कृषकलाई कृषि यन्त्र हस्तान्तरण


नेपाल समाचारपत्र, काभ्रे ।

कृषिमा प्रविधि र यान्त्रीकरणमार्फत थोरै लगानीमा धेरै आयआर्जन हासिल गर्ने उद्देश्यले गौरीशंकर साना किसान कृषि सहकारी संस्था धुलिखेल १२ शंखुपाटीचौरले सदस्यहरुका लागि प्रदेश सरकारको सहयोगमा कृषि ज्ञान केन्द्रमार्फत ५० प्रतिशत अनुदानमा कृषि यन्त्र उपकरण उपलब्ध गराएको छ ।

धुलिखेल नगरपालिका–१२ र १०, नमोबुद्ध नगरपालिका–११ र पनौती नगरपालिका–९ र १० का १ हजार ६ सय सदस्य रहेको उक्त सहकारीले हरेक वर्ष कृषिमा यन्त्र उपकरणसहितको प्रविधि उपलब्ध गराउँदै कृषकलाई आवश्यक पर्ने बिउबिजन, तालिम र अन्य कृषि क्षेत्रका सहयोगहरु उपलब्ध गराउँदै आएको छ । ‘कृषकहरुका लागि सहज र समयै रसायनिक मल उत्पन्न हुन जरुरी छ’, अध्यक्ष सीताराम भट्टराईले भन्नुभयो– ‘यन्त्र उपकरणका लागि प्रदेशसभा सदस्य चन्द्र लामासहित वागमती प्रदेश सरकारलाई धन्यवाद दिन चाहन्छौं ।’ वागमती प्रदेश सदस्य चन्द्र लामाले कृषकहरुलाई प्राप्त सामग्री हस्तान्तरण गर्नुभएको थियो । ‘पदमा भएका व्यक्तिहरुलाई भनसुन नगरी कृषकहरुको सहज पहुँच पुग्न सक्दैन भन्ने अवस्था अन्त्य हुँदै छ’, सदस्य चन्द्र लामाले भन्नुभयो– ‘कृषि, सडक, पुल, खानेपानी, सिँचाइ, शिक्षा, स्वास्थ्य क्षेत्रमा पर्याप्त बजेट विनियोजन गरिएको छ ।’

अनुदानमा प्राप्त ११ वटा ७.५ हर्स पाओरको खेतबारी जोत्ने ट्याक्टर, पीठो पिध्ने मेसिन ६ वटा, धान र पीठो दुवै पिध्ने मेसिन एक वटा, मकै छोडाउने मेसिन ५ वटा, टनेल ७ थान र स्पे्र पम्प २० थान यन्त्र उपकरण कृषकहरुलाई हस्तान्तरण गरिएको थियो । संस्थाका अध्यक्ष सीताराम भट्टराईले कृषकहरुलाई आवश्यक पर्ने सामग्रीहरु उपलब्ध गराउन निरन्तर लागिरहने बताउनुभयो । वडा अध्यक्ष हर्कबहादुर तामाङले जनप्रतिनिधिविहीन अवस्थाबाट जनप्रतिनिधि आएलगत्तै शुरु भएको विकास निर्माणले वडालाई नमुना बनाउन सहज भएको बताउनुभयो ।

सीमित स्रोत र साधनमार्फत विद्यालय, सिँचाइ, सडक, पुल, खानेपानीका पूर्वाधारहरु निर्माण भएको उहाँ बताउनुहुन्छ । जिल्लामा वार्षिक १ अर्ब रकम विभिन्न योजनाका लागि विनियोजन गरिएको छ ।

सडक निर्माण दु्रत गतिमा

कुशादेवी नमोबुद्ध सडकका लागि ५३ करोड रकम विनियोजन भई कार्य भइरहेको छ । सोही सडकमा २ वटा पक्की पुल निर्माण भइरहेको छ । दाहालटार–कटुञ्जे सडक निर्माणका लागि प्रदेश सरकारको १० करोड र संघ सरकारको १० करोड रकम विनियोजन भएको छ ।
‘बीपी राजमार्गबाट ग्वार्काे जोड्ने सडक छिट्टै निर्माण सम्पन्न हुनेछ’, सांसद चन्द्र लामाले भन्नुभयो– ‘डाँडापारि, रोशीलगायतका क्षेत्रमा पर्याप्त बजेट विनियोजन भई धमाधम निर्माण कार्य भइरहेको छ । ११ वटा पुल एउटै निर्वाचन क्षेत्रमा निर्माण भएको छ ।’ तीन तहका सरकार बीचको समन्वयका कारण विकास र समृद्धिको गति द्रुत गतिमा बढिरहेको उहाँको भनाइ छ ।