१० बुँदे सहमति कार्यान्वयन गर्न ओली तयार


मधुसूदन रायमाझी, काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी एमालेका मध्यमार्गी नेताहरू संस्थापन पक्षसँग मिल्न तयार भएका छन् । अध्यक्ष केपी शर्मा ओलीले मध्यमार्गी नेताहरूको मागलाई आंशिकरूपमा सम्बोधन गर्दै १० बुँदे सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएसँगै पार्टी विभाजनमा वरिष्ठ नेता माधवकुमार नेपाललाई साथ नदिएका नेपाल समूहका नेताहरू पार्टीमै रहन सहमत भएका हुन् ।

यसरी पार्टीमा फर्कन तयार हुनेहरूमा नौ जना स्थायी कमिटी र केही सांसदसहित ५७ जना केन्द्रीय सदस्यहरू रहेका छन् । मध्यमार्गी नेताहरूले यसअघि पार्टी एकताका लागि गठित कार्यदलले तयार पारेको १० बुँदे सहमति कार्यान्वयन गर्न र नेता नेपालसहित १४ जना सांसदमाथि गरिएको कारबाही फिर्ता लिनुपर्ने माग अघि सारेका थिए । अध्यक्ष ओलीले १० बुँदे सहमति कार्यान्वयन गर्न सहमति जनाएपछि मध्यमार्गी नेताहरू नेपालसहित १४ सांसदमाथि गरिएको कारबाही फिर्ता गर्नुपर्ने अडानबाट भने पछि हटेका छन् ।

ओली निवास बालकोटमा सोमबार अध्यक्ष ओली र मध्यमार्गी नेताहरूबीच भएको निर्णायक वार्तामा १० बुँदे कार्यान्वयनका लागि मोडालिटी तयार पार्न स्थायी कमिटी बैठक बोलाइने सहमति भएको छ । मध्यमार्गी नेता एवं नेकपा एमालेका सचिव योगेश भट्टराईले मोडालिटीका विषयमा छलफल गर्न मंगलबार स्थायी कमिटी बैठक बोलाइएको जानकारी दिनुभयो ।

१० बुँदेमा उल्लेख भएअनुसार पार्टीलाई २०७५ जेठ २ मा फर्काउने सहमति भएको बताउँदै उहाँले अब केन्द्रदेखि टोलसम्मका सबै कमिटी क्रियाशील हुने बताउनुभयो । उहाँले स्थायी कमिटीको बैठकमार्फत अलग्गै पार्टी दर्ताको प्रक्रियामा रहेका नेतालाई पार्टी एकतामा फर्किन आग्रह गरिने जानकारी दिँदै भन्नुभयो– ‘कोही पनि विभाजनमा जान हुँदैन । कसैमाथि पनि अन्याय नहुने भन्ने विषयको सुनिश्चितता स्थायी कमिटिले गर्नेछ ।’ नेता भट्टराईले वरिष्ठ नेता नेपालले आफूहरूको सहमतिबिना नै नयाँ पार्टी गठन गरेको आरोप लगाउँदै भन्नुभयो– ‘माधव नेपालले अलि हतारमा पार्टी स्थायी कमिटीको टिमसँग निर्णायक छलफल नगरी बाहिर जानुभयो । एकतामा फर्किएमा सबै कारबाही अमान्य हुन्छन् भनेर अध्यक्षले भन्नुभएको छ, माधव नेपाललाई एकतामा आबद्ध हुन अपिल गर्छौं, नयाँ पार्टी गठनबाट उहाँ अलग हुनुपर्छ, हामी अन्तिम पहलकदमी लिन्छौं ।’

एमाले प्रवक्ता प्रदीप ज्ञवालीले कार्यदलले तयार पारेर पार्टीले अनुमोदनसमेत गरेको १० बुँदे सहमति कार्यान्वयन गरेर अगाडि बढ्ने सहमति भएको पुष्टि गर्नुभयो । उहाँले भन्नुभयो– ‘१० बुँदे कार्यान्वयनको प्रक्रियालाई तीव्रता दिने निर्णय भएको छ । यसका लागि थप छलफल गर्न मंगलबार ११ बजे तुलसीलाल स्मृति प्रतिष्ठामा स्थायी कमिटी बस्नेछ ।’

बालकोटमा अध्यक्ष ओली र महासचिव ईश्वर पोखरेलसँग भएको १० बुँदे कार्यान्वयनको निर्णायक वार्तामा नेताहरू भीम रावल, भीम आचार्य, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, रघुजी पन्त र योगेश भट्टराईलगायत माधव नेपालको साथ छाडेका सबै स्थायी कमिटी सदस्यहरूको सहभागिता रहेको थियो । वार्तामा सहभागी वागमती प्रदेशकी मुख्यमन्त्री तथा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले आफूहरू एमाले छाडेर कतै जान नसक्ने बताउँदै अध्यक्ष ओलीलाई नेतृत्वको हैसियतले माधव नेपाललाई पनि पुनः पार्टीमै फर्काउने गरी भूमिका खेल्न आग्रह गर्नुभएको थियो । एमालेको एकतामा झलनाथ, माधव नेपाल र वामदेव गौतमलाई पनि समेट्न आग्रह गर्दै शाक्यले १० बुँदेको कार्यान्वयनले एमालेको पुरानै संगठन प्रणाली ब्युँतिने बताउनुभएको थियो ।

नेपालसहितका नेताहरू चन्द्रागिरिमा

नेकपा एमालेबाट विभाजित भएर निर्वाचन आयोगमा नयाँ दल नेकपा (एकीकृत समाजवादी) दर्ताको चरणमा रहनुभएका माधवकुमार नेपालसहितका नेता चन्द्रागिरिस्थित चन्द्रागिरि हिल्स रिसोर्टमा भेला भएका छन् ।

बुधबार निर्वाचन आयोगले नेपाल नेतृत्वको नयाँ पार्टी दर्ताका लागि सनाखत गर्न बोलाएसँगै भावी रणनीति तयार गर्न नेपालसहितका नेताहरु चन्द्रागिरिमा भेला भएका हुन् । नेपाल आफू निकट सांसद र केन्द्रीय सदस्यलाई लिएर चन्द्रागिरि रिसोर्ट पुग्नुभएको हो ।

रिसोर्टमा करिब सय जनाको संख्यामा नेपालले भेलामार्फत भावी कार्यदिशा तय गर्ने बताइएको छ । भेला भएका नेताहरु बुधबारसम्म चन्द्रगिरिमै बस्ने र त्यहींबाट सनाखतका लागि निर्वाचन आयोग जाने सांसद मेटमणि चौधरीले बताउनुभयो ।