म स्वतन्त्र हुँ : शाही


बुटवल, (नेस) ।

नेकपा एमालेले कारबाही गरेका लुम्बिनी प्रदेशका सांसद तथा विनाविभागीयमन्त्री अजय शाहीले आफू स्वतन्त्र भएको दाबी गर्नुभएको छ् । उहाँले नेकपा एमाले लुम्बिनी प्रदेशले आफूसँग स्पष्टीकरण माग गरेको र प्रदेश सभा सदस्यबाट समेत निष्कासन गर्न कारबाही प्रक्रिया अगाडि बढाएको कुरा कानुनी र राजनीतिक रूपमा कुनै औचित्य नरहेको बताउनुभयो ।

शनिबार रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले बुटवलमा आयोजना गरेको साक्षात्कारमा बोल्दै शाहीले निर्वाचनमा हृदय त्रिपाठीको नेतृत्वमा रहेको तत्कालीन स्वतन्त्र समूह र नेकपा एमालेबीच ०७४ असोज १६ गते भएको राजनीतिक सम्झौताअनुसार सूर्य चिन्हको प्रयोग गरी स्वतन्त्र रूपमै चुनाव जितेको दाबी गर्नुभयो । नवलपरासीबाट चुनाव जितेका सांसद शाहीले भन्नुभयो– ‘मैले चुनावमा मात्रै चिन्ह लिएको हो, नैतिक र राजनीतिक रूपमा म स्वतन्त्र छु ।’

नेकपा एमाले संसदीय दलका सचिव तथा पूर्वस्वास्थ्यमन्त्री भोजप्रसाद श्रेष्ठले विधि र कानुन सम्भवतः नचलेसम्म प्रदेश सभा अवरुद्ध गर्ने बताउनुभयो ।

सूर्य चिन्ह लिएर जनताको मत प्राप्त गरी चुनाव जितेका प्रतिनिधि नैतिक र राजनीतिक रूपमा एमालेकै भएको हुँदा प्रतिपक्षले मन्त्री बनाउँदा पनि सभामुखले राजनीतिक पूर्वाग्रह राख्दै कारबाही नहुनु विधि सम्मत छैन’ –उहाँको टिप्पणी रहेको छ ।

लुम्बिनी प्रदेश सभाभित्रको किचलो छिटोभन्दा छिटो समाधान गर्न कानुनविद्हरूले सभामुखलाई सुझाव दिएका छन् । कार्यक्रममा आफ्ना तर्कहरू राख्दै कानुनविद महेन्द्र पाण्डेले अजय शाही हृदेश त्रिपाठीको स्वतन्त्र राजनीतिक समूहबाट चुनावमा तत्कालीन नेकपासँग तालमेल गरेर निर्वाचित भएको तर हैसियतका हिसाबले र सहमतिका बुँदाको हिसाबले स्वतन्त्र रहेको बताउनुभयो । अर्का कानुननिद् नगेन्द्र बस्यालले अजय शाहीले सूर्य चिन्हबाट चुनाव जितेको बताउँदै एमालेले कारबाही गर्न स्वाभाविक रहेको दाबी गर्नुभयो । कार्यक्रम रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको थियो ।