रियल बेटिस र क्याडिजको दोस्रो बराबरी

14
Shares

मेड्रिड, (एजेन्सी)  ।

स्पेनिस ला लिगाअन्तर्गत शुक्रबार राति भएको दोस्रो चरणको खेलमा रियल बेटिस र क्याडिजले बराबरी खेल्दै अंक बाँडेका छन् ।

रियल बेटिसको घरेलु मैदान बेनिटो भिल्लामारिन स्टेडियममा भएको खेलमा बेटिस र क्याडिज १–१ गोलको बराबरीमा रोकिए । निकै प्रतिस्पर्धात्मक खेलमा दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो । खेलमा शुरूवाती अग्रता पाहुना टोली क्याडिजले लियो । ११औं मिनेटमा अल्भारो नेग्रेडोले पेनाल्टीमार्फत गोलको खाता खोले । डिबक्सभित्र बेटिसका गोलरक्षक रुई सिल्भाले क्याडिजका एन्टोनी लोजानोलाई खराब ट्रयाकल गरेपछि क्याडिजले पेनाल्टी पाएको थियो ।

त्यसपछि बेटिसले २२औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्यायो । बेटिसका लागि जुआनमीले बराबरी गोल गरे । उनले इडगर गोन्जालेजको पासमा गोल गरेका थिए । बल पोसेसनमा बेटिस बलियो देखिएको थियो । ७५ प्रतिशत बल पोसेसन राख्न सफल बेटिसले दोस्रो हाफका गोल गर्ने राम्रा अवसर खेर फाल्यो । यता २५ प्रतिशत मात्र बल पोसेसन राखेको क्याडिज आफ्नो डिफेन्सिभ रणनीतिमा सफल रह्यो । क्याडिजका मिडफिल्डर थोमस अर्लाकोन ‘म्यान अफ दी म्याच’ भए ।

जारी लिगमा बेटिस र क्याडिजको यो लगातार दोस्रो बराबरी हो । नयाँ सिजनको शुरूवाती खेलमा पनि यी दुवै टोली १–१ गोलको बराबरीमा रोकिएका थिए । पहिलो खेलमा बेटिस मालोर्कासँग बराबरीमा रोकिएको थियो । क्याडिजले घरेलु मैदानमा लेभान्तेसँग एक एक अंक बाँडेको थियो ।