स्थानीय तहमा आर्थिक बेथिति साडी, कुर्ता, भत्तामा करोडौं खर्च

70
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

जनतासँग प्रत्यक्ष सम्पर्कमा रहेका स्थानीय तहमा आर्थिक बेथिति उच्च देखिएको छ । महालेखा परीक्षकको ५८औं वार्षिक प्रतिवेदनमा स्थानीय तहमा उच्चरूपले कानुन विपरित खर्च गरेको उल्लेख भएसँगै यस्तो तस्वीर देखिएको हो ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अन्तर्गत औचित्यताका आधारमा खर्च गर्नुपर्ने व्यवस्था भए पनि विविध खर्च शीर्षकमा मात्रै ४७१ स्थानीय तहले एक अर्ब ३१ करोड ८८ लाख २० हजार रुपियाँ खर्च गरेको तथ्य फेला परेपछि स्थानीय तहको बेथिति सार्वजनिक भएको छ । त्यस्तै ३४३ स्थानीय निकायमा एक अर्ब ३३ करोड रुपियाँको सवारी साधन खरिद गरेको पाइएको छ । ६० स्थानीय तहले वडा सदस्यलगायत जनप्रतिनिधि र कर्मचारीको अवलोकन भ्रमणमा मात्रै ७ करोड ७८ लाख ८० हजार रुपियाँ खर्च गरेका छन् ।

प्रतिवेदनअनुसार १२९ स्थानीय तहले पुँजीगत शीर्षकमा बजेट विनियोजन गरेर चालू कार्यमा ३६ करोड ७७ लाख ८७ हजार रुपियाँ खर्च गरेका छन् । आर्थिक सहायताको नाममा ४३६ स्थानीय तहले ६२ करोड ३ लाख १० हजार रुपियाँ वितरण गरेका छन् भने २२५ स्थानीय तहले स्थानीय संघसंस्था, क्लबलाई २१ करोड २२ लाख ३६ हजार रुपियाँ बाँडेका छन् ।

प्रतिवेदनअनुसार ५२० स्थानीय तहले खरिद गुरुयोजना तथा ४९१ स्थानीय तहले वार्षिक खरिद योजना नै बनाएका छैनन् । कूल ५२९ स्थानीय तहले प्रतिस्पर्धा नै नगराई विभिन्न निर्माण कार्य, वस्तु तथा सेवा सोझै खरिद गरेका छन् । त्यस्तो खरिदमा ५ अर्ब ९२ करोड ५३ लाख ४६ हजार रुपियाँ खर्च भएको छ ।१७० स्थानीय तहले नागरिकता नम्बर र जन्म मिति एउटै भएका लाभग्राहीलाई २२ करोड ५६ लाख ९५ हजार रुपियाँ मृत्यु भएका, दोहोरो नाम भएकालाई समेत सामाजिक सुरक्षा भत्ता वितरण गरिएको पाइएको छ । यस्तै, ३८ स्थानीय तहले केन्द्रीय सूचना प्रणालीमा नाम समावेश नभएका विभिन्न व्यक्तिलाई ७८ करोड ८९ लाख रुपियाँ भत्ता वितरण गरेको छ ।

स्थानीय तहको बेथिति तुलनात्मक रूपमा प्रदेश नम्बर २ मा बढी देखिएके छ । महालेखाको प्रतिवेदनमा रौतहटको ईशनाथ नगरपालिकाले साडी, कुर्तामा १० लाख ९७ हजार, फतुवा विजयपुरले साडी, ग्यास वितरणमा ८८ लाख ८६ हजार, मौलापुर नगरपालिकाले ग्यास चुलो वितरणमा ५० लाख गरी १ करोड ५० लाख ३३ हजार खर्च गरेको उल्लेख छ ।

पर्साको कालिकामाई, विन्दवासिनी छिपरमाई, सखुवा प्रसौनी, सर्लाहीको विष्णु र बाराको प्रसौनी गाउँपालिकाले ३ करोड ५७ लाख ६६ हजार रुपियाँ ग्यास चुलोमा खर्च गरेका छन् ।