- पेशल आचार्य
प्रकारान्तरमा समेतले फेरि अर्कोपल्ट आफूलाई नेपाली राजनीतिको अभिभावक भनेर ठान्ने भ्रम पालेको नेपालको जेठो पार्टी नेपाली कांग्रेसलाई त्यही नियतिमा पुर्याएको छ जुन नियतिमा यसअघिका प्रधानमन्त्री केपी ओली अहंकार सिँढीबाट दम्भको धरहरा चढ्दा पुगेका थिए ।
हिजो ओलीले दल फुटाउनका लागि समाजवादी जनता पार्टीलाई लक्षित गर्दै ४० प्रतिशत भए पुग्ने अध्यादेश ल्याएका थिए भने अहिले शेरबहादुर देउवाले २० प्रतिशत संसद् संख्या भए पार्टी फुट्न सक्ने अध्यादेश ल्याएका छन् । जसको सुविधा उपभोग गर्दै माधव नेपाल गुट नेकपा समाजवादी भने फुटिसकेका छन् । यो हिसाबले नेपाली राजनीति फेरि उही २०५१ पछिका संसदीय फोहोरी खेलमै पुगेर अडिएको छ ।
नेपाली कांग्रेसतर्फ लक्षित गर्दै अहिले चौतर्फीरूपमा दुःख र आक्रोश प्रकट गरिएको छ । कांग्रेस यतिखेर भलो मतिले अघि बढिरहेको देखिँदैन । मुलुकमा कोरोनाविरुद्धको खोपको अति खाँचो छ । त्यो खाँचोलाई समेत लात मारेर कांग्रेस ‘सबै काम छाडी पुच्छ्रामा हात’ भनेझैँ गरी अरूको दल फुटाउनका लागि प्रयासरत देखियो । यो सन्दर्भले ‘ल्हासा जानु कुतीको बाटो’ भनेझैँ भयो । विकास निर्माणका कामहरू अघि बढाउनु छ । बाढी–पहिरो र प्राकृतिक प्रकोपमा परेका जनतालाई राहत दिनु छ, त्यतातिर पो ध्यान दिने हो त अहिलेको सरकारले ।
उसले आफ्नो अघिवेशन त गर्न सकेको छैन–छैन, अरुका पार्टीमा धावा बोल्ने रणनीति लिएको देखियो । यस हिसाबले नेपाली कांग्रेसमा समेत अहिले भष्मासुर सवार भएको छ । भनाइ नै छ, जङ्गलको राजा शेर हो । त्यो शेर आफ्नो मर्जीले काम गर्ने गर्छ । तर सर्कसमा समेत शेर हुने गर्छन्, ती शेरहरू सर्कसका रिङ मास्टरका आदेशमा अभिनय गर्दछन् । पाँचौं इनिङ्सका वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा जंगलका ‘शेर’ नभएर सर्कसका ‘शेर’को अभिनय गरिरहेका छन् ।
यो पाँच वर्ष कांग्रेसका लागि प्रतिपक्षमा बस्ने कार्यकाल थियो । अहिले साँच्चै भन्ने हो भने कांग्रेसलाई परमादेशले गर्दा अपुताली आएको हो । यो अपुताली कांग्रेसले स्याहार्न सक्लाजस्तो लाग्दैन । समय धेरै अघि बढिसकेको छ । समयले हिजो न ओली बालाई नै पर्खियो । उनको सनकको पारो धरहरा जत्रो भएपछि आफैँ स्वतः उनी ‘बालुवाटार टु बालकोट’ को यात्रामा लागेका हुन् । यहाँनेर गगन थापाले भनेका कुरा सम्झनायोग्य छ । उनले भनेथे, ‘कांग्रेसको सरकारलाई अघिल्लो नेकपा÷एमाले सरकारको जस्तो गल्ती गर्ने छुट छैन ।’ तर दुःखको कुरो थापाले जे भने अहिले ठीक उल्टो हुने गरी कांग्रेस काम गर्दै छ ।
