भारतीय ओभरलोड गाडीविरुद्ध व्यवसायी आन्दोलित

28
Shares

नेपाल समाचारपत्र, बुटवल ।

भारतीय ओभरलोड गाडीका कारण नेपाली यातायात व्यवसायीको पेसा संकटमा परेको भन्दै नेपाली ट्रक व्यवसायीहरुले आन्दोलन चर्काउने संकेत गरेका छन् । पटक–पटकको अनुरोध सरकारले नसुनेपछि अब सडकमै सुतेर भए पनि भारतीय ओभरलोडलाई निर्मूल गर्ने व्यवसायीको भनाइ छ ।

लुम्बिनी प्रदेश नेपाल ट्रक यातायात व्यवसायी समिति र ढुवानी समितिले शनिबार भैरहवामा पत्रकार सम्मेलनमा सरकारले भारतीय ओभरलोड गाडीहरु व्यवस्थापन गर्नुपर्ने र यसो नगरे भारतीय ओभरलोड रहेका सामान नेपाल छिर्न नदिने चेतावनी दिएका छन् ।

नेपाल ट्रक यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेलले अहिले सरकारले मालवाहक सवारीका लागि भाडादर तोके पनि ओभर लोडकै कारण नेपाली ट्रक व्यवसायीले न्यूनतम भाडादर पनि नपाउने समस्या रहेको दाबी गर्नुभयो । भारतीय ट्रक तुलनात्मक रुपमा सस्तो रहेको, ओभरलोड बोकेको कारण नेपाली ट्रकहरु भारतीयको प्रतिस्पर्धा गर्न नसकेको उहाँको भनाइ छ । सरकारले असार २९ गते निर्णय गर्दै नेपालका विभिन्न ६१ स्थानका लागी मालबाहक सवारीको लागी भाडादर तोकिदिएको छ । करिब ७ वर्षयता भाडादर समायोजन नभएको अवस्थामा अहिले समायोजन भए पनि तोकिएको भाडा नपाउने अवस्था रहेको छ ।

नेपालका सडक र पुलको क्षमताअनुसार यो मापदण्ड निर्धारण गरिए पनि भारतीय मालबाहक गाडीले क्षमताभन्दा दोब्बर बढी भार बोक्ने गरेका छन् । ९६ टनसम्म भारवाहन गरेका मालवाहक गाडीहरु नेपाल भित्रिरहदा ट्राफिक प्रहरीले १ हजार ५ सय जरिवाना लिएर नेपाल भरि प्रवेशको स्विकृति दिएको हुन्छ ।