बखते बनेर छाएका शम्भुको अधुरो सपना



लाेकप्रिय हास्यकलाकार शम्भुराज थापाको कोरोना संक्रमणबाट निधन भएसँगै ठूलो पर्दाको एउटा गतिले फिल्म निर्माण गर्ने उनको धोको अब कहिल्यै पूरा नहुने भएको छ।

थापाको उपचारका क्रममा गत शनिबार बिहान ललितपुरको पाटन अस्पतालमा निधन भएको थियो। स्वास्थ्य अवस्था जटिल भएपछि केही समययता भेन्टिलेटरमा उचार गराइरहेका ५५ वर्षीय थापाको उपचारकै क्रममा पाटन अस्पतालमा निधन भएको हो। २०५१ सालमा निर्माता ज्योति खनालका साथ मिलेर पुकार नामक फिल्म निर्माण गरेका थापाले २०५५ सालमा आफ्ना निर्माता दाइ राजेन्द्र थापाका साथ आफ्नो बिरानो नामक फिल्म निर्माण गरेका थिए। दुवै फिल्मबाट लाभ कमाउन असफल भएका थापाले भारतीय दूतावाससँग अनुमति लिएर अर्को फिल्म निर्माण गर्ने प्रयास पनि गरेका थिए। तर, भारतीय सरकारकाले सो विषयमा फिल्म निर्माण गर्न रोक लगाउनु र निर्माता दाइ राजेन्द्र थापाको असामयिक निधन हुनुका कारणले उनको फिल्म निर्माण यात्रा त्यहीँ रोकिएको थियो। चन्द्रनिगाहपुरमा सिनमा हल सञ्चालनसमेत गर्दै आएका थापाले पुकार र आप्mनो बिरानो दुवै फिल्ममा अभिनयसमेत गरेका थिए। तर, भातृशोककै कारण उनी लामो समयसम्म फिल्ममा देखिएनन्।

लामो समयको अन्तरालपछि उनले ख्यातिप्राप्त हास्य जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको निर्माण संस्था मह सञ्चारका सिरियलबाट पुनः कलायात्रालाई अगाडि बढाएका थिए। त्यस क्रममा उनले मह सञ्चारको आमा, मदनबहादुर हरिबहादुर, गोल्ड मेडल, भूकम्प, विष, साझा पृथ्वीलगायतका सिरियलका विभिन्न भूमिकामा अभिनय गरी लोकप्रियता कमाए। ‘कलाकार शम्भु थापाले हाम्रा धेरै टेलिफिल्ममा अभिनय गर्नुभएको थियो। उहाँको दुखद निधनले अभिनयको क्षेत्रमा अपूरणीय क्षति भएको छ। उहाँप्रति हार्दिक श्रद्धाञ्जलि तथा आत्माको चीरशान्तिको कामना गर्दछु’ हरिवंशले दुःख व्यक्त गर्दै भनेका छन्— ‘शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु।’

जस्तोसुकै भूमिकामा पनि सहज र मौलिक अभिनय गर्न माहिर थापाले त्यसबाहेक मेरी बास्सै, भद्रगोल, गोलमाल, हल्का रमाइलोजस्ता विभिन्न सिरियलका विविध भूमिकामा सजिव अभिनय गरी दर्शकलाई मोहित तुल्याउँदै आएका थिए। पछिल्लो समय भने उनी मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे) र राजु पौडेल (राजु मास्टर) को निर्देशनमा प्रसारणमा आइरहेको हास्य टेलिश्रृंखला हल्का रमाइलोबाट लोकप्रिय भइरहेका थिए। हल्का रमाइलोको बखते नामक पात्रबाट लोकप्रियता पाइरहे पनि उनी आप्mना साथीभाइसँग भने फेरि एकपटक ठूलो पर्दाको फिल्म बनाउने सपना साझा गर्थे। ‘उहाँले पहिला फिल्म बनाउनु भएको रहेछ। तर, ती फिल्मबाट नराम्ररी डुब्नुभएको रहेछ।

अर्को एउटा फिल्म बनाउने प्रयास पनि सफल भएको रहेनछ। त्यसैले, हल्का रमाइलोमा हामीसँग जोडिँदा फिचर फिल्म गर्नुपर्छ भन्नुहुन्थ्यो। तर, उहाँको त्यो सपना अब अधुरै रहने भयो’ हल्का रमाइलोका निर्देशक तथा प्रमुख पात्रमध्येका एक मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे) सुनाउँछन् ‘उहाँ ठूलो प्रतिभा भए पनि सरल मानिस हुनुहुन्थ्यो। कलाकारिताको फिल्डमा लाग्दा धेरै मानिस भेटियो, तर उहाँजस्तो मान्छे भेटिएर पनि गुमाउनु पर्दा युनिटको होइन, घरकै मान्छे गुमाएको फिल भएको छ। हामीले उहाँसँग लगातार दुई वर्ष काम गर्‍यौँ। हप्ता—हप्तामा सँगै काम गरिन्थ्यो, तर कहिले बिझाउने कुरा र व्यवहार गर्नुभएन।

अभिनेता थापा विराटनगरको पित्रामा काजी खानदानमा जन्मिएका थिए। हाल भने राजधानीको गुहेश्वरीमा बस्दै आएका थिए। उनले कारणवश कोरोनाविरुद्वको खोप लगाउन पाएका थिएनन्।

‘उहाँ खोप लगाउन जानु पनि भएको थियो, तर पानी परेर या यस्तै केही भएर फर्कनुभएछ। खोप मात्र लगाउन पाउनुभएको भए पनि हामीले उहाँलाई यति चाँडै गुमाउनुपर्दैन थियो भन्ने लाग्छ’ मरिचमान भन्छन्—‘युनिटमा सबैभन्दा बलियो मान्छे नै उहाँजस्तो लाग्थ्यो। तर, कोरोना संक्रमणबाट उहाँलाई फर्काउन सकिएन।’ थापाको परिवारमा श्रीमती, एक छोरा र एक छोरी छन्।

प्रतिक्रिया दिनुहोस्