जनताको रुचि र माग एकातिर छ, सरकारको डेलिभरी बिल्कुलै अर्कोतिर देखियो । यसो भयो भने त ‘आफू ताक्छु मुडो, बन्चरो ताक्छ घुँडो’ हुन्छ । अहिले कांग्रेसले ‘…को न्यानो’ पार्नका लागि एमाले फुटाउन जुन विधेयक ल्याएको छ त्यसले एकदिन कांग्रेसकै ओच्छ्यान चिसो पारिदिन्छ । यो पक्का हो, यसमा कसैले शङ्कै नगर्दा हुन्छ । जे–जे काम गरेर ओली निकम्मा भए त्यही काम दोहो¥याएर शेरबहादुर देउवा पाँचौंपटक निकम्मा साबित हुँदै छन् ।
हिजोको नेकपाको राइँदाइँ र अहिले एमालेको रोइलो हेर्ने हो भने नेपालको राजनीतिलाई यी दुई ठूला पार्टीहरूले कसरी गिजोलेका रहेछन् भन्ने कुरा देखिन्छ । धेरै समयदेखि कांग्रेसमा समेत उपसभापति रामचन्द्र पौडेलको आफू सभापति हुन नपाएको दुखेसो सुनिन्छ । यो दुखेसोमा उनलाई साथ दिने २० प्रतिशत मात्रै मान्छे पुगे भने कांग्रेसमा बाक्लो दाल खाने सुविधा नजुट्ला भन्न सकिन्न । देशका चलायमान ठालु पार्टीका केही थान बूढाहरूको अहंले गर्दा अहिले युवापुस्ताले दुःख पाएका हुन् ।
बागमतीका मुख्यमन्त्री डोरमणि पौडेल मुख्यमन्त्री पदबाट खुस्किँदा बाले निकालेझैँ तामझामको र्याली निकालेर साउथ हिन्दी मुभीका नायक प्रभासको शैलीमा अभिवादन फर्काएर घर फिरे । समाजवादको यात्रा गर्नेले यसरी बेफ्वाँकको तामझाम गर्नुभन्दा बरू मेलाम्ची र हेलम्बुका पहिरो पीडितहरूलाई गुरुयोजनासहितका केही योजनाहरू दिएको भए दुःखी जनताले पछिसम्म सम्झने थिए । यस्तो सिर्जनात्मक हेक्का शायद नेपालका नेता भनाउँदाहरूलाई हुँदैन ।
यी तिनै मुख्यमन्त्री हुन् जसले केही हप्ताअघि रामेछापमा आफ्नो पार्टीका दलबलसहित आएर पूरै काम नसकिएका र ठेकेदारहरूलाई भुक्तानी दिन बाँकी रहेका सडकहरूको धमाधम उद्घाटन गरेर गए । यिनी उद्घाटन गरेर गएपछि फेरि केही ठेकेदारहरू सडक निर्माणमा व्यस्त रहेका छन् । स्थानीय पत्रपत्रिकाहरूले त आफ्नो पद जाने भयले गर्दा चाँडो–चाँडो सडक उद्घाटनमा व्यस्त मुख्यमन्त्री भनेर समाचार छापे ।
अहिले एमालेहरूलाई जतिसक्दो चाँडो जनतामा हामीले विकास निर्माण गरेका हौं । हामी बाहेक यो देशमा कसैले पनि विकासको बिँडो थाम्न सक्दैन भन्ने एक प्रकार ज्वरो आएको छ । जनताहरू सिस्टम डेलिभरीका कुरा गरिरहेका छन् भने नेताहरूचाहिँ कसरी अर्को चुनाव जित्ने र फेरि आफ्नो पद सेक्युर गर्ने भन्ने ध्याउन्नमा मात्र व्यस्त भएका देखिए । यो रोगले माथि प्रधानमन्त्रीदेखि तल स्थानीय निकायसम्मै घर गर्यो ।
