प्रहरीकै योजनामा पत्रकारलाई फसाइयो

14
Shares

सञ्जय कार्की, रौतहट ।

प्रहरी आफैंले रोकिराखेको मोटरसाइकलमा प्रतिबन्धित लागूऔषध नाइट्रोभेट राख्न लगाएर एक सञ्चारकर्मीसहित दुई जनालाई फसाइएको तथ्य फेला परेको छ ।

गत साउन ३२ गते सदरमुकाम गौरस्थित वडा नम्बर १ बाट प्रतिबन्धित लागूऔषध ‘नाइट्रोभेट’ को १ सय ५ ट्याबलेटसहित पक्राउ गरिएका ईशनाथ नगरपालिका–८ निवसी रौतहट एक्सप्रेसका पत्रकार मोहम्मद मोजिबुल्लाह र राजपुर नगरपालिका–७ का शेख गुलाव अतिउल्लाहलाई उहाँहरू चढ्ने मोटरसाइकलको लेगगार्डमुनि लागूऔषध फेला परेको भन्दै पक्राउ गरिएको थियो ।

तर, पछि जिल्ला प्रहरी कार्यालय रौतहटमा घुमुवाको रुपमा कार्यरत प्रहरी सहायक निरीक्षक उदय यादव र प्रहरी जवान मनोज साहको योजनामा निर्दोष व्यक्तिलाई फसाइएकोे खुल्नआएको हो । नेपाल पत्रकार महासंघ रौतहटले सार्वजनिक गरेको सीसीटीभी क्यामेराको दृश्यमा रोकिराखेको मोटरसाइकमा धीरज यादव र जितेश यादवले प्रतिबन्धित लागूऔषध राखेको देखिएपछि प्रहरीले ती दुवै जनालाई पक्राउ गरेको छ ।

पत्रकार मोहम्मद मुजिबुल्लाहलाई रौतहटको सदरमुकामगौर स्थित वडानम्बर १ मा रहेको ग्रीन सिग्नल होटलका सञ्चालकले विज्ञापन प्रसारित गर्ने बहानामा बोलाएर साढे दुई घण्टा खाजा खुवाएर अल्झाएको र सोही समयमा योजनामुताबिक मोटरसाईकलको लेगगार्डमुनि प्रतिबन्धित लागूऔषध राखिएको पाइएको छ । प्रहरीले लागूऔषध राख्ने दुई जनालाई पक्राउ गरे तापनि खाजा खुवाएर अल्मल्याई राख्ने होटलका सञ्चालक भने पक्राउ परेका छैनन् ।

पत्रकार मोहम्मद मुजिबुल्लाहले आफ्नो अनलाइनमा केही दिनअघि ती घुमुवा प्रहरीको बारेमा समाचार लेखेको कारण उनलाई नियोजित रूपमा फसाइएको हुन सक्ने नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झाले बताउनुभयो । प्रदेश प्रहरी प्रमुख उमेश रन्जितकारले यस घटनालाई आफूले गम्भिरतापूर्वक लिएको र दोषीलाई कानुनी दायरामा ल्याउने बताउनुभयो । प्रहरी नायब उपरीक्षक नारायण चिमरियाले घटनाको अनुसन्धान भइरहेको बताउनुभयो । प्रहरीको प्रतिशोधपूर्ण व्यवहारको सर्वत्र निन्दा र आलोचना भएको छ । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शिव पुरीले अपराध नियन्त्रण गर्नुपर्ने सुरक्षाकर्मीबाट दुराशयपूर्ण कार्य हुनु आपत्तिजनक रहेको बताउनुभयो ।