क्रियाशील सदस्यता सार्वजनिक नगरी महाधिवेशनको तयारीमा कांग्रेस

सदस्यता विवरण सार्वजनिक नगरे आन्दोलन

350
Shares

रामकृष्ण चापागाईं, काठमाडौं । 

भाद्र १८ गतेदेखि तल्लो तहको अधिवेशन शुरू गर्न लागेको नेपाली कांग्रेसले क्रियाशील सदस्यहरूको विवरण सार्वजनिक नगरीकनै जिल्लामा पठाउने तयारी गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले नेपाल समाचारपत्रलाई दिनुभएको जानकारीअनुसार प्रत्येक जिल्लामा दुई/तीन दिनभित्रै निर्वाचनसम्बन्धी सबै कागजपत्रका साथ क्रियाशील सदस्यहरूको विवरण पनि पुर्‍याउने तयारी भइरहेको छ । कांग्रेस केन्द्रीय कार्यालयका अनुसार अधिवेशनका लागि सबै जिल्लामा निर्वाचन अधिकृतको छनोट पनि भइसकेकोे छ ।

यसअघि बसेको केन्द्रीय समिति बैठकले क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले प्रस्तुत गर्नुभएको प्रतिवेदन पारित गरी उक्त प्रतिवेदनमा उल्लेखित निर्णय गर्न बाँकी रहेका कार्य पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजाल र केन्द्रीय सदस्य रमेश लेखकले भाद्र २ गतेभित्र सहमतिबाट टुंगो लगाई भाद्र ३ गते केन्द्रीय सभापतिलाई बुझाउने निर्णय गरेको थियो ।

क्रियाशील सदस्यताबारे चर्को विवाद उत्पन्न भएपछि यसअघि भदौ १६–१९ सम्म तय गरिएको १४औं महाधिवेशन प्रभावित भएको थियो । क्रियाशील सदस्यताबारे नेताहरूबीच सहमति भइसकेकाले क्रियाशील सदस्यताको विवरण अब जति सक्दो छिटो जिल्ला पु¥याउने तयारी भएको जानकारी दिँदै मुख्यसचिव पौडेलले निर्वाचन निर्देशका पनि छपाइको लागि प्रेसमा गएको बताउनुभयो । निर्वाचन निर्देशिकाबारेको विवाद पनि निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवको परामर्शमा सहमहामन्त्री डा. प्रकाशशरण महत र केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले भाद्र १ गते सहमतिमै टुंगो लगाउनुभएको थियो । उक्त निर्देशिका भाद्र २ गतेभित्र सभापतिलाई बुझाउने गरी केन्द्रीय बैठकबाट पारित भएको थियो ।

मंसिर ९ गतेदेखि १३ गतेसम्म १४औं महाधिवेशन गर्ने गरी नयाँ कार्यतालिका सार्वजनिक गरेको नेपाली कांग्रेसले तल्लो तहको अधिवेशन भदौ १८ देखि कात्तिक १२ गतेसम्मा सम्पन्न गर्ने जनाएको छ । जसअनुसार भदौ १८ मा वडा अधिवेशन, भदौ २७ मा गाउँ/नगर अधिवेशन, असोज १ मा प्रदेशसभा क्षेत्रीय अधिवेशन गरिनेछ । प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते र एकभन्दा बढी प्रतिनिधिसभा क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गते सम्पन्न गर्ने र प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म गर्ने कांग्रेसको कार्यतालिका रहेको छ ।

केन्द्रीय महाधिवेशनका लागि कांग्रेसले भृकुटीमण्डप र राष्ट्रिय सभागृह बुकिङ गरिसकेको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव पौडेलका अनुसार महाधिवेशनको उद्घाटनलगायतका लागि भृकुटीमण्डप र निर्वाचन प्रक्रियाका लागि राष्ट्रिय सभागृह बुकिङ भइसकेको छ ।

सदस्यता विवरण सार्वजनिक नगरे आन्दोलन

कांग्रेसका जिल्ला सभापतिहरूले केन्द्रीय नेतृत्वलाई दुई दिनभित्र क्रियाशील सदस्यताको विवरण सार्वजनिक नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन् । क्रियाशील सदस्यताको पारदर्शिताबारे आम चासो भएको भन्दै जिल्ला सभापतिहरूले शनिबार साँझ प्रत्येक सदस्यको क्रियाशील सदस्यताबारे सुसूचित हुन पाउने अधिकारको सम्मान गर्दै अबिलम्ब क्रियाशील सदस्यताको सम्पूर्ण सूची सार्वजनिक गर्न माग गरिएको काभ्रे जिल्ला सभापति मधुप्रसाद आचार्यले बताउनुभयो ।

७७ वटै जिल्लाका सभापतिको एउटै प्रक्रियाबाट निर्वाचन हुने विधानको प्रस्ट व्यवस्थाविपरीत निर्वाचन निर्देशिका जारीबारे आफूहरूको विरोध रहेको आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो– ‘अहिलेको निर्वाचन निर्देशिकामा महाधिवेशन प्रतिनिधि मात्र जिल्ला सभापतिको उम्मेदवार हुन पाउने व्यवस्था एउटा मात्र निर्वाचन क्षेत्र भएको जिल्लामा फरक रहेकाले त्यसको विरोध गरेका हौं ।’ एउटा मात्र निर्वाचन क्षेत्र भएको जिल्लामा भने क्षेत्रीय प्रतिनिधि जिल्ला सभापतिको उम्मेदवार बन्न पाउने व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

क्रियाशील सदस्यता सूचीका त्रुटि कमजोरीमाथि पार्टीको विधि, विधान र निर्धारित मापदण्डबमोजिम सत्यतथ्य छानबिन गरेर मात्र अन्तिम रूप प्रदान गर्न माग गरिएको छ । सबै जिल्लाका सभापतिको निर्वाचन प्रक्रियामा एकरूपता आउने गरी निर्वाचन निर्देशिकालाई संशोधन गर्नुपर्नेछ । नेतृत्वले आफ्ना मागहरूलाई सम्बोधन गर्ने गरी यही भाद्र ७ गतेभित्र आवश्यक कदम नचालिएमा भाद्र ८ गतेबाट केन्द्रीय कार्यालयमा धर्ना, अनशनलगायतका शान्तिपूर्ण आन्दोलनमा उत्रन आफूहरू बाध्य हुने उहाँले बताउनुभएको छ ।

क्रियाशील सदस्यताको सवालमा वडा तहबाट निर्णय भइआएका नामहरू हटाउने, ठाडै केन्द्रबाट जथाभावी नामहरू थप्ने र झिक्ने तथा शतप्रतिशतभन्दा बढी नामहरू इन्ट्री गर्नेजस्ता धाँधलीजन्य गतिविधि रोक्न जिल्ला सभापतिहरूले निरन्तर आग्रह गरिरहेको भन्दै आचार्य भन्नुहन्छ– ‘यस्ता अनियमिततालाई बेलैमा रोक्नु त कता हो कता, झन् पछिल्ला दिनमा आएर सुनियोजित ढंगबाट अमूक व्यक्तिको स्वार्थसिद्धी गर्न तथा लामो समयदेखि पार्टीमा रगत–पसिना भिजाएका निष्ठावान नेता कार्यकर्ताको राजनीतिक हत्या गर्न हजारौं संख्यामा क्रियाशील सदस्य थप्ने वा मेट्ने वा अर्को वडामा पन्छाउने जस्ता अशोभनीय कामहरू भइरहेको छ ।’