ललितपुर महानगर–चन्दननाथ नगरबीच भगिनी सम्बन्ध

0
Shares

नेपाल समाचारपत्र, ललितपुर ।

ललितपुर महानगरपालिका र जुम्लाको चन्दननाथ नगरपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ । विकासका योजना र अनुभव आदान–प्रदान गर्ने उद्देश्यले दुई स्थानीय तहबीच भगिनी सम्बन्ध कायम राख्न समझदारी पत्रमा हस्ताक्षर भएको हो । सम्झदारीपत्रमा पत्रमा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन र चन्दननाथ नगरपालिकाको तर्फबाट नगरप्रमुख कान्तिका सेजुवालले भगिनी सम्बन्ध समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।

अब ललितपुर महानगर र चन्दननाथ नगरपालिकाबीच योजना तथा कार्यक्रमको आदानप्रदान, संस्कृति, परम्परा संरक्षण गर्ने तरिका तथा अन्य क्षेत्रका अनभुव र सीप साटासाट हुने ललितपुर नगरप्रमुख महर्जनले बताउनुभयो ।

चन्दननाथ नगरपालिकाका प्रमुख कान्तिका सेजुवालको प्रस्तावमा ललितपुर महानगरले चन्दनाथ नगरसँग भगिनी सम्बन्ध जोडेको हो । विश्वका अन्य मुलुकसँग भगिनी सम्बन्ध कायम राखे पनि ललितपुरले देशभित्रका अन्य स्थानीय तहसँग यसअघि भगिनी सम्बन्ध कायम राखेको थिएन । चन्दननाथ नगरपालिकासँग यो सम्बन्ध जोड्न पाएकोमा अत्यन्तै खुसी लागेकोे ललितपुर महानगरप्रमुख चिरीबाबु महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो– ‘यो सम्बन्ध जोड्न पाउँदा हामी निकै खुसी छौं, अब हामीले एकअर्कालाई दुःखसुखमा साथ दिनेछौं ।’

आफ्नो नगरमा भएका विकासका योजना तथा कार्यक्रमहरू चन्दननाथ नगरपालिकालाई सिकाउने बताउँदै नगरप्रमुख महर्जनले छिट्टै नयाँ योजना लिएर जुम्ला पुग्ने बताउनुभयो । भगिनी सम्बन्ध कायम गरेर ललितपुर महानगरसँग सहकार्य गर्ने योजना बनाएकी चन्दननाथ नगरपालिकाकी प्रमुख कान्तिका सेजुवालले ललितपुरले आफ्नो प्रस्ताव स्वीकार गरेकोमा खुसी व्यक्त गर्नुभयो ।

उहाँले भन्नसभयो– ‘ललितपुर महानगरसँग मितेरी साइनो जोड्न पाउँदा खुसी लागेको छ, हाम्रा अनुभव र कार्यक्रम साटासाट गर्दा हामी समृद्ध हुनेछौं ।’ नगरप्रमुख सेजुवालले जुम्लाले हासिल गरेका अनुभव ललितपुरलाई सिकाउने र ललितपुरबाट पनि धेरै कुरा सिक्ने बताउनुभयो ।