आधा घण्टा डोकोमा पानी बोक्नुपर्ने लामेमा खानेपानी योजना


नेपाल समाचारपत्र, पर्वत ।

पर्वत जिल्लाको महाशिला गाउँपालिका–५ लुँखुको लामेकी डिल कुमारी विकलाई पानी बोक्दैमा हैरान छ । घर नजिकै खानेपानीको धारा नहुँदा बस्तीबाट करिब आधा घण्टा टाढा रहेको लामेको धारबाट डोकोमा पानी ओर्सानुपर्छ । पिउने पानीको समेत असुविधा भएको लामे बस्तीका नागरिकलाई लत्ताकपडा धुन, चौपायालाई खुवाउन आवश्यक पानीको जोहो गर्नु त झनै कठिनको कुरा हो ।

पानीको सास्ती भोग्दै आएको लामेको बस्तीका ती दुःख भने अब टर्ने भएका छन् । पिउने पानी पाउन समेत मुस्किल हुने बस्तीको घर–घरमा पक्की धारा बन्ने भएका छन् । गाउँपालिकाका प्रवक्ता तथा सोही वडाका वडाध्यक्ष जीवन विक्रम उचैका अनुसार पानीको व्यवस्थापनको लागि संघीय सरकारबाट ५० लाख रुपियाँ बजेट आएपछि वर्षौंदेखिको पानीको समस्या हट्ने भएको हो ।

‘लामेको बस्तीमा धेरै घर दलित समुदायका छन् । त्यहाँ वर्षौंदेखि पानीको समस्या रहँदै आएको थियो, अब भने प्रत्येक घरमा प्लास्टर गरेका धाराहरु निर्माण हुँदै छन्’, उहाँले भन्नुभयो– ‘बस्तीमा रहेका ५५ परिवार पानी बोक्नका लागि आधा घण्टा धाएर, डोकोमा गाग्री राखेर जानुपर्ने बाध्यता हट्न लाग्दा खुसी लागेको छ।’ घर–घरमा जाने पानीलाई निःशुल्करूपमा वितरण गरिने र त्यही पानीलाई तरकारी उत्पादनमा समेत प्रयोग गर्न सकिने पनि प्रवक्ता उचै बताउनुहुन्छ ।

पानीको अभावमा करेसाबारीमा समेत तरकारी फलाउन नसकिरहेका बेलामा अब भने तरकारी किन्नुपर्ने अवस्था नआउने स्थानीय बिबी कुमारी गुरुङको भनाइ छ । प्रत्येक घरका महिलाको दैनिकी भनेको डोकोमा पानी ओसार्नु रहेको उहाँले भनाइ छ ।

निर्माण समितिका अध्यक्ष डम्बर गुरुङका अनुसार आउँदो माघ महिनासम्ममा खानेपानी आयोजनाको काम पूरा गरेर घर–घरमा पानी पठाउने योजना बनाइएको छ ।