जातीय विभेद अन्त्यको कार्यान्वयनमा ब्राह्मण समाज

0
Shares

मिला दरै, तनहुँ ।

ब्राह्मण समाज नेपाल तनहुँद्वारा जनैपूर्णिमा (ऋषितर्पणी)को अवसरमा आइतबार दमौलीमा सबै जातजातिलाई सामूहिक रक्षाबन्धन गरिएको छ । संस्कृति संरक्षण तथा जातीय विभेद अन्त्यको कार्यान्वयन गर्ने उद्देश्यले समाजले सामूहिक रक्षाबन्धन गरेको हो ।

कुनै पनि धर्म र शास्त्रमा जातीय विभेदका विषयमा उल्लेख नगरिएको भएपनि संस्कार र कामको वर्गीकरण अनुसार हुँदै गएको विभेदलाई न्यूनीकरण गर्नका लागि सामूहिक रक्षाबन्धन गरिएको समाजका जिल्ला अध्यक्ष कृष्णचन्द्र पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार समाजमा अझै पनि असमानता र विभिन्न जातजाति बीच भेदभाव हुँदै आएकाले समाजले विभेद अन्त्यका लागि पहिलो पटक दमौलीमा रक्षाबन्धन गरेको हो ।

शास्त्रीय विधिपूर्वक अभिमन्त्रित रक्षासूत्र समाजका सबै वर्ग एवं जातजातिका २५० जनालाई रक्षाबन्धन लगाइएको छ । ब्राह्मण समाज नेपालका केन्द्रीय सदस्य उपेन्द्र लम्सालले गण्डकी प्रदेश सभा सदस्य डोबाटे विश्वकर्मालाई रक्षाबन्धन गरिदिनुभएको थियो । रक्षाबन्धन बाँधेपछि सांसद विश्वकर्माले यस कार्यक्रमले जातीय विभेद अन्त्य हुँदै गएको आभास भएको बताउनुभयो ।

उहाँले हिन्दु धर्म, वेद र संस्कारले कुनै पनि जाति, वर्ग र कोही पनि फरक छैन भन्ने धार्मिक परम्परा छ, जातीय भेदभाव अन्त्यका लागि यस्ता सामूहिक कार्यले टेवा पु¥याएको बताउनुभयो । जातीय विभेद र छुवाछुत अझै पनि समाजमा रहेको उल्लेख गर्दै उहाँले विभेदलाई कानुनी रुपमा दण्डनीय मानेपनि केहीको मानसिकता परिवर्तन गर्न नसकिएको बताउनुभयो ।

‘लामो समयदेखिको क्रान्ति, आन्दोलन गरेर सबै वर्ग, जाति र समुदाय समान छ भनेर आवाज उठाउदै आएका थियौं, सोही अनुसार संविधानमा व्यवस्था गरिएको छ र ब्राह्मण समाजले संविधानमा भएको व्यवस्थालाई कार्यान्वयन गर्ने कार्यको थालनी गरेको छ, विभेद न्यूनीकरण लागि यस्तो कार्य अनुकरणीय छ,’ सांसद विश्वकर्माले भन्नुभयो । सामुहिक रक्षाबन्धन कार्यक्रमले सबै समान हो भन्ने सन्देश दिन खोजेको अनुभूति भएको उहाँले बताउनुभयो ।

बिहान ९ देखि साडे १२ बजेसम्म २५० जनाभन्दा बढीलाई रक्षाबन्धन गरिएको अध्यक्ष पाण्डेले जानकारी दिनुभयो । विगतमा रक्षाबन्धन गर्न मन लागेर पनि वञ्चित रहने सबै जातिजातिका मानिसको उल्लेख्य सहभागिता रहेको थियो । व्यास नगरपालिकाका प्रथम नगर प्रमुख ताराप्रसाद श्रेष्ठ, एनप्याब्सन तनहुँका अध्यक्ष रामकृष्ण विक, अमृत नेपाली लगायत विभिन्न जातजातिका व्यक्तिहरुलाई रक्षाबन्धन गरिएको थियो । कोरोना भाइरसको विषम परिस्थितिमा रक्षाबन्धन कार्य सहज बनाउनका लागि स्वास्थ्यका मापदण्ड पालना गरिएको समाजले जनाएको छ ।