सुरक्षा निकायको रासन भत्ता बढेन



नेपाल समाचारपत्र, काठमाडौं ।

अघिल्लो सरकारले दुई सुरक्षा निकायमा कार्यरत सुरक्षाकर्मीलाई रासनभत्ता बढाउने घोषणा गरे पनि अहिलेको सरकारले उक्त रासन भत्ता रोकेको छ ।

शेरबहादुर देउवा सरकारले अघिल्लो सरकारले बढाएको तलबलाई मान्यता दिएर निकासा गर्न अर्थ मन्त्रालयलाई स्वीकृति दिए पनि रासन भत्ताको बारेमा भने सरकार मौन भएपछि दुवै सुरक्षा निकायका लेखा अधिकृतहरू अलमलमा परेका छन् । रासनभत्ताको स्केल बनाउँदा बढेको बनाउने कि पुरानै दरमा बनाउने ती अधिकृतहरू अलमलमा परेका छन् ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा कार्यरत सबै सुरक्षाकर्मीको रासन भत्तामा १५ प्रतिशत वृद्धि गर्ने केपी ओली सरकारको निर्णयलाई शेरबहादुर देउवा सरकारले बेवास्ता गरेपछि अघिल्लो सरकारले घोषणा गरेको कार्यक्रम अलपत्र पर्ने हो कि भन्ने चिन्ता सुरक्षाकर्मीले लिएका छन् ।

सरकारले बढेको रासनभत्ता रोकेपछि पुरानै रासनभत्ता वितरणको तयारी गरेको एक लेखा अधिकृतले नेपाल समाचारपत्रलाई जानकारी दिए । ‘बढेको रासनभत्ता आउँछ भन्नेमा हामी ढुक्क छौं’ –नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले बताउनुभयो । उहाँले भन्नुभयो– ‘साउनको तलबसमेत अहिले नआइसकेका कारण बढेको रासनभत्ता पनि आउला र !’

सरकारी निकायमा हरेक महिनाको अन्तिममा तलब निकासा हुने र कर्मचारीलाई सम्बन्धित सरकारी कार्यालयले वितरण गर्ने गरेको भए पनि यसपटक भने अहिलेसम्म तलब वितरण नगरिएपछि कर्मचारीहरू अलमलमा परेका छन् ।

अघिल्लो सरकारको निर्णय कार्यान्वयन गर्दा आफूहरू अलोकप्रिय हुने रोग अहिलेको सरकारमा देखिएकाले तलब र भत्तासमेत रोकेको आरोप एक सुरक्षा अधिकारीले लगाए ।

‘हामी जो सरकार आए पनि सरकारको आदेशको पालना गर्ने हो तर अहिले बनेको सरकारले निर्णय कार्यान्वयन गर्नुको सट्टा आलटाल गरेर बसेको छ, यस्तो भयो भने सुरक्षा निकायमा कार्यरत सुरक्षाकर्मीको मनोबल गिर्छ’ –ती अधिकारीले भने । सरकारले बढेको रासनभत्तामा राजनीति नगरी तत्कालै निकासा गर्ने वातावरण बनाउनुपर्ने सुरक्षाकर्मीले बताउन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्