मकवानपुरमा कोरोना संक्रमितको संख्या शून्य

1.9k
Shares

न्युज अफ नेपाल, हेटौंडा ।

मकवानपुरमा आइतबार कोरोना संक्रमण हुनेको संख्या शून्य रहेको छ । जिल्लामा १४ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि हुनेको संख्या शून्य देखिएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

हेटौंडा उपमहानगरपालिकाका १२ जना र मनहरी गाउँपालिकाका २ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो । जिल्लामा कोरोना जित्नेको संख्या ४१ जना छ । यससँगै जिल्लामा हालसम्म १४ हजार ५ सय ४ जनामा कोरोना पुष्टि भएको छ भने १४ हजार १ सय २५ जनाले कोरोना जितेका छन् ।

जिल्लामा पछिल्लो २४ घण्टामा थप एक संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी गाउँपालिका वडा–१ की ९३ वर्षीया वृद्धा छन् । वृद्धाको शनिबार साँझ उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

यससँगै कोरोनाका कारण मनहरीमा मृत्यु हुनेको संख्या १२ पुगेको छ भने जिल्लामा मृत्यु हुनेको सख्या १ सय ५७ पुगेको कार्यालयले जनाएको छ । जिल्लामा हाल १ सय ४९ जना संक्रमित घरमा र २९ जना संक्रमित संस्थागत् आइसोलेसनमा उपचाररत् छन् ।