बागमतीका मुख्यमन्त्रीमा एमालेकै माधव नेपाल गुटमा सक्रिय अष्टलक्ष्मी शाक्य इलेभेन्थ आवरमा ओली गुटमा सामेल भएपछि बाँकी आठ–नौ महिनाका लागि गति परिहालिन्छ कि भन्नेजस्तो सोचले मुख्यमन्त्रीमा पदासीन भएकी छिन् । राजनीति यति घटिया कहिल्यै भएको थिएन । अहिले उनलाई बधाई र शुभकामनाका वर्षा भइरहेको छ । तर बौद्धिक वर्ग भने यस्तो प्रवृत्तिलाई भारतमा झैँ दल गुट अदलुबदुल भन्दै ‘आयाराम–गयाराम’ प्रवृत्ति भन्छ । यो प्रवृत्तिले आफू जहिले पनि सत्ताका लागि उपयुक्त भन्ने भ्रम जनतामा छर्न त खोजेको होइन भन्ने प्रश्न पनि गर्न थालिएको छ ।
अहिले नेपालमा बहुदलीय संस्कारको हुर्मत लिने काम भैरहेको छ । यो काम नेपालमा क्रियाशील ठूला भनिएका राजनीतिक पार्टीहरूले नै गरेका छन् । संसद्मा यतिखेर क्रियाशील मान्यताप्राप्त राजनीतिक दलहरूमा बढी यो प्रवृत्तिले घर गरेको पाइयो । यतिखेर करिब १५ लाख नेपालीहरूको रोजीरोटी खोसिएको अवस्था छ । यो अवस्थामा देशले फर्केर मातृभूमि आउने जनतालाई उनीहरूले खोजेको जस्तो काम गर्न दिने सम्भावना देखिँदैन । आउने चैत–वैशाखसम्म त खोप लगातार आएमा समेत सबै जनतालाई दिन सक्ने वातावरण बनेको छैन । खोप लगाउन नपाएर र महामारी बिस्तारै–बिस्तारै फेरि उही पुरानो चक्रमै बढेर देशका केही विश्वविद्यालय र राष्ट्रिय परीक्षा बोर्डबाट हुने भनिएका परीक्षाहरूसमेत अनिश्चित कालका लागि पुनः रोकिए ।
त्रिविले भने आफ्ना परीक्षार्थीहरूलाई परीक्षा प्रवेशपत्रका आधारमा खोप दिलाउन स्वास्थ्य मन्त्रालयलाई अनुरोध गरेको छ । तर यो सुविधा देशका दूरदराजका इलाकाहरूमा भने शुरु भएको देखिँदैन । अहिले उपत्यकाका केही अस्पतालहरूले मात्र यो विद्यार्थी खोपको अभियानलाई सुचारु गर्ने भन्ने सूचना आएको छ । त्यसै गरी हाइस्कुलका विद्यार्थीहरूलाई समेत खोप लगाइएको छैन । उनीहरू चार महिनादेखि घरमै बसेर आफ्नो पढाइ खुम्च्याउन बाध्य छन् । अहिले देखासिकीकै लागि मात्र अनलाइन कक्षाको हल्ला देशैभरि चलेको छ तर यसलाई व्यावहारिक तवरले भने लैजान सकिएको छैन । नेपाल टेलिकमले दिएको सीयुजी सिमले उपलब्ध गराउने सीमित डाटा र फोन कलका भरमा अनलाइन कक्षाहरू सुचारू हुन नसक्ने भएकाले सरकारले नै तदारुकता देखाउनु जरुरी भएको छ ।
