तीन सातादेखि पीसीआर परीक्षण ठप्प


विद्यानन्द राम, राजविराज ।

तीन सातादेखि ठप्प रहेको सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पीसीआर परीक्षण अझैं सुचारु भएको छैन । गत साउन महिनाको दोस्रो सातादेखि पीसीआर मेसिनमा प्राविधिक समस्या देखिएपछि परीक्षण रोकिएको थियो ।

कोभिड–१९ को तेस्रो लहरको खतरा बढिरहेका बेला अस्पतालमा परीक्षण नै रोकिएपछि परीक्षण गराउन आएका सर्वसाधारणहरु निरास बन्न थालेका छन् । ‘४/५ दिनदेखि ज्वरो र खोकी आइरहेको छ, शंका लागेर जाँच गराउन आएको थिएँ तर यहाँ परीक्षण नै हुँदैन भन्नुहुन्छ’, नाम नछाप्ने सर्तमा एक सेवाग्राहीले भन्नुभयो– ‘कोरोना परीक्षणबिना नै फर्किनुपर्छ ।’

उनले महामारीका बेला पनि स्वास्थ्य जस्तो संवेदनशील कार्यमा सम्बन्धित पक्षले ध्यान नदिनु सप्तरीवासीका लागि दुःखद विषय रहेको बताउनुभयो । ‘मेसिनमा खराबी आएसँगै मर्मततर्फ अस्पताल प्रशासनले ध्यान पु¥याउनुपर्ने थियो तर तीन साताभन्दा बढी समयसम्म पनि मर्मत नहुनु भनेको यहाँका सम्वन्धित पक्षले गम्भीरता नदेखिएको स्पष्ट हुन्छ’, उहाँले भन्नुहुन्छ– ‘कोरोनाको शंका लागेर आएका मजस्ता कतिपय सेवाग्राही त्यसै घर फर्किरहेका छन्, कोरोना नहोस् तर भयो भने गाउँ हुँदै जिल्लाभरि फैलिने निश्चित छ ।’

यता, अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. रणजितकुमार झाले प्राविधिक गडबडी देखिएको मेसिन कामै नलाग्ने भइसकेको बताउनुभएको छ । ‘परीक्षणको रिपोर्ट नै गलत देखाउन थालेपछि हामीले प्रदेश–२ का स्वास्थ्य निर्देशनालय र केन्द्रीय जनस्वास्थ्य ल्याबमा जानकारी गराएपछि प्रदेशबाट प्राविधिकको टोली पनि आएकै हो तर मेसिन ठीक हुने अवस्थामा छैन्’, उहाँले भन्नुभयो–‘अब अर्कै मेसिन ल्याउनुपर्ने हुन्छ, त्यसका लागि जानकारी गराइसकेका छौं ।’

अर्को मेसिन जडान भएसँगै पुनः परीक्षण थालिने मेडिकल सुपरिन्टेन्डेन्ट डा. झाको भनाइ छ ।