एमालेको महाधिवशेन मंसिर १० देखि १२ सम्म


काठमाडौं, (नेस) ।

नेकपा एमालेले आगामी मंसिर १० देखि १२ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको छ । १० बुँदे सहमति कार्यान्वयन गर्ने सहमति गर्दै एमालेले आगामी मंसिरमा १०औं महाधिवशेन गर्ने निर्णय गरेको हो ।

एमालेको मंगलबार बसेको स्थायी कमिटी बैठकले १० बुँदे सहमतिलाई अनुमोदन गर्दै पार्टीका सबै प्रदेश समन्वय कमिटी र जिल्ला कमिटीहरूलाई २०७५ जेठ २ अघिकै संरचनाबाट क्रियाशील हुन निर्देशन गर्ने निर्णय गरेको छ । पार्टीबाट विद्रोह गरेर नयाँ पार्टी गठन गर्नुभएका माधवकुमार नेपालको साथ छोडेका १० जना स्थायी कमिटी नेतासहित बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले पार्टीको निर्णयअनुसार पार्टी संरचना २ जेठ २०७५ अगाडिको अवस्थामा क्रियाशील हुने र १० प्रतिशत केन्द्रीय सदस्य मनोनयन, विभागहरुलाई पूर्णता दिनेलगायत प्रयोजनका निम्ति सात सदस्यीय कार्यदल गठन गरिएको जानकारी दिनुभएको छ । कार्यदलमा उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिवहरु विष्णुप्रसाद पौडेल र घनश्याम भुसाल, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र लेखराज भट्ट रहनुभएको छ ।

मंसिरमा हुने महाधिवेशनअघि नै असोज ४–६ गते असोजमा विधान महाधिवेशन गर्ने निर्णय भएको छ । बैठकले एमालेको पार्टी सदस्यता २ जेठ २०७५ अगाडिको आधारबाट अगाडि बढाउने निर्णय गर्दै सदस्यता नवीकरण असोज मसान्तभित्र गरिने निर्णय गरेको पनि प्रवक्ता ज्ञवालीले बताउनुभयो । उहाँका अनुसार भदौ १६ देखि २० गतेसम्म जिल्ला र जनसंगठनको भेला गर्ने निर्णय भएको छ ।

त्यसै गरी, बैठकले माओवादीबाट एमालेमा आएका नेता तथा कार्यकर्ताहरुलाई नेकपाको एकता कार्यकालमा जुन जिम्मेवारी प्रदान गरिएको छ, त्यही जिम्मेवारी दिने निर्णयसमेत गरेको छ । बैठकमा पूर्वमाओवादीबाट एमालेमा प्रवेश गर्नुभएका रामबहादुर थापा, लेखराज भट्ट, मणि थापालगायतका नेताहरुको पनि सहभागीता रहेको थियो । स्थायी कमिटी बैठकले यही भदौ १० गते केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको छ ।