दुईको मृत्यु, २८ जना थपिए


बाँके, (नेस) ।

नेपालगञ्जमा दुई दिनयता कोरोना संक्रमितको लगातार मृत्यु भएको छ । मृत्यु हुनेमा धेरैजसो बाहिरी जिल्लाका रहेका छन् । शक्रबार राति कैलाली र बाँकेका एक/एक जनाको मृत्यु भएको थियो । कैलालीको घोडाघोडी नगरपालिकाका ६९ वर्षीय पुरुष र बाँकेको कोहलपुर नगरपालिका वडा नं. २ का २४ वर्षीया महिलाको मृत्यु भएको हो ।

कैलालीका ६९ वर्षीय पुरुषको भदौ ४ गते नेपालगञ्ज मेडिकल कलेजमा पीसीआर गरिएको थियो भने त्यही दिन भेरीमा भर्ना गरिएको थियो । उनको राती ८.३० बजे मृत्यु भएको छ ।

कोहलपुरका २४ वर्षीया महिलाको साउन २० गते कोहलपुरमा पीसीआर गरिएको थियो । साउन २३ गते उनलाई भेरीमा भर्ना गरिएको थियो । उनको राती ९ बजे मृत्यु भएको थियो । कोरोनाबाट अहिलेसम्म बाँके निवासी ३ सय २६ र अन्य जिल्लाबाट उपचार गराउन बाँकेमा आएका ३ सय ९१ जनाको मृत्यु भएको छ ।

यसैबीच, शनिबार बाँकेमा २८ जनालाई कोरोना पुष्टि भएको छ । जिल्लाका तीनवटा ल्याबमा १ सय ५ जनाको परीक्षण गर्दा २८ जनामा कोरोना देखिएको हो । कोरोना देखिएकामध्ये बाँके जिल्ला निवासी १५ जना रहेका छन् । बाँकेको १५ जनामध्ये कोहलपुरका १३ जना रहेका छन् ।

भेरी अस्पतालमा ४० जनाको परीक्षण गर्दा ६ जना, कोहलपुर मेडिकल कलेजमा ५१ मा २० र बागेश्वरी ल्याबमा १४ जनाको परीक्षण गर्दा २ जनामा कोरोना पुष्टि भएको हो । जिल्लामा सक्रिय संक्रमित १ सय ७५ जना पुगेका छन् । अस्पतालहरुमा ३५ जना सिरियस, ३३ जना मध्यम र ५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । शनिबार २२ जना डिस्चार्ज भएका छन् ।

यसै गरी, नेपालगन्ज नाकामा कोरोना परीक्षण गरिएका एक जना युवाको शव फेला परेको छ । नेपालगञ्ज बसपार्क परिसरमा ३२ वर्षका श्याम राईको शव फेला परेको बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले जानकारी दिनुभयो ।

राईले नेपालगञ्ज नाका जमुनाहा कोरोना परीक्षण गरेको पर्चा फेला परेको छ । नेपालगञ्ज नाका जमुनाहामा भारतबाट फर्किने नेपालीको कोरोना जाँच हुने गर्दछ । यस अर्थमा मृतक भारतबाट फर्किएको अनुमान गरिएको छ ।