्रियाशील सदस्यता छानबिन समितिले बुझाएको प्रतिवेदनमाथि चर्को विवाद भएपछि कांग्रेस केन्द्रीय समिति बैठकले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, छानबिन समितिका संयोजक रमेश लेखक र केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजाल सहभागी कार्यदललाई विवाद समाधान गरी क्रियाशील सदस्यतासम्बन्धी प्रतिवेदन सभापति शेरबहादुर देउवालाई बुझाउन निर्देशन दिएको थियो ।

विधानतः क्रियाशील सदस्यता छानबिन समितिले क्रियाशील सदस्यताको सूची सभापतिलाई बुझाउने र सभापतिले निर्वाचन समितिलाई बुझाएपछि निर्वाचन समितिले उक्त सूची सार्वजनिक गरिन्छ । नुवाकोट जिल्ला सभापति जगदीश्वरनरसिंह केसीले क्रियाशील सदस्यता वितरणमा त्रुटि, कमिकमजोरी देखिए सच्चाउनुपर्ने बताउँदै नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘कांग्रेसको क्रियाशील सदस्यता वितरणका लागि वडाबाट पालिका, पालिकाबाट प्रदेश, क्षेत्र, जिल्ला हुँदै केन्द्रमा पठाइन्छ ।’

जिल्ला सभापतिहरुले वडा तहबाट निर्णय भएर आएको नामहरु हटाउने केन्द्रबाट जथाभावी नामहरु थप्ने र शतप्रतिशतभन्दा बढी नामहरु थप्र्नेजस्ता गलत काम भएको आरोप लगाएका छन् । कांग्रेसले १४औं महाधिवेशनको लागि १३औं महाधिवेशनमा कायम रहेका क्रियाशील सदस्य संख्यामा शतप्रतिशत थप गर्ने निर्णय गरेको थियो । सभापतिहरुले निर्वाचन प्रक्रियामा एकरुपता आउने गरी निर्वाचन निर्देशिकालाई संशोधन गर्न पनि माग गरेका छन् ।a