कोभिड खोप लाउने ५० लाख, एक सय ६९ बिरामी भेन्टिलेटरमा

252
Shares

काठमाडौं (नेस) ।

कोभिड– १९ विरुद्धको खोप लगाउने नेपालीको संख्या ५० लाख निकट पुगेको छ भने भेन्टिलेटरमा उपचार गराइरहेका संक्रमित १ सय ६९ रहेका छन् । ३८ हजार ७ सय ५१ सक्रिय संक्रमितमध्ये ६ सय ८१ जना विभिन्न अस्पतालको सघन उपचार कक्षमा छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथाङ्कअनुसार अन्य संक्रमितहरू होम आइसोलेसनमा र संस्थागत आइसोलेसनमा रहेका छन् । मन्त्रालयले जानकारी दिएअनुसार ३५ हजार ५ सय ५५ जना होम आइसोलेसनमा छन् भने ३ हजार १ सय ९६ जना संस्थागत आइसोलेसनमा छन् । ४ सय २१ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १२ हजार ५ सय १६ जनाको परीक्षण गर्दा १ हजार ९ सय २० जना नयाँ संक्रमित थपिएका छन् । कोरना संक्रमणको कारण २४ घण्टामा २४ जनाको मृत्यु भएको जनाइएको छ ।

कोभिड १९ विरुद्ध पूर्ण मात्रा खोप लगाउनेको संख्या आइतबारसम्म ३८ लाख ४६ हजार ७ सय ३६ पुगेको पनि मन्त्रालयले जनाएको छ । पहिलो मात्रा खोप लगाउनेको संख्या भने ४९ लाख ४२ हजार २ सय ५० पुगेको छ ।