आत्मरक्षा तालिम


काठमाडौं, (नेस) ।

फाइट ब्याकको सहयोगमा प्रयत्न नेपालद्वारा आयोजित आत्मरक्षा तालिम सम्पन्न भएको छ । तालिममा पूर्ण तथा आंशिक दृष्टिविहीन भएका ११ महिला सहभागी थिए ।

उनीहरूलाई फाइट ब्याकका प्रमुख प्रशिक्षक उद्धव थापा मगरले आत्मरक्षासम्बन्धी विभिन्न कला सिकाउनुभएको थियो । मगर नेपाल उमा कुङफु संघका पूर्व अध्यक्ष एवं वर्तमान सहायक प्रमुख प्रशिक्षक हुनुहुन्छ ।

दृष्टिविहीनहरूले पनि कसैबाट असुरक्षित महसुस गर्दा आफ्नो रक्षा आफैं गर्न सक्छन् भन्ने आत्मविश्वास बढाउन तालिम सञ्चालन गरिएको मगरले बताउनुभयो । ५ दिने तालिम जावलाखेलस्थित डिएभी स्कुलमा भएको थियो ।

सन् २०१३ देखि आत्मरक्षासम्बन्धी तालिममा संलग्न मगरले देशका विभिन्न जिल्लामा पनि आत्मरक्षासम्बन्धी तालिम प्रदान गरिसक्नुभएको छ । हालसम्म करिब २५ हजारलाई आत्मरक्षासम्बन्धी तालिम प्रदान गरिसकेको उहाँले जानकारी गराउनुभयो ।
कोरोना भाइरस (कोभिड– १९) को जोखिमलाई मध्यनजर गर्दै सुरक्षित उपाय अपनाएर तालिम सञ्चालन गरिएको आयोजकले जनाएको छ ।