शहरी सौन्दर्यलाई वृद्धि गर्न प्राधिकरणको ‘उज्यालो र सफाइ शहर अभियान’


नेपाल समाचारपत्र, काठमाडौं ।

नेपाल विद्युत प्राधिकरणले शहरी सौन्दर्यलाई वृद्धि गर्न ‘उज्यालो र सफाइ शहर अभियान’ चलाउने भएको छ । उज्यालो शहर अभियानअन्तर्गत नगरपालिकाहरुसँगको समन्वय र सहकार्यमा मुख्य सडक, ऐतिहासिक सांस्कृतिक सम्पदाहरु, विश्व सम्पदा सूचीमा सूचीकृत तथा पर्यटकीय स्थानहरुमा सजावटयुक्त आधुनिक बत्ती (स्मार्ट लाइट) जडान गरिने प्राधिकरणले जनाएको छ ।

शहरको सौन्दर्य वृद्धि हुने, विद्युत् माग बढ्ने र रातिको खेर जाने विद्युत् पनि खपत हुने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो । साथै सफाइ अभियानअन्तर्गत मुख्य तथा सहायक सडकमा रहेका प्रयोगविहीन अनावश्यक विद्युतीय पोल तथा तार हटाउने, तार लाई भूमिगत गर्नेलगायतका काम अगाडि बढाइने कार्यकारी निर्देशक घिसिङले जानकारी दिनुभयो । पहिलो चरणमा उज्यालो र सफाइ शहर अभियान काठमाडौं उपत्यका, भरतपुर र पोखरा महानगरपालिकामा चलाइने र त्यसपछि विस्तार गर्दै देशभरी नै सञ्चालन गरिनेछ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आफ्नो कार्ययोजनामार्फत् वितरण लाइन तथा सबस्टेशनको क्षमता वृद्धि गर्दै वितरण प्रणालीको गुणस्तर सुधार गर्ने र शहरी क्षेत्रमा वितरण प्रणालीलाई भूमिगत गर्ने कार्यलाई विस्तार गर्दै लैजाने घोषणा गर्नुभएको थियो । यही घोषणालाई कार्यान्वयन गर्न प्राधिकरणले उज्यालो र सफाइ शहर अभियान चलाउन लागेको हो ।

‘अहिले सडकमा प्रयोगमै नरहेका अनावश्यक पोल जताततै देखिन्छन्, त्यसलाई हटाउन शुरु गरिसकेका छौं, विद्युतीय तारलाई भूमिगत बनाउन पहिलो चरणमा काठमाडौंको महाराजगन्ज र रत्नपार्क क्षेत्रमा धमाधम काम भइरहेको छ, शहरलाई कुरुप बनाएका विभिन्न सेवा प्रदायकको तारको जालोलाई हटाएर हाम्रै भूमिगत प्रणालीमा राखिने छ’, घिसिङले भन्नुभयो–‘हाल भइरहेको जमिन माथिको (ओभरहेड) वितरण प्रणालीभन्दा भूमिगत प्रणाली सुरक्षित हुने र शहरलाई कुरुप बनाइरहेको तारको जालो हटी सौन्दर्यता कायम राख्न सहयोग पुग्ने भएकाले यसलाई देशका प्रमुख शहरमा विस्तार गर्दैछौं ।’

प्राधिकरणले अहिले काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणालीलाई भूमिगत बनाउन काठमाडौंको रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा काम गरिरहेको छ । दोस्रो चरणमा काठमाडौंका बाँकी रहेका ठाउँ, ललितपुर, भक्तपुर, पोखरा, भरतपुरको तार भूमिगत गर्ने काम अगाडि बढाइसकेको छ । विद्युत्को तारसँगै अप्टिकल फाइबर पनि बिछ्याइने हुँदा इन्टरनेट, दूरसञ्चार, केबल टेलिभिजन सेवा प्रदायकले उक्त अप्टिकल फाइबर प्रयोग गरी सेवा प्रदान गर्न सक्नेछन् ।

प्राधिकरणले स्थानीय तहसँगको सहकार्यमा ऐतिहासिक धार्मिक, सांस्कृति, विश्व सम्पदामा सूचीकृत स्थान र सडकलाई राति उज्यालो बनाउन स्मार्ट बत्ती जाडान गर्न अभियान नै चलाउनेछ । ललितपुर महानगरपालिकाको सहभागितामा पहिलोे चरणको स्मार्ट सडक बत्ती जडान भइसकेको छ । डडेलधुराको अमरगढी नगरपालिकाको मुुख्य सडकमा सडक बत्ती जडान कार्य सम्पन्न भइसकेको छ ।

भरतपुर महानगरपालिका, झापाको कन्काई, दोलखाको भीमेश्वर, उदयपुरको बेलका, कञ्चनपुरको भीमदत्त नगरपालिकामा स्मार्ट सडक बत्ती जडान भइरहेको छ । काठमाडौ, पोखरा र ललितपुरको दोस्रो फेजको स्मार्ट सडक बत्ती जडानको लागि ठेक्का सम्झौता हुने अन्तिम चरणमा रहेको छ । उज्यालो शहर अभियानअन्तर्गत काठमाडौंको कोटेश्वर– भक्तपुर र कोटेश्वर–कलंकी सडक खण्ड, मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमा राखिएका बत्तीलाई हटाएर स्मार्ट लाइट जडान प्रक्रिया अगाडि बढिसकेको कार्यकारी निर्देशक घिसिङले बताउनुभयो ।
हाल देशभरबाट थप माग आइरहेको र करिब २० वटा नगरपालिकाबाट प्राप्त मागलार्ई कार्यान्वयनमा लैजाने तयारी गरिएको छ ।

जसमध्ये कैलालीको धनगढी, बाँकेको कोहलपुर, दाङको लमही तथा तुलसीपुर, मकवानपुरको हेटौडा, उदयपुरको गाईघाट, मोरङको सुन्दर हरैंचा, धनुषाको जनकपुर, काठमाडौंको कीर्तिपुर, बुढानीलकण्ठ, ललितपुरको महालक्ष्मी, काभ्रेको धुलिखेल, नुवाकोटको विदुरलगायतका नगरपालिका रहेका छन् । प्राधिकरणले स्मार्ट लाइट जडानका लागि देशभरका नगरपालिकासँग प्रस्ताव माग गरेको छ ।

नगरपालिकाहरुको ६० प्रतिशत र प्राधिकरणको ४० प्रतिशत लगानी अनुपातमा स्मार्ट लाइट जडान हुने छन् । लागत अनुमान, प्रविधिको छनोट, खरिद र निर्माणको सुपरीवेक्षण प्राधिकरणले गर्नेछ । नगरपालिकाहरुले आफैं शत्प्रतिशत लगानी गरेर बोलपत्र गरेमा प्राधिकरणले बोलपत्र प्रक्रिया र सुपरीवेक्षणका लागि प्राविधिक सहयोग उपलब्ध गराउने छ ।

विश्व सम्पदा सूचीकृत पशुपतिनाथ, स्वयम्भू, बौद्धनाथ, वसन्तपुर दरबार, पाटन दरबार, भक्तपुर दरबार, लुम्बिनी, जनकपुर, मुक्तिनाथ आदि क्षेत्रमा स्थानीय नगरपालिकाहरुसँगको समन्वय र सहकार्यमा सजावटयुक्त स्मार्ट लाइट जडान गरिने छन् । सडकका मुख्य चोकमा बढी उज्यालो दिने ठूलो बत्ती (लाइटिङ मास्ट) राखिने छ ।