नाडालको सिजन २०२१ अन्त्य भयो

14
Shares

न्युयोर्क, (एजेन्सी) ।

राफाल नाडालले वर्षको अन्तिम ग्रान्डस्लाम टेनिस प्रतियोगित यूएस ओपनमा सहभागिता नहुने भएका छन् । खुट्टाको चोटका कारण नाडालले यूएस ओपनमा सहभागिता नजनाउने बताइएको हो । यो मात्रै होइन स्पेनी टेनिस स्टार खेलाडीले २०२१ सिजन नै गुमाउनेछन् । २० ग्रान्डस्लाम विजेता नाडाल सिनसिनाटी मास्टर्समा पनि सहभागि हुनेछैनन् । उनले गत साता क्यानेडियन ओपनबाट पनि नाम फिर्ता लिएका थिए ।

नाडालले वर्षमै हुने तेस्रो ग्रान्डस्लाम टेनिस प्रतियोगिता विम्बल्डनमा पनि भाग लिएका थिएनन् । उनले जापानमा भएको ओलम्पिकमा पनि सहभागिता जनाएका थिएनन् । उनी जुनमा वर्षमै हुने दोस्रो ग्रान्डस्लाम टेनिस प्रतियोगिता फ्रेन्च ओपनको समयमै घाइते भएका थिए । उनले त्यतिबेला फ्रेन्च ओपनको उपाधि रक्षा गर्न अक्षम भए । उनी नोभाक जोकोभिचसँग सेमिफाइनलमा पराजित भएका थिए ।

यूएस ओपनबाट नाम फिर्ता लिनेमा नाडाल तेस्रो स्टार खेलाडी हुन् । यसअघि यूएस ओपनको गत संस्करणका विजेता डोमिनिक थिएमले पनि नाम फिर्ता लिएका हुन् । यस्तै यूएस ओपनमा पाँच पटक उपाधि जितेका रोजर फेडेररले पनि प्रतियोगिताबाट नाम फिर्ता लिएका हुन् । स्विस खेलाडी फेडेररको घुँडाको शल्यक्रिया गर्नु परेको हुनाले प्रतियोगिताबाट अलग भएका हुन् । यूएस ओपन ३० अगस्टदेखि शुरु हुँदैछ ।

जोकोभिचलाई मौका

मेन्स सिंगल्स ग्रान्डस्लाम टेनिसमा सर्वाधिक उपाधि जित्ने सूचीमा फेडेरर, नाडाल र सर्बियाका जोकोभिच संयुक्तरूपमा शीर्ष स्थानमा छन् । टेनिस जगतमा बिग थ्री भनेर परिचित यी तीनै जना खेलाडीले समान २० मेन्स सिंगल्स ग्रान्डस्लाम उपाधि जितेका छन् । नाडाल र फेडेरर प्रतियोगिताबाट अलग भएपछि जोकोभिचको लागि एक्लै सर्वाधिक ग्रान्डस्लाम उपाधि जित्ने खेलाडी बन्ने मौका आएको छ ।