चोरीधन्दा गर्न कोहलपुरमा ‘कोठा’


नेपाल समाचारपत्र, बाँके ।

सुर्खेतका चार जना युवाले एउटा भट्टीमा बसेर योजना बनाए, चोरी धन्दा गर्ने । चोरी त गर्ने, कहाँ गर्ने ? कसरी गर्ने ? चारै जनाको निष्कर्ष निस्कियो, बाँकेको कोहलपुरमा कोठा लिएर बस्ने । त्यहीबाट चोरीधन्दा गर्ने ।

चारै जना कोहलपुर आए । दशबिगाहनजिक कोठा भाडामा लिए, महिनाको २ हजार ५ सय तिर्ने गरी । कोठा भाडा, खाना खर्च सबै चोरीधन्दाबाटै पुर्‍याउने रणनीति थियो । यही रणनीतिका साथ चारैजना आ–आफ्नो ‘डिउटी’मा निस्किन्थे ।

एक हप्ताअघि एक जना मोबाइल चोर्दै गर्दा रंगेहात समातिए । इलाका प्रहरी कार्यालय, कोहलपुरले गम्भीरतापूर्वक चोरका बारेमा अनुसन्धान गर्‍यो । हेर्दा सामान्य मोबाइल चोरेको जस्तो देखिए पनि प्रहरीका लागि यो ठूलो घटना थियो । किनकि, केही दिनदेखि कोहलपुरमा मोटरसाइकल, मोबाइल र अन्य सामान चोरीका घटना बढेको थियो । प्रहरी कार्यालय अगाडिबाट नै मोटरसाइकल चोरी भएपछि प्रहरीको चर्को आलोचना भइरहेको थियो । यस्ता आलोचना अनि चोरीलाई निस्तेज पार्न कोहलपुर प्रहरीले सई गोपालकुमार मल्लको कमान्डमा सात जनाको टोली नै चोरी नियन्त्रणमा खटाएको थियो । यो टोलीको काम नै नयाँ र पुराना चोरको लिस्ट तयार पार्ने र उनीहरुलाई निगरानी गर्ने थियो ।

टोलीले चोरको बारेमा नयाँ कुराहरु पत्ता लगाएको छ । सुर्खेतबाट चोरीधन्दा गर्न कोहलपुर आएका चार जनामध्ये तीन जना सुदूरपश्चिम गएका छन् । कोहलपुरसँग कनेक्सन भएका २० जना क्रियाशील चोर पत्ता लागेको छ । कोहलपुरका चोरको कनेक्सन सुर्खेत, सल्यान, रुकुम, जाजरकोटसम्म रहेको खुलेको छ ।

इलाका प्रहरी कार्यालय, कोहलपुरका डीएसपी रवीन्द्र खनालले केही दिनयता सात जना चोरलाई पक्राउ गरेर थुनेको जानकारी दिनुभयो । उहाँका अनुसार धेरै चोर तारेखमा रहेका छन् । यहाँबाट चोरी गरेर पहाडी जिल्लासम्म पु¥याउने चोरको सञ्जाल भत्काउन प्रहरी लागि परेको छ । डीएसपी खनालले कोठा भाडामा लिएर बसेका चोरले चोरी गरेको १ लाखको सामान भए पनि ५÷१० हजारमै बेच्ने गरेको खुलेको बताउनुभयो ।

कोहलपुर प्रहरीले बिहीबारमात्रै कोहलपुर बसपार्क पूर्वतर्फको सडकबाट भे३प ६००४ नम्बरको मोटरसाइकल चोरी गरेर लैजाँदै गरेको अवस्थामा तीन जनालाई पक्राउ गरेको थियो । चोरबाट बरामद भएको मोटरसाइकल चन्द्रबहादुर गिरीको भएको खुलेपछि मोटरसाइकल दिइएको छ । प्रहरीले मोटरसाइकलसँगै रुकुम चौरजहारीका अनुप चन्द, सुन्दर मल्ल र अम्बर विकलाई पक्राउ गरेको छ । उनीहरुको साथबाट मोटरसाइकल सामानहरु बरामद भएको छ ।

बाँकेको कोहलपुर नेपालगञ्जपछिको ठूलो शहर हो । पूर्व–पश्चिम र उत्तर–दक्षिण सडक सञ्जालमा रहेको कोहलपुरमा अपराध गरेर फरार हुन सजिलो रहेको जानकारहरु बताउँछन् । त्यसो त नेपालगञ्जमा पनि ब्राउनसुगर र चोरीधन्दा गर्नका लागि कोठा लिएर बस्ने गरेको पाइएको छ । केही महिनाअघि मात्रै नेपालगञ्जको कोरियनपुरबाट कोठा भाडा लिएर बस्ने भारतीयलाई ठूलो मात्रामा ब्राउनसुगरसहित पक्राउ गरिएको थियो । बाँकेको नेपालगञ्ज र कोहलपुरमा लागूऔषध कारोबार र चोरी घटनाले प्रहरीलाई हैरान बनाउने गरेको छ ।