हिजो हल्ला गर्ने सरकार थियो तर आजको सरकार काम गर्दा पनि हल्ला गर्न नजान्ने देखियो । लेखिका सरिता तिवारी आफ्नो फेसबुक स्टाटसमा लेख्छिन्, ‘राज्य गणतन्त्रात्मक छ तर राज्यका सरकारी संस्थाहरू मात्रै होइन अर्धसरकारी, सामुदायिक र निजी संस्थामा समेत सामन्ती चरित्र र व्यवहार राणाकालीन–पञ्चायतकालीन नै छ । आफू जोडिएका ठाउँहरू देख्दा र बेहोर्दा नै विडम्बनाले औडाहा छुट्छ । लडौं, जता फक्र्यौ उतै एक्लो परिन्छ । नलडौं आत्माको धिक्कार सुन्नु मरे बराबर लाग्छ ।’
यो गम्भीर चिन्ताजनक स्थिति हो । लोभानी, पापानी नभएका बौद्धिक मानिसहरूका दिल र दिमागहरू अहिले देशीय राजनीतिलाई भोग्दा, हेर्दा र व्यहोर्दा यस्तै रूपले विद्रोहका झिल्काहरू पार्लान्झैँ भएका छन् । लोकतन्त्र र गणतन्त्रको भाषण गरेर दिनरात नथाक्ने नेताहरूका क्रियाकलापहरू हेर्दा भट्टी पसलका जँड्याहाहरूको अवस्थाभन्दा कम देखिँदैन । कुनै पार्टी पनि एकरत्ती कम–बेसी छैनन् । तुलोमा राखेर जोख्दा सबै बराबरी छन् । सबैले विदेशीका करिया बनेका हुलिया साँधेका छन् । सबै–सबै पदका लागि तैँ चुप मै चुप हुन्छन् ।
इमेजखबर डटकमका सम्पादक राजन कुइँकेल अझ खरो भाषामा सामयिक राजनीतिको सटिक विश्लेषण गर्दै लेख्छन्, ‘नेकपा एमाले : अस्ताउने बेला भएका बूढाहरूले युवाहरूको भविष्य स्वाहा बनाइदिए । दुवै बूढालाई गलहत्याएर हस्तक्षेप गर्न नसक्ने हुतिहारा पुस्ताका कारण हल बसेका बूढाहरूको यसरी मनपरी चलेको हो । यो एमालेमा मात्रै होइन, कांग्रेसमा पनि उस्तै रोगका रूपमा छ । दल फुटाइहाल्ने हुती नभएकाले मात्रै हो नत्र कांग्रेस पनि एक धुरी दुई चुलोझैँ बनेको छ । त्यहाँ पनि पछिल्लो पुस्ता चुनौती होइन चाकरीमा विश्वास राख्ने छ । मुलुकमा तत्काल यी दुई दलको विकल्प देखिएको छैन । त्यही भित्रका निकम्मा, सन्दर्भहीन भएकाहरूलाई पाखा लगाएर भविष्य भएकाहरूले नेतृत्व लिन सके हो । अन्यथा देश र जनता भ्रष्ट र निकम्मा नेताबाट शासित हुन अभिशप्त हुने भो !’
अहिलेको नेपाली गाईजात्रे राजनीतिको चुरो पनि यही हो र यसका विदुषक नेताहरू जो, जति र जहाँ पदमा फेरिए पनि तिनको पदमा आउने र जाने क्रममै केही पनि लछारपाटो लगाउँदैन भन्ने कुरा युवा पुस्ताले अहिले भलिभाँती बुझेको छ । देश विकास बहुदलीय संस्कारमा नहुने भन्ने होइन तर सबै कमिसनका चक्करमा लागेर मेरो मान्छेलाई ठेक्कापट्टा दिलाउने कि उसको मान्छेलाई दिलाउने भन्ने रोग नै महारोग भएको छ । ‘यो महारोग देशीयबाट क्रमशः विदेशीय हुँदै जाँदा शेरहरू जंगलबाट निस्केर सर्कसमा छिरेका हुन्’ भन्ने व्यङ्ग्यसमेत जताततै सुनिन थालिएको हो ।
प्रतिक्रिया