विद्युत् महशुल गाउँपालिकाले तिरिदिने

28
Shares

पर्वत, (नेस)  ।

पर्वतको मोदी गाउँपालिकाले गाउँपालिकाबासीले प्रयोग गर्ने न्युनतम २० युनिट विद्युत्को महशुल तिरिदिने भएको छ । पालिकाभित्रका विपन्न परिवार र २० युनिटभन्दा कम विद्युत् खपत गर्ने परिवारको विद्युत् महसुल गाउँपालिकाले तिर्ने भएको हो ।

चालू आर्थिक वर्षदेखि पालिकाबासीको सबै विद्युत् महशुल तिर्ने योजना बनाएको छ । गाउँपालिकाले यसका लागि चालू आर्थिक वर्षमा २० लाख रुपियाँ विनियोजन गरेको छ । पालिकाले कस्तो आर्थिक हैसियत भएका र कुन–कुन समुदाय तथा वर्गका परिवारको महशुल तिर्ने भन्नेबारे कार्यविधि निर्माण गरिरहेको छ । अहिले निर्माणाधीन कार्यविधिमा मासिक आय कम हुने, विपन्न तथा दलित परिवारलाई प्राथमिकतामा राखेको छ । कार्यविधि तयार भइसकेपछि सबै स्पष्ट हुने गाउँपालिकाका प्रवक्ता विमल लामिछानेले बताउनुभयो । उहाँका अनुसार कार्यविधि निर्माणको चरणमा छ । ‘विपन्न परिचयपत्र भएको भए विपन्नलाई मात्रै दिने कुरा हुन्थ्यो,’ परिचयपत्र नभएपछि २० युनिटभन्दा कम विद्युत् उपयोग गर्ने जोसुकैलाई दिनुपर्छ भन्ने कुरा उठेको छ । सोहीअनुसार हुन्छ होला ।’ उहाँको भनाइ छ ।

विद्युत् उत्पादनका हिसाबले धौलागिरि क्षेत्रमै चर्चित ऊर्जा खोलाका उपनामले परिचित मोदी खोलाकै नामबाट मोदी गाउँपालिकाको नामकरण भएको हो । मोदीमा अहिले निर्माण सम्पन्न भएका दुई र यही वर्षभित्रै उत्पादन दिने गरी निर्माणाधीन दुई विद्युत् आयोजना छन् । अरु दुई आयोजनासमेत निर्माणको चरणमा छन् । हालसम्म नेपाल विद्युत् प्राधिकरणको मोदी खोला तथा निजी क्षेत्रको युनाइटेड मोदी जलविद्युत् आयोजना गरी २४ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । निजी क्षेत्रका दुई आयोजनाको ३५ दशमलव १ मेगावाट जलविद्युत् आयोजना निर्माणाधीन छन । अहिले भइरहेका आयोजनाबाट मोदी गाउँपालिकाले वार्षिक १ करोड ३० लाख रुपियाँ रोयल्टी प्राप्त गर्छ । सोही रोयल्टीबाट प्राप्त रकमबाट पालिकावासीलाई विद्युत् महसुलमा छुट दिन लागिएको गाउँपालिकाले जनाएको छ ।