‘विपी राजमार्ग–पनौती–ग्वार्काे सडक द्रुत गतिमा’ : सांसद लामा

कृषकहरुलाई कृषि यन्त्र उपकरण हस्तान्तरण

9.1k
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।

कृषिमा प्रविधि र यान्त्रिकरण मार्फत थोरै लगानीमा धेरै आयआर्जन हासिल गर्ने उदेश्यले गौरीशंकर साना किसान कृषि सहकारी संस्था धुलिखेल १२ शंखुपाटीचौरले सदस्यहरुका लागि प्रदेश सरकारको सहयोगमा कृषि ज्ञान केन्द्र मार्फत ५० प्रतिशत अनुदानमा कृषि यन्त्र उपकरण उपलब्ध गराएको छ ।

धुलिखेल नगरपालिका वडा नम्वर १२ र १०, नमोबुद्ध नगरपालिका वडा नम्वर ११ र पनौती नगरपालिका वडा नम्वर ९ र १० का १ हजार ६ सय सदस्य रहेको उक्त सहकारीले हरेक वर्ष कृषिमा यन्त्र उपकरण सहितको प्रविधि उपलब्ध गराउँदै कृषकहरुलाई आवश्यक पर्ने विउविजन, तालिम र अन्य कृषि क्षेत्रका सहयोगहरु उपलब्ध गराउँदै आएको छ ।

‘कृषकहरुका लागि सहज र समयै रसायनिक मल उत्पन्न हुन जरुरी छ’–अध्यक्ष सिताराम भट्टराईले भन्नुभयो–‘यन्त्र उपकरणका लागि प्रदेश सभा सदस्य चन्द्र लामा सहित बागमती प्रदेश सरकारलाई धन्यवाद दिन चाहन्छौं ।’ बागमती प्रदेश सदस्य चन्द्र लामाले कृषकहरुलाई प्राप्त सामाग्री हस्तान्तरण गर्नु भएको थियो ।

‘पदमा भएका ब्यक्तिहरुलाई भनसुन नगरी कृषकहरुको सहज पहुँच पुग्न सक्दैन भन्ने अवस्था अन्त्य हुँदैछ’–सदस्य चन्द्र लामाले भन्नुभयो–‘कृषि, सडक, पुल, खानेपानी, सिंचाई, शिक्षा, स्वास्थ्य क्षेत्रमा पर्याप्त बजेट विनियोजन गरिएको छ ।’ जिल्लामा बार्षिक १ अर्ब रकम विभिन्न योजनाका लागि विनियोजन गरिएको सांसद चन्द्र लामाले बताउनु भयो ।

‘कुशादेवी नमोबुद्ध सडकका लागि ५३ करोड रकम विनियोजन भई कार्य भईरहेको छ । सोहि सडकमा २ वटा पक्कि पुल निर्माण भईरहेको छ । दाहालटार–कटुञ्जे सडक निर्माणका लागि प्रदेश सरकारको १० करोड र संघ सरकारको १० करोड रकम विनियोजन भएको छ । विपी राजमार्गबाट ग्वार्काे जोड्ने सडक छिट्टै निर्माण सम्पन्न हुनेछ’–सांसद चन्द्र लामाले भन्नुभयो–‘डाँडापारी, रोशी लगायतका क्षेत्रमा पर्याप्त बजेट विनियोजन भई धमाधम निर्माण कार्य भईरहेको छ । ११ वटा पुल एउटै निर्वाचन क्षेत्रमा निर्माण भएको छ ।’

सांसद चन्द्र लामाले तीन तहका सरकार बीचको समन्वयका कारण विकास र समृद्धीको गति द्रुत गतिमा बढिरहेको बताउनु भयो । ‘विगतमा कृषिमा हुने कार्यक्रम र अनुदानको दुरुपयोगका कारण बास्तविक कृषकहरु संकटमा पर्नु भएको हो’–सांसद लामाले भन्नुभयो–‘कृषिको पकेट क्षेत्र निर्माण गरी नागरिकहरुको आय स्तर बृद्धी गर्न आवश्यक पर्ने पूर्वाधार निर्माण र प्रविधि सहितको यन्त्र हस्तान्तरणमा विशेष ध्यान दिएका छौं ।’

अनुदानमा प्राप्त ११ वटा ७.५ हर्स पाओरको खेतबारी जोत्ने ट्रयाक्टर, पिठो पिध्ने मेशिन ६ वटा, धान र पिठो दुबै पिध्ने मेशिन एक वटा, मकै छोडाउने मेशिन ५ वटा, टनेल ७ थान र स्पे्र पम्प २० थान यन्त्र उपकरण कृषकहरुलाई हस्तान्तरण गरिएको छ । संस्थाका अध्यक्ष सिताराम भट्टराईले कृषकहरुलाई आवश्यक पर्ने सामाग्रीहरु उपलब्ध गराउन निरन्तर लागिरहने बताउनु भयो ।

वडा अध्यक्ष हर्कबहादुर तामाङले जनप्रतिनिधि विहिन अवस्थाबाट जनप्रतिनिधि आए लगत्तै शुरु भएको विकास निर्माणले वडालाई नमुना बनाउन सहज भएको बताउनु भयो । सिमित श्रोत र साधन मार्फत विद्यालय, सिंचाई, सडक, पुल, खानेपानीका पुर्वाधारहरु निर्माण भएको बताउनु भयो । नमुना स्वास्थ्य चौकी, जेष्ठ नागरिक भवन निर्माण, खेलकुद मैदान, कालोपत्रे सडक, कोभिड नियन्त्रण र ब्यवस्थापन तथा उपचार, भुकम्प पछिको पुर्ननिर्माणमा विशेष ध्यान दिएको बताउनु भयो ।

कार्यक्रममा संस्थाका सदस्य सुमन तामाङको २१ बर्षिया बहिनी सुनिता तामाङको कोभिडका कारण भएको निधन प्रति शोक ब्यक्त गर्दै १० हजार नगद सहयोग उपलब्ध गराईएको थियो । सहकारीले उपलब्ध गराएका प्रविधि मार्फत कृषकहरुलाई सहज भएको उपाध्यक्ष सुर्वण श्रेष्ठले बताउनु भयो ।